मोदीको अनाधिकृत भ्रमण विरुद्ध नेकपाको प्रदर्शन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाली भूमिमा अनाधिकृत भ्रमण विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा प्रदर्शन गरेको छ । नेकपा – उपत्यका ब्युरो, निकटका जनवर्गीय संगठन र मोर्चाहरुले संयुक्त विरोध कार्यक्रम गरेको हो ।

प्रदर्शनपछि कोणसभालाई पार्टी केन्द्रीय सदस्य भृकुटी सी. ले सम्बोधन गर्नुभएको थियो । “मोदीको भ्रमण अन्तर्राष्ट्रिय कुटनैतिक मर्यादा, नेपालको राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र नेपालको परराष्ट्र नीति विपरीत छ”, भृकुटीले भन्नुभयो ।

कार्यक्रम भारतीय दूतावास अगाडि गर्ने भनिएपनि प्रहरी अवरोधका कारण करिब एक सय मीटर टाढा कार्यक्रम गरिएको थियो । प्रदर्शनकारी र प्रहरीबीच केही समय तनावको  स्थिति समेत पैदा भएको थियो ।

बिहिवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुला जिल्लाको व्यास क्षेत्र स्थित गुरुजी, नाभी र कुटीमा गरेको भ्रमणप्रति नेकपाले विरोध गर्दै आएको छ । प्रवक्ता प्रकाण्ड सी. द्वारा शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै नेकपाले विरोध जनाएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation