
नेपालमा २०५२ फागुन १ बाट सुरु भएको महान जनयुद्धले समाजमा भएको अन्याय, अत्याचारलाई छेदविच्छेद गर्दै नयाँ, शिष्ट र सभ्य समाज निर्माण गर्नको लागि महाअभियानको थालनी गरेको थियो ।
महान् जनयुद्धको प्रक्रियामा थुप्रै मानवीय क्षति र भौतिक क्षति भए । ती क्षतिहरु महान जनयुद्धकै प्रक्रियामा भएका थिए । प्रतिक्रियावादीको नजरले हेर्दा क्षतिलाई मात्र देख्नु उपलब्धिलाई नदेख्नु कमजोरीको विषय हो । जनयुद्धको समयमा भएको एउटा राम्रो कामको सुरुवात हो सहिद मार्ग । यस सहिद मार्ग बारेमा संक्षिप्त चर्चा गरौं ।
पृष्ठभूमि
रोल्पा जिल्ला भौगोलिक हिसाबले कठिन भूबनोट भएको पहाडी जिल्ला हो । रोल्पा जिल्लामा यातायातको मात्र होइन अरु समग्र विकासको सूचाङ्कमा पनि अरु जिल्लाहरु भन्दा पछाडि छ ।
विकासको एउटा मेरुदण्ड यातायात हो । यातायातबिना अरु विकासले गति लिन सक्दैन । जनयुद्ध सुरु हुनभन्दा अगाडि रोल्पा जिल्लाको सदरमुकाम लिवाङलाई एक मात्र कच्ची सडकले छोएको थियो । अन्य कुनै ठाउँमा सडकले छोएको थिएन । रोल्पा जिल्लालालाई सडक संजाल जोडने उद्देश्यले पाँच दशक अगाडि घोराही – होलेरी – चुनुवाङ सडक योजनाको नामबाट निर्माण कार्य सुरु भएको थियो । सुरुको चरणमा राम्रो काम भएता पनि राज्यको प्राथमिकतामा नपरेपछि यो नुवागाउँमा आएर रोकिएको थियो । नुवागाउँसम्म कच्ची सडक थियो हिउँदको समयमा मात्र होलेरीसम्म यातायात छिट्फुट मात्रामा चल्ने गर्दथे । २०६१ सालमा जनयुद्ध चलिरहेको अवस्थामा रोल्पा जिल्लाको नुवागाउँ, टिला, दारबोट, घर्तीगाउँ, दुइखोली थवाङ पहिलो खण्ड, दुईखोली चुनुवाङ हुँदै रुकुमकोट दोस्रो खण्ड, थवाङ, महत, तकसेरा, काक्री रुकुमकोट तेस्रो खण्डलाई सहिद मार्ग नाम दिएर मोटर बाटो खन्ने कार्य सुरु भएको थियो । यो सडक सञ्जालको योजनाकार तत्कालीन नेकपा (माओवादी) का पोलिट व्युरो सदस्य तथा क्षेत्रीय व्यूरो ईन्चार्ज कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’ हुनुहुन्थ्यो । उहाँको प्रस्तावमा यो ऐतिहासिक कार्य सुरु भएको हो । त्यो प्रस्तावलाई कार्यान्वयन गर्न तत्कालीन मगरात जनसरकार प्रमुख तत्कालीन नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा आधार ईलाका सेक्रेटरी सन्तोष बुढामगरको अध्यक्षतामा २०६१ सालमा रुकुम जिल्ला साविक महत गाविसको लावाङमा बैठक बसी उक्त बैठकद्वारा सहिद मार्ग खन्ने निर्णय पारित भएको थियो । स्मरण रहोस् आधार ईलाका भन्नाले राप्ती अञ्चलका तीन जिल्लाहरु रोल्पा, रुकुम, सल्यान पर्दथे । सहिद मार्गको शिलान्यास आधार ईलाका सेक्रेटरी तथा मगरात जनसरकार प्रमुख कमरेड सन्तोष बुढामगरले २०६१ मङ्सिर ५ गते गर्नु भएको थियो । उद्घाटन पनि सन्तोष बुढामगरले नै गर्नु भएको थियो । यस निर्माणको सम्पूर्ण व्यवस्थापकीय जिम्मा तत्कालिन नेकपा (माओवादी) पार्टीका क्षेत्रीय व्यूरो सदस्य (प्रशान्त) ले र दोस्रो चरणमा क्षेत्रीय व्युरो सदस्य कुवेर वली (सुर्य) ले लिनु भएको थियो । यसलाई काम गर्न सजिलो होस् भनेर तीन खण्ड बनाएर काम गरिएको थियो । पहिलो खण्ड नुवागाउँदेखि घर्तीगाउँसम्म, दोस्रो खण्ड घर्तीगाउँदेखि दुई खोलीसम्म र तेस्रो खण्ड दुई खोलीदेखि थवाङ सम्म रहेको थियो ।
जनसहभागिता
सहिद मार्ग उद्घाटन भएपछि नेकपा (माओवादी) ले यस आयोजनालाई नेपालकै गौरवको योजनाको रूपमा लिएको थियो । जनता नै इतिहासका निर्माता हुन् । जनश्रमदानले नै समाज निर्माण गर्दछ भन्ने तथ्य यस सहिद मार्गले छर्लङ्ग बनाई दिएको छ । यस सहिद मार्गलाई सम्पन्न गर्न जनपरिचालनका हिसाबले तत्कालीन आधार ईलाकाका जिल्लाहरु रोल्पा, रुकुम, सल्यान मुख्यतः रोल्पा जिल्लाले प्रमुख भूमिका खेलेको थियो । तर जनसहभागितामा क्षेत्रीय व्यूरो अन्तरगतका सबै जिल्लाहरु रोल्पा, रुकुम, सल्यान, दाङ, प्युठान, म्याग्दी र बागलुङको महत्वपूर्ण भूमिका रहेको छ । ती जिल्लाहरुको जनसहभागितामा सहिद मार्ग निर्माण हुन सम्भव भएको हो । बाहिरी जिल्लाबाट पार्टीको क्षेत्रीय व्युरोले तोकेको संख्यामा जनसहभागिता जनाउने र आधार इलाका जिल्लाहरुबाट घरका एक/एक जनाको दरले प्रत्येक जनाले दश/दश दिन जनश्रमदान गर्ने निर्णय भएको थियो । सो बमोजिम प्रत्येक जिल्लाका जिल्ला स्तरका नेता कार्यकर्ताको विशेष कमाण्डमा जनताहरुको सहभागितामा सहिद मार्ग खनिएको थियो । यसमा तत्कालीन नेकपा (माओवादी) पार्टीको जनवर्गीय संगठनका केन्द्रीय स्तरका नेताकार्यकर्ताहरुले पनि दश/दश दिन सहिद मार्ग खनेका थिए । अन्तराष्ट्रिय तबरबाट ऐक्यबद्धता जनाउन मित्र राष्ट्र बेलायत, बेल्जियम, नर्वे, इटाली, क्यानाडा, कोलम्बिया, भारतका कम्युनिष्ट नेताकार्यकर्ता पनि यो मार्ग खन्ने कार्य सहभागी हुनु भएको थियो ।
औजारहरुको प्रयोग
आधुनिक मेसिनरी औजारको विकास नहुँदासम्म स्थानीय स्तरमा निर्माण भएका घरेलु हातहतियारको प्रयोग गरेर जुनसुकै कामहरु निर्माण गर्ने गरिन्थ्यो । यस सहिद मार्ग निर्माण गर्न पनि स्थानीय स्तरमा प्रयोग गरिने औजारहरुको प्रयोग गरिएको थियो । स्थानीय स्तरमा पाइने झम्पल, गैंटी, बेल्चा, फरुवा, कोदाली, घन, बन्चरो, खुकुरी आदि औजारको प्रयोग गरिएको थियो । आजभोलि स्काभेटरको प्रयोग गरेर मोटरबाटो खन्ने गरिन्छ । त्यसबेला स्थानीय स्तरमा पाइने उपकरण र औजारहरुको प्रयोगले खन्नेको मोटरबाटो र आजभोलि ठूला मेसिनको प्रयोगले खनेको मोटरबाटोको तुलना गर्दा स्थानीय स्तरमा पाइने औजारको प्रयोग गरेर खनेको मोटरबाटोको स्तर अगाडि देखिन्छ । जे भए पनि जनताको पाखुराले आफ्नै औजारको प्रयोग गरेर खनेको बाटोले इतिहास कायम गरेको छ ।
व्यवस्थापन
सबैभन्दा कठीन तर गर्नैपर्ने काम व्यवस्थापन हो । व्यवस्थापन सहि भयो भने कुनै पनि काम सहि हुन्छ । व्यवस्थापन सहि भएन भने कुनै पनि काम सहि हुँदैन । सहिद मार्ग निर्माणमा तत्कालीन माओवादी नेता, कार्यकर्ताको विशेष भूमिका रहेको थियो । जनतालाई परिचालन गर्नु, जनतालाई खुसी बनाएर काममा लगाउनु, सुरक्षित काममा लगाउनु, सुरक्षित घरमा पुऱ्याउनु आम नेता, कार्यकर्ताको दैनिकी जस्तै बनेको थियो । खन्नको लागि व्यवस्थापनका पाटाहरु छुट्टाइएको थियो । यी विभिन्न पाटाहरुलाई व्यवस्थित गरेर मात्र काम गर्ने गरिन्थ्यो ।
खाद्यान्न
इतिहासका निर्माता महान जनताको आँट र सहभागिता भयो भने जे पनि सम्भव हुन्छ । सरल र सहज हुन्छ । जनताले घरबाट आफै आटो, चामल, तेल, दाल, गुन्द्रुक, माडेको साग इत्यादि लिएर बाटो खन्न आएका थिए । त्यतिबेला यातायात सञ्चालन त हुने कुरा भएन तर मान्छे हिड्ने राम्रो पैदल बाटो पनि थिएन । त्यस्तो कठीन यात्रा गरेर छिमेकी जिल्लाबाट आएका थिए बाटो खन्न । जनताको आफ्नो आटो, रोटी, साग, सिस्नोको बलमा सहिद मार्ग खन्ने काम सञ्चालन भएको थियो ।
पकाउने भाँडा
खाना पकाउनको लागि पनि भाँडा-वर्तनको व्यवस्थापन जनताले गरेका थिए । प्रत्येक गाउँबाट दश/दश जनाको टिम बनाएको हुन्थ्यो । त्यस टिममा कसैलाई भात पकाउने डेक्चीको जिम्मा दिएको हुन्थ्यो, कसैलाई तरकारी पकाउने कराइको जिम्मा दिएको हुन्थ्यो । डाडु, पन्युँ, लोहोटा सबैको आ-आफ्नो जिम्मा दिएको हुन्थ्यो । खानको लागि थाली भने सबैले आ-आफ्नो ल्याउने जिम्मा दिएको हुन्थ्यो । त्यस दश जनाको टिममा खाना पकाउनको लागि एक जना भान्छे नियुक्त गरिएको हुन्थ्यो । त्यस भान्सेको काम खाना पकाउने मात्र हुन्थ्यो । खाना पकाई सकेपछि पकाएको भाँडा माझ्ने, दाउरा ल्याउने काम हुन्थ्यो । उसले बाटो खन्नु पर्दैन थियो । सुन्दा अप्ठ्यारो लाग्ने तर काम गर्दा रमाइलो हुन्थ्यो । भान्सेले सबैलाई खाना दिन्थे । खाना दिएपछि सबै जनाले एक साथमा खान्थे । मीठो या नमीठो जे भएपनि मीठो मानेर खाने गर्दथे पकाएको भाडा रित्तो हुन्थ्यो । काम पनि रमाइलोसँग गर्दथे । हाँसो, रमाइलो संगसंगै बाटो खन्दथे । दिन रात बितेको पत्तो नै हुँदैन थियो ।
कपडा
मान्छेलाई बाँच्नको लागि नभई नहुने गास, बास र कपास हो । यिनी तीन चीजबिना मान्छे बाँच्न सक्दैन । अरु मान्छे बाँच्दै गर्दा चाहिने र आवश्यकताका आधारमा परिपूर्ति गर्ने कुरा हो । सहिद मार्ग खन्न पनि यी तीन चीजको आवश्यकता पर्दथ्यो । कपडाको व्यवस्थापन पनि स्वयम् जनताले गरेका थिए । प्रत्येक दश/दश जनाको टिममा मिलाएर कसैले ओढ्ने सिरक, कसैले ओढ्ने कम्बल, कसैले बिछ्याउनको लागि बिछ्याउना आदि लिएर जनता सहिद मार्ग खन्न आएका थिए ।
बस्ने बास
मान्छेलाई खानापछि आवासको आवश्यकता पर्दछ । आवासको लागि तत्कालीन नेकपा (माओवादी) रोल्पा जिल्ला समितिले व्यवस्थापनको जिम्मा लिएको थियो । कोहि टिमलाई जनताको घरमा मिलाई दिने काम गरेका थिए भने कोही टिमलाई त्रिपाल हालेर बस्ने ठाउँ निर्माण गरिदिएका थिए । बस्ने टिम धेरै थियो तर पनि बसाईको व्यवस्था राम्रो नै हुने गर्दथ्यो । हिउँदमा चिसो, गर्मीमा ज्यादा गर्मी, वर्षामा पानी पर्ने भएकोले अलि कठीन महशुस हुन्थ्यो तर सबैको साझा बसाई, साझा खुवाई, साझा काम गराईले सबैलाई सहजतामा ल्याउँथ्यो । मनका भावना सबैप्रति प्रतिविम्बित हुन्थे । यिनै बसाई, खुवाई, सुताईको थलो बनेको थियो सहिद मार्ग ।
स्वास्थ्य उपचारको व्यवस्था
मान्छेलाई गास, बास, कपासपछि अति आवश्यकतामा स्वास्थ्य पनि पर्दछ । मान्छेको स्वास्थ्य राम्रो भएन भने कुनै पनि काम गर्न सकिदैन । सहिद मार्ग व्यवस्थित तरिकाले सञ्चालन गर्नको लागि नेकपा (माओवादी) ले आफ्नै स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । काम गर्ने मान्छेहरु बिरामी परेमा, काम गर्दागर्दै चोटपटक लागेमा तुरुन्त स्वास्थ्य शिविर लगेर उपचार गरिन्थ्यो । शिविरमा दक्ष स्वास्थ्यकर्मीको व्यवस्था थियो । तत्कालीन नेकपा (माओवादी) ले स्वास्थ्यलाई प्राथमिकतामा राखेको थियो ।
उनीहरुलाई पनि समयसमयमा तालिम दिइन्थ्यो, तालिमपछि स्वास्थ्यकर्मीहरु जनमुक्ति सेनासँग लडाइँमा गएर घाइते जनमुक्ति सेनाको उपचार गर्दथे । उपचार पनि सामान्य मात्र गर्दैनथे । आवश्यकतामा उनीहरुले जनमुक्ति सेनाको शरीरबाट गोली निकाल्ने, ठुला-ठुला घाउहरुको अप्रेशन गर्नेदेखि सबै गर्दथे । सहिद मार्गको शिविरमा पनि यिनै स्वास्थ्यकर्मीहरु खटिएका थिए । स्वास्थ्य शिविरहरुमा सहिद मार्गमा काम गर्ने जनताको र स्थानीय जनता सबैको उपचार गरिन्थ्यो ।
सुरक्षाको व्यवस्था
नेकपा (माओवादी) र राज्यपक्षको भीषण लडाई चलिरहेकै थियो । एकले अर्कोलाई कसरी सिध्याउने भनेर दुबै पक्ष लागि परेका थिए । देशभरि लडाई भईरहेको हुन्थ्यो । लडाई नभएको दिन हुदैनथ्यो । कहिले कुन ठाउँमा, कहिले कुन ठाउँमा लडाई भएको समाचार आइरहन्थ्यो । कहिले यति (माओवादी) कार्यकर्ता, जनमुक्ति सेना, कहिले यति शाही सेना, प्रहरीको मृत्यु भएको खबर सुन्निन्थ्यो । देशमा जताततै अशान्ति, युद्ध, भीडन्तहरुको खबरले गर्दा कसैलाई पनि शान्त मनले रोटी पच्दैन्थ्यो । झन् रोल्पा जिल्ला भनेपछि राज्यले सबैलाई माओवादी भन्ने गर्दथ्यो । यहि परिवेशमा सहिद मार्ग खन्न सुरु भएको थियो । सहिद मार्ग माओवादी नेताकार्यकर्ताको विशेष कमान्डमा खन्ने भएकोले सुरक्षा अति आवश्यकता थियो । सुरक्षालाई पनि प्रमुख ठानेर जनमुक्ति सेनाले नाका-नाकामा बसेर सुरक्षा दिइरहेको थियो । चारैतिर जनमुक्ति सेनाको घेरा भएकोले सहिद मार्ग सुरक्षितसँग खनिएको थियो । शाही सेनाले पनि आक्रमण गर्ने आँट गरेन किनकि त्यहाँ जनताको सहभागितामा सहिद मार्ग खनिरहेको थियो । सायद यो सुरक्षा व्यवस्था र विकास निर्माणको कार्य भएकोले हुन सक्छ राज्यपक्ष पनि मौन बसेको थियो ।
लगानीको अवस्था
कुनै पनि काम गर्नको लागि प्राविधिक इष्टिमेट, तयारी, लागत इष्टिमेट निकालिन्छ, अनि काम अगाडि बढाइन्छ । त्यहाँ त्यसो भएन, यसको सम्पूर्ण तयारी पार्टी र निर्माण समितिले आवश्यक प्राविधिकहरु खटाएर, नेता तथा कार्यकर्ता स्वयम् लागेर गरेका थिए । सुरुमा सहिदमार्गको सर्वेको लागि रोल्पाको पूर्वी भेगमा सुलीचौर थवाङ खण्डमा जनसरकारको अनुमतिमा ग्रीन रोडको अवधारणा अन्तरगत बाटो खनिरहेको जर्मनी संस्था जीटीजेटमा कार्यरत ओभरसियर इन्जिनियर प्रेम बरालले सर्वेमा मुख्य भूमिका निभाउनु भएको थियो । उहाँ लगायत निर्माण समितिका संयोजक तथा सदस्यहरु आफै प्राविधिक भएर आफै सहिद मार्गको इष्टिमेट गर्दै सहिद मार्ग खनिएको थियो । यहाँ नगद पैसा नभए पनि जनताहरु, माओवादी नेता, कार्यकर्ताहरु, जनमुक्ति सेनाहरु, भाइचारा राष्ट्रका नेता, कार्यकर्ताहरुको श्रमलाई नगदमा रुपान्तरण गरियो भने यहाँ अर्बौं रुपैयाँको लगानी भएको मानिन्छ । यस आयोजनामा थुप्रै जनताहरु, नेता, कार्यकर्ताहरुको पसिना बगेको छ । यस मार्गमा मुख्य रोल्पा, रुकुम, सल्यान, दाङ, प्युठान, म्यादी, बागलुङका जनता र नेता, कार्यकर्ताको ठूलो लगानी छ भने देशका सबै जिल्लाहरुका जनता, नेता, कार्यकर्ताको पनि लगानी भएको छ । साथै भाइचारा राष्ट्र बेलायत, बेल्जियम, इटाली, नर्वे, क्यानाडा, कोलम्बियाका कम्युनिस्ट पार्टीका नेता, कार्यकताको पनि विशेष श्रम र लगानी रहेको छ । श्रमदानले देशलाई समृद्ध बनाउँछ भन्ने कुराको एउटा राम्रो उदाहरण यो सहिद मार्ग बनेको छ । यस सहिद मार्गमा जनता, नेताकार्यकर्ता शुभचिन्तकहरुको श्रमदानको उच्च कदर भएको छ ।
वार्ता अगाडि बाटोको अवस्था
स्थानीय स्तरमा प्रयोग हुने घरेलु औजारको प्रयोगबाट बाटो खन्नु ज्यादै कठीन र अप्ठ्यारोको विषय थियो । जनता नै इतिहास निर्माणका सर्वश्रेष्ठ शक्ति हुन् । जनताको अथक, मेहनत, परिश्रमले असम्भव काम पनि सम्भव हुन्छ भन्ने कुरा सहिद मार्गले दिनको घामझै छर्लङ्ग बनाएको छ । सहिद मार्गको स्तरलाई आज पनि हेर्दा मेसिनले खनेको बाटो भन्दा कम छैन् । नेकपा (माओवादी) शान्ति प्रक्रियामा आउँदासम्म ३४ किलोमिटर बाटो पूर्ण रूपमा सम्पन्न भएको थियो । पहिला दाङ, होलेरी, नुवागाउँसम्म ट्र्याक खुलेको थियो भने, पछि गैरीगाउँको टिला, कोटगाउँको दारबोट, कोर्चावाङको हान्डिङसम्म ट्रयाक खुलेको थियो । टिलासम्म त गाडी सुचारु भएको थियो । हान्डिङदेखि घर्तीगाउँ, घर्तीगाउँदेखि दुई खोलीसम्म, दुई खोलीदेखि थवाङसम्म बिचबिचमा पनि बाटो खनिएको थियो । सहिद मार्ग सम्पन्न नहुँदै योजना कार्यान्वयन हुँदै गर्दा नेकपा (माओवादी) र सरकारबिच वार्ता सम्पन्न भएको थियो ।
हालको अवस्था
तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि यस आयोजनालाई थप विकास र बिस्तार गरेर सम्पन्न गर्न नेपाल सरकारले आर्थिक बर्ष २०६४/२०६५ देखि काम गरिरहेको छ । यस आयोजनालाई दाङको घोराहीदेखि रोल्पाको होलेरी हुँदै नुवागाउँ, टिला, दारबोट, घर्तीगाउँ, दुई खोली, थवाङ र थवाङवाट पूर्वी रुकुमको महत, काक्री हुँदै तकसेरा, हुकाम, मैकोट जोड्ने उदेश्यले २२० किलोमीटर लम्बाई भएको सहिद मार्गमा हाल निर्माणको काम भइरहेछ । यस आयोजना रोल्पा जिल्लाको मात्र नभएर देशकै गौरवको आयोजनाको रूपमा स्थापित छ । नेपाल सरकारले पनि यस आयोजनालाई उच्च प्राथमिकतामा राखेको छ । यस आयोजनालाई नेपाल सरकारले दुई लेनमा बिस्तार गर्नेगरी काम गरिरहेको छ । यस आयोजनालाई भविष्यमा दाङको कोइलाबासदेखि लमही, घोराही हुँदै रोल्पाको होलेरी, घर्तीगाउँ, दुई खोली, थवाङ, पुर्वी रुकुमको महत, खावाङ, तकसेरा, हुकाम, मैकोट हुँदै डोल्पाको दुनैसम्म उत्तर दक्षिणी सडक खण्डको रूपमा विकास गर्ने लक्ष्य लिईएको छ । यस सहिद मार्गको जम्मा २२० किलो मिटर मध्ये ३२ किलोमिटर कालोपत्रे भएको छ । १३५ किलोमिटर ग्राभेल भएको छ । ३२ किलोमिटर माटे अवस्था रहेको छ र १२ किलोमिटर पुर्वी रुकुमको हुकाम, मैकोटसम्म ट्रयाक खोल्न बाँकी छ । यस सहिद मार्गमा १७ वटा मोटरेवल पुल रहेका छन्, १७ वटा पुल मध्ये १२ वटा पुल निर्माण भइसकेका छन् भने बाँकी ५ वटा निर्माणको चरणमा छन् । यस आयोजनाको कुल बजेट ११ अर्व १७ करोड ५६ लाख रहेको छ । यस आयोजनालाई नेपाल सरकारले आर्थिक वर्ष २०८४/२०८५ सम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
मुख्य भुमिका
नेकपा (माओवादी) लाई तत्कालीन राज्य पक्षले विकास विरोधी, आतंककारीको नाम दिएको थियो । नेकपा (माओवादी) भने जनताको साथमा थियो । जनतासँग विकास, जनतासँग स्वास्थ्य, जनतासँग शिक्षा, जनतासँग कृषि, जनतासँग न्याय जोड्ने उद्देश्यले आफ्नो जनसत्ता चलाइरहेको थियो । तत्कालीन मगरात जनसरकार प्रमुख सन्तोष बुढा मगर (विषम)ले यो पार्टीको अभियानलाई कार्यन्वयन गरिरहनु भएको थियो । यस अभियानलाई सार्थक बनाउन तत्कालीन नेकपा (माओवादी) का पोलिटव्युरो सदस्य तथा क्षेत्रीय व्युरो इन्चार्ज नेत्र विक्रम चन्द ‘विप्लव’ ले गर्नु भएको थियो । उहाँको योजना (डिजाइन) मा तत्कालीन नेकपा (माओवादी) को हेडक्वाटरले यो आयोजनालाई कार्यन्वयन गर्न निर्देशन दिएको थियो । यस आयोजनालाई कार्यन्वयन गर्न तत्कालीन नेकपा (माओवादी) का केन्द्रीय सदस्य, मगरात राज्यका जनसरकार प्रमुख तथा आधार ईलाका सेक्रेटरी सन्तोष बुढा मगर (विषम) प्रत्येक जिल्लाका जिल्ला सेक्रेटरीहरु, प्रत्येक जिल्लाका जनसरकार प्रमुखहरु, एरिया र टोलका नेता, कार्यकर्ताहरुको विशेष भुमिका रहेको थियो । अझै विशेष भूमिका आम जनता र विदेशी पाहुनाहरुको रहेको थियो ।
घाइते, अपाङ्ग र सहिद
काम गर्नु आफैमा जोखिम पूर्ण काम हो । झन् बाटो खन्नु अरु कामभन्दा जोखिमपूर्ण काम हो । पहाडी भिरालो जमिनलाई काटेर तल झार्नु, गाडी चल्ने बनाउनु सामान्य विषय थिएन । घरेलु औजारको प्रयोग, आफ्नै तागत र बलमा असम्भव कामलाई जनताले सम्भव बनाए । यो सहिद मार्ग खन्दा गम्भीर घाइते, अपाङ्ग त कोही भएनन् तर सामान्य चोटपटक त दैनिक जस्तो लाग्नु स्वभाविकै थियो । सबैलाई प्राथमिक उपचार गरिन्थ्यो र उपचारपछि सबै काममा फर्किन्थे । यस सहिद मार्ग खन्दा रोल्पा जिल्ला राङकोट गाविसका गोपाल परियार, रुकुम जिल्ला रुघा गाविसका हरिबहादुर वली (क. पत्थर), सल्यान जिल्ला घाँजरी पिपलका रुपसिङ बुढाथोकी गरी तीन जनाको घटनास्थलमै मृत्यु भएको थियोे । यी तीन जनामा गोपाल परियार काम कै शिलशिलामा दुर्घटना भई दुई खोली थबाङ खण्डको मिरुल लाटावाङमा मृत्यु भएको थियोे । सल्यानको रुपसिंह बुढाथोकी टिला नुवागाउँ खण्डको गाईगरगरेको भीरमा माथिबाट ढुंगा खसेर घटनास्थलमै मृत्यु भयो भने रुकुमको हरिबहादुर वली (क. पत्थर) व्याङखोला घर्तीगाउँ बिचको सल्लेरी भीरमा विस्फोटमा परी मृत्यु भएको थियो । उहाँहरु तीन जनालाई नेकपा (माओवादी) ले तत्कालै सहिद घोषणा गरी परिवारहरुलाई १०/१० हजार राहत पनि दिएको थियो । यस्तै यसै समय निर्माण समितिका सदस्य कमरेड तेजमान घर्ती (क. दीर्घ) पनि यसैबेला अर्घाखाँची जलुकेमा शाही सेनाको घेरामा परी सहिद हुनुभयो । अहिले उहाँहरुलाई नेपाल सरकारले पनि राष्ट्रिय सहिद घोषणा गरिसकेको छ ।
सम्भावनाहरु
सहिद मार्ग एउटा राष्ट्रिय गौरवको आयोजना हो । यस आयोजनाले थुप्रै सम्भावना बोकेको छ । यस आयोजना दाङको घोराहीबाट सुरु हुन्छ । यो आयोजना घोराहीबाट सुरु भई होलेरी, नुवागाउँ, टिला, दारबोट, घर्तीगाउँ, दुई खोली, खाबाङ यसका प्रमुख बजार हुन् । यस आयोजनाको मध्यभागमा नेपालाकै चर्चित गाउँ जनयुद्धको उद्गम थलो थवाङ पर्दछ । यस आयोजनाबाट स्वर्गद्वारी महाप्रभु जन्मेको जन्मस्थल भनिने रुन्टी गाउँ, प्रभुले तपस्या गरेको भनिने ठाउँ गढीलेक नजिक पर्दछ । रोल्पा जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल जलजला पनि यसै मार्ग भएर जाने गर्दछ । यस आयोजनाबाट पुथा उत्तरगंगा हिमाल, रुकुमकोटको कमल पोखरी, स्यार्पु दह लगायतको भ्रमण गर्न सकिन्छ । यस सहिद मार्गले जोड्ने रोल्पा, रुकुम, दाङका जनतालाई प्रत्यक्ष जोड्दछ र सेवा मिलेको छ भने अप्रत्यक्ष सेवा आम नेपालीहरुलाई मिलेको छ । यो आयोजना मध्यपहाडी लोकमार्गसँग जोडिने भएकोले विकटका जनतालाई विशेष फाइदा मिलेको छ ।
(लेखक नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय कार्यालय सदस्य हुनुहुन्छ।)