
चितवन । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीले नेपाली विशेषताको सामजवादमा मात्र उत्पीडित जाति र वर्गको मुक्ति सम्भव हुने बताउनु भएको छ । श्रमिक समुदाय मोर्चा नेपाल, भरतपुर महानगरको प्रथम सम्मेलनमा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तव्य राख्दै उहाँले सो कुरा बताउनु भएको हो ।
दलाल पुँजीवादी संसदीय व्यवस्थामा सामान्य सुधारले मात्रै मुक्ति नहुने कुरामा उहाँले जोड दिनुभयो । व्यवस्था परिवर्तन, आर्थिक रुपमा आत्मनिर्भर, पुराना जाति र थर खारेज गरी नयाँ सी जातिको विकास, नेतृत्व विकास र कानुनी व्यवस्थालाई व्यवहार मै कार्यान्वयन गर्न सकेमात्र मुक्ति सम्भव हुने कुरा उहाँले स्पष्ट गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज उत्सव सीले उत्पीडित वर्ग, समुदायको मुक्ति गर्ने पार्टीको नीति र कार्यक्रमलाई कडाइका साथ लागू गर्न आफुले सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी नेकपाका केन्द्रीय सदस्य तथा चितवन सेक्रेटरी रुद्र सी, नेकपा केन्द्रीय सदस्य तथा मोर्चा बागमती प्रदेश इन्चार्ज पदम सी, मोर्चा चितवन जिल्ला अध्यक्ष अमृत सी लगायतले जातीय र वर्गीय मुक्तिका लागि अझ सशक्त संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।
सम्मेलनले प्रेम सीको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति निर्माण गरेको छ । अजीव सीको स्वागत र हिमाल सीको सञ्चालनमा कार्यक्रम सम्पन्न भयो ।