काठमाडौं । एमसिसी, एसपिसी र राष्ट्रिय स्वाधीनता विषयक अन्तरक्रिया कार्यक्रम आज काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको कार्यक्रममा विभिन्न दलहरूको सहभागिता रहेको छ ।
कार्यक्रमका प्रमुख वक्ता नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी.ले अमेरिकाको दबाव थेग्न नसकेर संसदले एमसिसी सम्झौता अनुमोदन गरेपनि आमजनता यसका विरुद्ध छन् भन्ने कुरा स्पष्ट पार्नुभएको छ ।
एमसिसीलाई संसदले नेपालको हितमा लागू गर्नका लागि कानुन बनाउन लागोस भन्नेमा उहाँले जोड दिनुभएको छ । नेपाललाई स्वाधीन र समाजवादी मुलुक बनाउन सबै जुट्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
आइपिएसको योजना अनुसार प्रस्ताव स्वीकार नगरेपछि बंगलादेशमा अमेरिकाले अस्थिरता मच्चाएको समेत उहाँले स्पष्ट पार्नुभयो । त्यसैगरी साम्राज्यवादले युक्रेन बिस्तार गर्ने खतरा रहेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अहिले जस्तो राष्ट्रियता माथि सबैभन्दा धेरै संकट कहिल्यै देखा नपरेको बताउनु भएको छ । तत्कालका लागि औपचारिक तबरले एसपिपी अस्वीकार भएपनि अन्य-अन्य नामबाट सैन्य रणनीति आउने सम्भावना प्रबल भएको समेत उहाँले बताउनुभयो । ट्रान्समिसन लाइनको टावरको टुप्पोमा अमेरिकाले स्याटालाइट स्टेसनहरु जडान गर्न खोजेकोले राष्ट्रिय स्वाधीनताका निम्ति लगातार खबरदारीको आवश्यकता रहेकोमा समेत गुरुङले जोड दिनुभयो ।
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूषालले पश्चिमा साम्राज्यवादको विरासत र नियन्त्रण चर्मराउँदै गएको बताउनु भएको छ । व्याख्यात्मक टिप्पणी अनुसार एमसिसी भएन भनेर संसदले नै अब जनतालाई जानकारी दिएर एउटा संसदीय अनुगमन समिति बनाउनुपर्नेमा भूषालले जोड दिनुभयो । राष्ट्रिय स्वाधीनता सबैको साझा एजेन्डा भएकोले एकजुट भएर अगाडि बढ्नुपर्ने समेत उहाँले बताउनुभयो ।
नेकपा स्थायी सदस्य सन्तोष बुढा सी.ले एमसिसीका कारण द्वन्द फ़ैलिने निश्चित भएको कुरा स्पष्ट पार्नुभयो ।
राजनीतिक विश्लेषक पुरन्जन आचार्यले सगरमाथा एकीकृत परियोजना, राप्ती एकीकृत परियोजना पुरै असफल भयो त्यसैगरी एमसिसी पनि अनिश्चित छ भन्ने कुरा बताउनुभयो । लिनु नपर्ने ॠण नेपालले धेरै लिएको कारण निकै देश अप्ठ्यारोमा परिरहेको उहाँले बताउनुभयो । अबको केहि वर्षमा युरोप सकिदैछ एसिया समृद्ध बन्दैछ भन्ने कुरा समेत आचार्यले स्पष्ट पार्नुभयो ।
पूर्व सेनानी वासुदेव घिमिरेले सहयोग चाहियो भन्दैमा जुन देशसंग पनि, जुनसुकै सर्त मानेर हात थाप्नु गलत भएको बताउनु भएको छ ।
वरिष्ठ अधिवक्ता एकराज भण्डारीले ४९ वटा देशले एमसिसी खारेज गरेको र ४ वटा देशहरू खारेजको प्रक्रियामा रहेको साथै नेपाल पनि खारेज कै प्रक्रियामा रहेको बताउनु भएको छ । २०७९ चैत्र १३ मा ट्रान्समिसन लाइनको टेन्डर आव्हान गरिए पनि टेन्डर रद्द गरिएकोले खारेजीको दृश्य देखिएको उहाँले बताउनु भएको छ ।
कार्यक्रममा नेकपा पोलिट ब्युरो सदस्य चिरन सी.ले ‘राष्ट्रघाती एमसिसी हामीलाई चाहिदैन’ बोलको गीत प्रस्तुत गर्नुभएको थियो । नेकपा अन्तर्राष्ट्रिय विभाग प्रमुख खगेश्वर सी.को अध्यक्षता र सदस्य शंकर सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भयो ।