
काठमाडौं । राजावादीहरुको अपराधिक क्रियाकलाप नियन्त्रण गर्न समाजवादी दलित मोर्चा नेपालले सरकारसंग माग गरेको छ । मोर्चाले आज विज्ञप्तीमार्फत सो माग गरेको हो ।
समाजवादी मोर्चा नेपालमा आवद्ध चार राजनीतिक पार्टी निकटका चार दलित संगठनहरुद्वारा हस्ताक्षरित विज्ञप्तीमा चैत्र
१५ गते काठमाडौंको तीनकुने, कोटेश्वर र जडिबुटी लगायतका क्षेत्रमा पूर्वराजा ज्ञानेन्द्र समर्थक समूह अन्तर्गत कथित राजावादी दुर्गा प्रसाई र रविन्द्र मिश्रहरूको नेतृत्वको झुण्डले विभिन्न राजनीतिक पार्टीका कार्यालय जस्तै नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालयमा तोडफोड एवं आगजनी, सार्वजनिक सम्पत्ति, सवारी साधन, सञ्चारगृहमाथि तोडफोड एवम् सुपरमार्केटमा लुटपाट मच्चाएर समाजलाई आतङ्क सिर्जना गर्ने जस्ता उद्दण्डता र हिंसाको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको मोर्चाले जनाएको छ ।
‘कुनैपनी बहाना र नाममा हुने यस्ता अराजक र अपराधिक गतिविधिहरुमा प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न नहुन हामी सम्पूर्ण जनसमुदायलाई हार्दिक अपिल गर्दछौं। हामी नेपाली समाजको विद्धमान समस्या समाधान गर्दै समाजवादी क्रान्तिमा अगाडि बढ्ने भएकाले यसमा साथ एवं समर्थनका लागि सम्बन्धित सबैमा हार्दिक आह्वान गर्दछौं’ विज्ञप्तीमा भनिएको छ ।