महिला दिवस संयुक्त रुपमा मनाइयो

काठमाडौं । ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न पार्टी निकटका महिला संगठनहरुद्वारा संयुक्त रूपमा मनाइएको छ । समाजवादी मोर्चा नेपाल निकटका चार संगठन र राष्ट्रिय जनमोर्चा पार्टी निकटको महिला संगठन सहित पाँच संगठनहरुले आज काठमाडौंको बानेश्वरमा जुलुस र सभा गरेर कार्यक्रम मनाएका हुन् ।

कार्यक्रममा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का अध्यक्ष बन्धु सीले समाजवादमा मात्रै महिलाको मुक्ति सम्भव हुने ठोकुवा गर्नुभएको छ । “सडकमा मकै पोल्ने महिला, चटपटे बेच्ने महिला र साग बेच्ने महिलाको जीवनको प्रत्याभूति यो राज्यले कतिबेला दिन्छ ? त्यो कुराको पनि हामीले यहाँबाट आव्हान गर्न सक्नुपर्छ” उहाँले प्रश्न गर्नुभयो ।

कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अमृता थापाले आज समानुपातिक, समावेशीको दुहाई दिएर अस्थिर सरकारको नाम दिएर भ्रम छर्न खोजिरहेकोमा खबरदारी गर्नुभयो ।

अखिल नेपाल समाजवादी महिला संगठनका केन्द्रीय अध्यक्ष जयन्ती राइले निरन्तर एकजुट भएर सशक्त लाग्नुपर्ने जरुरी रहेको बताउनुभयो ।

भृकुटीमण्डपबाट नाराजुलुस सहित सुरु भएको संयुक्त कार्यक्रम बानेश्वरमा सभा गरेर सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न पार्टी र संगठन निकटका नेताकार्यकर्ताहरु समेत सहभागी भएका थिए ।

नेपाल समाजवादी महिला संघका नेतृ कल्पना सुवेदीको अध्यक्षता र अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष मिना पुनको सहजीकरणमा कार्यक्रम सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation