
काठमाडौं – भारतको ओडिशा राज्यस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) विश्वविद्यालयले फेब्रुअरी १६ मा भएको घटनाप्रति गम्भीर दुःख व्यक्त गरेको छ। विश्वविद्यालय प्रशासनले उक्त घटनापछि कडा कदम चालेको बताएको छ।
घटनापछि सुरक्षालाई थप मजबुत बनाउन तत्काल दुई सुरक्षागार्डलाई बर्खास्त गरिएको छ। साथै, दुई वरिष्ठ छात्रावास अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (IRO) का एक वरिष्ठ प्रशासकीय अधिकारीलाई निलम्बन गरिएको छ। विश्वविद्यालय प्रशासनले घटनाको विस्तृत छानबिन भइरहेको जानकारी दिएको छ।
घटनाका कारण प्रभावित विद्यार्थीहरूलाई पुनः विश्वविद्यालयमा फर्कनका लागि प्रेरित गर्न प्रशासनले पहल गरिरहेको बताएको छ । नेपाली विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राख्दै क्याम्पस ६ मा २४ सै घण्टा सञ्चालन हुने कन्ट्रोल रूम स्थापना गरिएको विज्ञप्तिमा उल्लेख छ । आवश्यक परे +91 8114380770 मा सम्पर्क गर्न सकिने बताइएको छ।
यसबाहेक, विश्वविद्यालयले आफ्नो कर्मचारीहरुद्वारा घटनाका क्रममा कुनै पनि अनुचित टिप्पणी भएमा त्यसको लागि माफी माग्दै, सबै विद्यार्थीहरूको सुरक्षालाई सर्वोपरि प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।