
(कविता)
प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्र ल्याउने
जिउँदै जलाएको खरानी बोल्दैछु,
आवाज उठाएकै भरमा जलाएका थिए हामीलाई,
हाम्रो विचार र लक्ष्यमा बगाएको आँखाको पानी बोल्दै हो ।
जिउँदै जलाएपछि खरानी भइन्छ,
बचेको खरानी पनि पानी भइन्छ,
म त्यही खरानी बोल्दै छु,
जसको अन्त्य र परिवर्तनका लागि खरानी भएको थिएँ,
आज फेरि जुर्मुराउँदै छन् रे उनीहरू,
जलाएर बनेको खरानीलाई बगाएर बनेको पानी बोल्दै छु ।
जल्न भन्दा अघि लेखेको थिए गणतन्त्र र लोकतन्त्र,
भष्म गर्न खोज्दैछन् र रैतीहरूले,
त्यही भएर १७ हजारको रगतै रगतको पानी बोल्दैछु,
म मरेर नि जीवित हुन्छ भनेर जिउँदै जलेको थिएँ,
आज फेरि त्यही खरानी बोल्दैछु,
मेरो रगत र खरानीमा होलि खेलेछन् भ्रष्टहरुले
त्यही भएर फेरि जुर्मुराएछन् रैतीहरु,
म मरेर नि फेरि मर्नको लागि खरानी बोल्दै छु ।
जाग ए तराई मधेसका थारु कमैयाहरु,
पहाडका उत्पीडित र दलितहरु,
म मरेकोलाई बारम्बार मारिँदै छ यहाँ,
मेरो रगतले लेखेको संविधान बिगारिँदैछ यहाँ,
संविधान जीवित र परिवर्तन गर्न रैतीहरूको अन्त्य गर्न
वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन खरानी बोल्दै छु ।