त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना, क्याप्टेनको सकुशल उद्धार

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परेको छ । सौर्य एयरको जहाज प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ । हालसम्म १८ जनाको शव फेला परेको बताइएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दीपक थापाका अनुसार जहाज भर्खरै दुर्घटनामा परेको हो । अहिले दुर्घटनामा परेको जहाजको उद्धार कार्य सुरु भइसकेको उनले जानकारी दिए ।

विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले दिएको जानकारीअनुसार सौर्य एयरको जहाज दुर्घटनामा परेको जानकारी आएको बताए ।

कलसाइन अल्फा एमई रहेको जहाज दुर्घटनामा परेको जनाइएको छ । जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ । सौर्य एयरका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार जहाजमा चालक दलका सदस्य र प्राविधिक रहेका थिए ।

प्राविधिक चेकजाँचका लागि जहाज पोखरा लैजान लागिएको थियो । उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीका अनुसार जहाजका क्याप्टेन मणि शाक्यलाई उद्धार गरेर अस्पताल पठाइएको छ । उनका अनुसार उपचारका लागि शाक्यलाई केएमसी अस्पताल पठाइएको हो ।
जहाज सी चेकका लागि पोखरा लैजान लागिएको थियो । जहाजले ग्राउन्ड छाडिसकेपछि नियन्त्रणबाहिर गएको थियो । सौर्य एयरका डेपुटी जनरल म्यानेजर उमेश आचार्यका अनुसार १७ जना इन्जिनियरको टोली लिएर जहाज पोखरा जान लागेको थियो ।

अहिले दुर्घटनग्रस्त जहाजको उद्धार कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली खटिइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation