काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परी काम सिक्न गएका १० नेपालीको मृत्यु भएको बताइएको छ । शनिबार भएको उक्त हमलामा परी घाइते भएका १० नेपालीको मृत्यु भएको स्थानीय सोसियल वेलफेयरले जनाएको बताइएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयबाट काम सिक्न गएकासहित नेपाली कार्यरत एउटा कृषि फर्ममा हमासले रकेट हमला गरेको थियो । गाजा क्षेत्रबाट नजिक रहेको इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा एउटा फर्ममा नेपालीहरु कार्यरत थिए ।
उक्त क्षेत्रमा अझै तनावको स्थिति रहेकोले कति नेपालीहरुको मृत्यु भएको भन्ने एकिन विवरण आउन सकेको छैन ।
हमलाको साइरन बजेपछि ६० सेकेन्डमा बंकरभित्र पसिसक्नुपर्ने थियो । सोही क्रममा बंकरमा जाँदै गर्दा रकेट विस्फोटका छर्रा लागेर नेपालीसहित घाइते भएका थिए ।
सुरुमा ९ जना नेपाली घाइते भएको जानकारी दिएको इजरायलस्थित नेपाली दूतावासले १२ जना नेपाली सम्पर्कमा नरहेको बताएको छ ।
नेपाली समयअनुसार शनिबार विहान ६ः३० बजेदेखि इजरायलको दक्षिण क्षेत्रमा हमास समूहबाट आक्रमण सुरु गरेको थियो ।
हाल इजरायलमा ४ हजार ५०० नेपालीहरु केयरगिभरको रुपमा कार्यरत रहेका छन् । त्यस्तै, लर्न एण्ड अर्न कार्यक्रम अन्तरगत २६५ जना नेपाली विद्यार्थीहरु इजरायलका विभिन्न फर्ममा कार्यरत छन् । नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदुरपश्चिम विश्वविद्यालयबाट ४९ जना इजरायल गएको बताइएको छ ।