मोर्चाका कोषाध्यक्षको आमाप्रति मोर्चाद्वारा श्रद्धाञ्जली अर्पण

 

बुटवल । श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय कोषाध्यक्ष जानकी सी र सचिवालय सदस्य सरिता सीका आमा छली कुमारी बराहप्रति श्रमिक समुदाय मोर्चा नेपालले श्रद्धाञ्जली अर्पण गरेको छ । मोर्चाले आज एक शोक वक्तव्य मार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।

केन्द्रीय अध्यक्ष रामलाल सी. द्वारा हस्ताक्षरित मोर्चाकावक्तव्यमा शोकाकुल परिवार र आफन्तप्रति समवेदना समेत प्रकट गरिएको छ ।

बुटवल उपमहानगरपालिका ८ सुख्खानगर निवासी उहाँ विगत लामो समय देखि दमको स्वास्थ्य समस्याका कारण उपचाररत हुनुहुन्थ्यो । ८२ वर्षको उमेरमा आज बिहान घरमै उहाँको निधन भएको हो ।

पाल्पाकै तत्कालीन खस्यौली गाविसमा ०११ सालतिर भाइलाई पढाउन स्कुल लैजाँदा ब्राह्मण समुदायका शिक्षकले भाइलाई अछुत भनी हात थापेर पानी पिउन दिएपछि पानीको गाग्री फालिदिएर विद्रोह गरेका छलीकुमारी दर्नाल (बराह) आमाको जीवनी निकै प्रेरणादायी छ । विद्यालयमा विद्रोह गरेपछि भाइको लागि गाउँको एउटा घरमा पढ्ने वातावरण मिलाउनु भयो ।

बुवा मोतिलाल दर्नाल र हरिकला दर्नालको काँइली छोरीको रुपमा पाल्पाको खस्यौलीमा वि.स. १९९९ माघ ३ गते जन्मिनु भएका छलिकुमारी आमाको उत्साह अहिले पनि उस्तै छ । उहाँले कहिल्यै निराशावादी कुरा गर्नुहुन्थेन । उहाँको बुवाआमाले कपडा सिलाउने काम गर्नुहुन्थ्यो । आमाले पनि सोही सीप सिक्नुभयो । छलिकुमारी आमाको ९ दिदीबहिनी र ३ दाजुभाइ हुनुहुन्थ्यो । अहिले उहाँका ३ दिदीबहिनी र १ भाइ जीवित हुनुहुन्छ ।

०१३ सालमा तत्कालीन बन्दीपोखरा (हाल तानसेन – सेतीपोखरी) का मीन बहादुर बराहसंग बिहे गर्नुभयो । दुबैजनाले कपडा सिलाउने काम गर्नुभयो । आमाले ४ छोरा , ५ छोरी जन्माउनु भयो । सबै छोराछोरीलाई राम्रो पढाइलेखाइ गराउनुभयो । तत्कालीन जनयुद्धमा जेठा र अर्का १ छोरा अनि २ छोरीहरू प्रत्यक्ष सहभागी हुनुभयो । छोरी जानकी बराह कानुन व्यवसायी पनि हुनुहुन्थ्यो, उहाँलाई जनयुद्धमा सहभागी भएका कारण सेनाले गिरफ्तार गरेर दुई बर्ष हिरासत राख्यो । सरिता बराहलाई पनि गिरफ्तार गर्‍यो तर छिटै छोड्यो ।

तत्कालीन समयमा श्रमिक / दलित समुदाय भित्र समेत छुवाछूत र विभेद निकै थियो । आफू – आफुमा छुवाछूत गर्न हुँदैन भन्ने धारणा आमाको थियो । त्यसैले आमा सबै श्रमिक समुदायको घरमा जबर्जस्त घरमा पस्ने गर्नुहुन्थ्यो । आमाको माइती बुवाआमा अलि सम्पन्न भएका कारण पनि कसैले आमालाई त्यति हेप्न सक्दैनथे । तत्कालीन समयमा आमाको बुवा घोडा चढेर हिंड्ने गर्नुहुन्थ्यो । त्यो समयमा घोडा चढ्न सक्ने मान्छेको मर्यादा अलि उच्च मानिन्थ्यो ।

दाम्पत्य जीवनमा भने आमाले मेलापात समेत गर्नुपर्थ्यो । निकै थकान महशुस गर्नुहुन्थ्यो । जीवनमा धेरै संघर्ष, विभेद र पीडा सहनुपरेको अनुभव आमाले जीवन्त सुनाउनु हुन्छ । तर पनि कहिल्यै हार मान्नु भएन । जनयुद्ध कालमा सेना, प्रहरीले घरमा आएर निकै दु:ख दिने गर्थ्यो । आमाले आफ्नो सुरक्षाका लागि साथमा खुकुरी राखेर, पछ्यौरा ओढेर हिँड्ने गरेको कुरा निकै गर्वका साथ सुनाउनुहुन्छ । आमा अन्याय र गलत गर्नेसंग जतिबेला पनि लड्ने – भिड्ने स्वभावको हुनुहुन्छ ।

०४९ सालमा दमको कारण बुवा मीन बहादुरको निधन भयो । त्यसपछि पनि आमाले बुटवलमा सिलाइ व्यवसाय गरिरहनु भयो । ०६० सालतिरबाट आमालाई पनि दमको समस्याले गाँजिरहेको छ । आमा अहिले बुटवल – ८ सुख्खानगर, ज्योतिपथस्थित आफ्नै घरमा बस्ने गर्नुहुन्छ । हाल आमाका ४ छोरी र १ भाइ छोरा जीवित हुनुहुन्छ । रोजगारीको लागि विदेश जाने प्रक्रिया अगाडि बढाउँदै गर्दा काठमाडौंमा जेठा छोराको रहस्यमय मृत्यु भयो । कान्छो छोराको साउदीमा निधन भयो । माइलो छोरा ५ वर्षको उमेरमा नै बित्नुभयो ।

आमा अहिले करिब ८२ बर्षको हुनुहुन्छ । दमको कारण प्रायः इन्डियाको गोरखपुरमा उपचार गराउने गर्नुहुन्छ । छोराछोरी, नातीनातिना, बुहारीले आमाको राम्रो हेरचाह गर्नुभएको छ । आमालाई भेट्न आउनेहरूसंग आमा निकै उत्साही छलफल गर्नुहुन्छ । विशेषगरी समाजमा विद्यमान जातीय, वर्गीय विभेद हटनुपर्ने आमाको धारणा छ । बजार मै पनि श्रमिक समुदायले छोएमा सुनपानी छर्कने परम्परा कायमै रहेको कुराले आमाको निकै मन पोल्ने गर्दछ । श्रमिक समुदायले उत्पादन गरेको दुध नबिक्ने, अन्तरजातीय प्रेम-विवाह समाजले अस्वीकार गर्ने जस्ता कुराले आमाको मनमा आगो बलिरहेको छ ।

आमाका छोरीहरू जानकी र सरिता राजनीति र समाजसेवामै कृयाशील हुनुहुन्छ । बुटवलको देवीनगरमा बस्ने जानकी श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ र रानीजञ्जमा बस्ने सरिता मोर्चाको केन्द्रीय सदस्य हुनुहुन्छ । आमाका छोरा विक्रम व्यवसाय गर्नुहुन्छ । जीवनमा धेरै संघर्ष गर्नुभएका आमाका सन्ततिहरु पनि निरन्तर संघर्षरत हुनुहुन्छ । आमाको सबै परिवारहरु हेर्दा उदाहरणीय हुनुहुन्छ ।

शोक वक्तव्य :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation