गायिका सेन्चुरीको घरबेटीप्रति आक्रोश

काठमाडौं। लोकदोहोरी गायिका प्रिया सेन्चुरीले घरबेटीप्रति आक्रोश व्यक्त गरेकी छिन् । मंगलबार दिउँसो फेसबुक पोष्टमार्फत उनले उक्त आक्रोश व्यक्त गरेकी हुन्  ।

ओखलढुंगामा जन्मिएकी सेन्चुरी सांगीतिक क्षेत्रलाई अगाडि बढाउँदै करिब १ दशक देखि काठमाडौंको जोरपाटीमा बस्दै आएकी छिन् । हालसम्म ६ वटा घरमा डेरा गरी बस्दा विभिन्न किसिमका सास्ती भोग्नुपरेकोले आफ्नो अनुभवसहितको कुरा सार्वजनिक गरेको उनले बताएकी छिन् ।

“परदेशीको भर छैन् फर्कने..” लगायत ४० बढी लोकदोहोरी गीतहरुमा सेन्चुरीले स्वर दिएकी छिन् । अन्याय विरुद्ध संघर्ष गर्नुपर्छ भन्ने सोंच भएका सेन्चुरी विभिन्न सामाजिक काममा समेत सहभागी हुने गरेकी छिन् । फेसबुकमार्फत सामाजिक कुरा उठान गरेकोमा सेन्चुरीको प्रसंशा भइरहेको छ ।

विभिन्न जिल्लाबाट काठमाडौं आएर डेरामा बस्नेहरूले सेन्चुरीले जस्तै अनेक सास्ती भोग्नुपर्ने समस्या छ । विशेषगरी श्रमिक/दलित समुदायका व्यक्तिले भाडामा डेरा नै नपाउने मुख्य समस्या काठमाडौं लगायत देशभरका सहरहरुमा छ ।

सहरमा डेरा पाउनका लागि यो समुदायलाई थर ढाँट्नुपर्ने बाध्यता समेत छ । आधुनिक युगमा समेत यस किसिमको सामाजिक कलंक हाम्रो समाजमा जरा गाडेर रहनु निकै विडम्बनापूर्ण कुरा हो ।

गायिका प्रिया सेन्चुरीको फेसबुक पोष्ट पूर्ण पाठ :
काठमाडौंमा ठुलो घर हुने र घर भाडामा दिनुहुने हाम्रो घरबेटी ज्युहरुमा म केहि कुरा राख्दैछु । धेरैजसो त शिक्षित नै हुनुहुन्छ । उहाँहरु आफै बुज्नुहुन्छ । उहाँहरु प्रति सम्मान छ । कतिपय दानवरुपीहरुबाट यो कुरा सुन्दै, भोग्दै आउँदा केही भन्न मन लाग्यो । के जाति हो तपाईं पानी चल्ने व्यक्ति मात्र राख्छौ ? जसोतसो बस्यो, “कति फोहोर भएको छ घर ? कति आएका मान्छे ? बच्चाहरुलाई हल्ला गर्न नदिनु ?”

 

कोहि पाहुना आए पनि हतारहतार जुत्ता चपल लुकाउनु पर्ने ? त्यो घरमा बत्ती बिग्रीयो, पानी बिग्रीयो  घरको कलर गयो सब हामीले गर्नुपर्ने ? भाडा चाहिँ फेरि महिना पुग्नासाथ दिनुपर्ने । अरे हो हामी अपुताली हो ? हाम्रा आफन्त हुदैनन् ? मान्छे बसेपछि घर फोहोर हुदैन ? बालबच्चाको भविष्य बोकेर काठमाडौं आएको हामी बच्चाहरुको आफ्नो अधिकार हुन्छ । बोल्न पाउने, खेल्न पाउने, उफ्रिन पाउने, मेसिनबाट चलाउने सामानहरु बिग्रीन सक्छ सब हामीले बनाउनुपर्ने ? घर बसेपछि सरसफाइ गर्नुपर्छ हामिलाई नि थाहा छ बहाना गरेर च्याउँच्याउँ कराइरहने ।

 

वास्तवमा भन्ने हो भने सहरको मान्छे भन्दा गाउँको मान्छे धनी हुन्छौँ । हाम्रो गाउँमा आयौ भने बर्षौंबर्ष बसेरै खाना दिन सकिन्छ  पैसा नै नतिरी । धन सम्पतिले मान्छेलाई मानव हो भन्ने कुरा बिर्सिएर हो कि उसको घरमा बस्यो भनी भतुवा सोँची यो व्यवहार गर्ने ? त्यसो हो त घर भाडामा नलगाएकै राम्रो ! कि राखेपछि  मानवताको व्यवहार गरेको राम्रो ! अजम्बरी कोही छैन् । न धनी न गरिब बाँचुञ्जेल आफ्नो मानवता नबिर्सिउँ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation