-डिल्ली सी
(कविता)
साउनमा रोपेको धानको
मंसिरमा बाला झुल्यो
युवाबाट वयस्क हुँदा
सेतो दारीले गाला फुल्यो
आत्मनिर्भर बाटो समाउँदै
क्रान्तिमा रमाउँदै …
बासमती धानको बास्ना जस्तै
क्रान्तिको सुगन्ध छरौँला
रित्तिदै गएको बैंशलाई
मनको चाहनाले भरौँला !
आत्मनिर्भर बाटो समाउँदै
क्रान्तिमा रमाउँदै …
यता घुम्न आउ साथी
धानखेतमा डुलौंला
मीठा-मीठा कुरा गर्दै
दुख पिडा भुलौंला
आत्मनिर्भर बाटो समाउँदै
क्रान्तिमा रमाउँदै…
लहलह धानको बाला
टहटह जुनमा
खेतैभरि कम्युनिस्टहरु
बाली भित्र्याउने धुनमा
आत्मनिर्भर बाटो समाउँदै
क्रान्तिमा रमाउँदै…
आलु पनि रोपिदैछ
लसुन, प्याज नि रोपौंला
भारतबाट आयात हुने
चामल तरकारी रोकौंला !
आत्मनिर्भर बाटो समाउँदै
क्रान्तिमा रमाउँदै…
मौसम पनि खुलेको छ
मनमा उत्साह फुलेको छ
उत्पादनको श्रम संघर्षले
परिवर्तनको ढोका खुलेको छ !
आत्मनिर्भर बाटो समाउँदै
क्रान्तिमा रमाउँदै…
निरास भएका जनताहरुमा
आशा जगाउनु पर्दछ
आफ्नै अर्थतन्त्र विकास गरी
दलालतन्त्र भगाउनु पर्दछ
आत्मनिर्भर बाटो समाउँदै
क्रान्तिमा रमाउँदै.. !! ✊