सङ्घर्ष समितिद्वारा सरकारलाई कडा कदम चाल्न माग

 

काठमाडौं – संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले हालै काठमाडौंमा भएको अराजक गतिविधिको कडा निन्दा गर्दै दोषीलाई कानुनी कारवाही गर्न सरकारसँग माग गरेको छ । समितिको आज बसेको बैठकले एक विज्ञप्ति मार्फत सो माग गरेको हो ।

 

समितिले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ कि मुलुक अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा अगाडि बढिरहेको भए पनि पछिल्ला केही समययता देखिएका अराजक र प्रतिगामी गतिविधिहरुप्रति गम्भीर ध्यानाकर्षण भएको छ । विशेषगरी १५ चैतका दिन काठमाडौंको तीनकुने, कोटेश्वर, र जडिबुटी क्षेत्रमा पूर्वराजा ज्ञानेन्द्र शाह समर्थकको दाबी गर्ने दुर्गा प्रसाई र रविन्द्र मिश्र नेतृत्वको समूहले हिंसा फैलाएको समितिको आरोप छ ।

 

 

समितिले विभिन्न राजनीतिक दलका कार्यालय, सार्वजनिक सम्पत्ति, सवारी साधन, सञ्चारगृहमा तोडफोड तथा लुटपाट गरेर समाजमा आतङ्क सिर्जना गरेको भन्दै आक्रोश व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, “राजतन्त्रकालीन अन्धकारमय समयलाई हामीले भुलेका छैनौं । दलितलगायत उत्पीडित वर्गले बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त गरेको गणतन्त्रको पुनरावृत्ति हुन दिने छैनौं ।”

 

 

समितिले यस्ता अराजक गतिविधिमा संलग्न व्यक्तिहरूलाई अविलम्ब कानुनी कारबाही गर्न तथा भविष्यमा यस्ता घटनालाई नियन्त्रण गर्न सरकारलाई कडा कदम चाल्न आग्रह गरेको छ । साथै, संविधान र लोकतान्त्रिक मूल्यविपरीत हुने कुनै पनि गतिविधि अस्वीकार्य हुने चेतावनी पनि दिएको छ ।

 

विज्ञप्तिमा श्रमिक समुदाय मोर्चा नेपाल, समाजवादी दलित मुक्ति सङ्गठन, नेपाल दलित सङ्घ, नेपाल उत्पीडित जातीय मुक्ति समाज लगायतका बाह्र संगठनका नेताहरूले हस्ताक्षर गरेका छन् ।

 

समितिले सम्पूर्ण जनसमुदायलाई अराजक गतिविधिमा संलग्न नहुन अपिल गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै सशक्त बनाउन निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation