श्रमिक समुदाय मोर्चा, मध्य चितवनको जिल्ला सम्मेलन सम्पन्न

चितवन । श्रमिक समुदाय मोर्चा नेपाल, मध्य चितवनको प्रथम जिल्ला सम्मेलन आज भरतपुरको देवनगरमा सम्पन्न भयो । सम्मेलनबाट अमृत सी. को नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति निर्माण भएको छ ।

सम्मेलनका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पश्चिम नारायणी ब्यूरो इन्चार्ज एटम सी. ले राष्ट्रिय, अन्तर्राष्ट्रिय हिसाबले समाजवादको माहोल बनिरहेको हुँदा ‘नेपाली विशेषताको समाजवाद’ का निम्ति अग्रसर हुन सबैले आव्हान गर्नुभयो ।

विशेष अतिथि मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल सी. ले जातीय मुक्तिका लागि समाजवादसंग ‘सी’ जातिको सन्दर्भलाई जोडेर संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

अतिथिहरु पार्टी जिल्ला इन्चार्ज रुद्र सी, सचिव भरत सी, मोर्चा केन्द्रीय सचिवालय सदस्य एवं ब्यूरो इन्चार्ज धर्म सी, नगर पार्टी इन्चार्ज शिशिर सी, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सल्लाहकार कृष्ण सी, मोर्चा जिल्ला पूर्व अध्यक्ष क. मान बहादुर सी लगायतले उत्पीडित जाति र समुदायको मुक्तिका लागि वर्गीय मुक्तिको आवश्यकता रहेको र त्यसका निम्ति नेपाली विशेषताको समाजवाद स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सामाजिक गीत र नृत्य समेत प्रस्तुत गरियो । सम्मेलन अमृत सी.को अध्यक्षता, अर्जुन सी. को स्वागत र प्रेमसागर सी.को सञ्चालनमा सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation