
काठमाडौं । करिब तीन दशकसम्म गोठालोको रुपमा काम गराएर पारिश्रमिक नदिएको घटनाप्रति श्रमिक समुदाय मोर्चा नेपाल, मधेस प्रदेशले घोर भत्सर्ना गरेको छ । मोर्चाले आज एक वक्तव्य मार्फत सो भत्सर्ना गरेको हो ।
मोर्चाका मधेस प्रदेश इन्चार्ज धर्म सीद्वारा हस्ताक्षरित वक्तव्यमा खोटाङका पीडित सरिता बिकलाई उचित क्षतिपूर्तिको माग समेत गरिएको छ ।
वक्तव्यको पूर्णपाठ :
खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ का नन्दे विश्वकर्माकि छोरी नागरिकता अनुसार वि.स. १९९० सालमा जन्मिएकी सरिता बिकलाई उदयपुर जिल्ला कटारी, नगरपालिका वडा नं. १० सोरङ्गका गणेश बहादुर राउतले २०५५ सालदेखि गोठालोको रुपमा काम गराउन आफ्नो घरमा राखेका थिए । गणेश वहादुर राउतको छोरा सुजन राउत २०६१ सालमा सर्लाही जिल्ला बर्थहवा नगरपालिका वडा नं. २ हजारिया बसाई सरेर आउँदा सरितालाई गोठालोकै रुपमा साथमै लिई आएका थिए । अहिले वृद्धावस्थाका कारण काम गर्न नसक्ने भएकोले सुजनले सरिता बिकलाई दुर्व्यवहारका साथ कुनै खर्च नदिई २ महिना अगाडि उदयपुर कटारी फिर्ता गरिदिएका छन् । साथै सरिताको वृद्धभत्ता समेत सुजनले दुरुपयोग गरिदिँदै आएका छन् ।
सुजनका भतिज चेत बहादुर राउत बर्थहवा २ का वडा अध्यक्ष समेत छन् । सरिताकी काकाका छोरा डम्बरबहादुर बिक, छिमेकी चित्र गजमेर लगायत आफन्तहरुले सुजन र वडाध्यक्ष चेतबहादुरलाई भेटेर सरिताको उचित पालनपोषणका लागि आग्रह गर्दा उनले अहिलेसम्म सरितालाई पालेको हुनाले अब कुनै खर्च दिन नसक्ने गैरजिम्मेवार जवाफ दिएका छन् । यस मानवताहीन, गैरजिम्मेवारीपूर्ण हर्कतको श्रमिक समुदाय मोर्चा नेपाल, मधेस प्रदेश घोर भत्सर्ना गर्दछ । साथै पीडित सरितालाई उचित पालनपोषण, स्वास्थ्य, सुरक्षा र क्षतिपूर्तिका निम्ति जोडदार माग गर्दछ ।
२८ चैत्र २०८१
………..
धर्म सी
इन्चार्ज,
मधेस प्रदेश