
बलात्कार प्रयासमा संलग्नलाई कार्वाही गर्न मोर्चाको मा
काठमाडौं । सिराहाकी आनन्ददेवी सदायलाई बलात्कार प्रयास गर्नेहरूलाई कार्वाही गर्न श्रमिक समुदाय मोर्चा नेपाल, मधेस प्रदेशले माग गरेको छ । मोर्चाले आज एक वक्तव्य मार्फत उक्त माग गरेको हो ।
प्रदेश इन्चार्ज धर्म सीद्वारा हस्ताक्षरित वक्तव्यमा दोषीलाई कार्वाही गर्नुको सट्टा पीडितलाई दुर्व्यवहार गर्ने स्थानीय प्रहरी इन्चार्जलाई समेत कार्वाही गर्न माग गरिएको छ ।
प्रेस वक्तव्यको पूर्ण पाठ :
सिराहाको बरियारपट्टि गाउँपालिका – १ कचनारीको नरगीस्थित दिदीको घर गइरहेका बेला २४ वर्षीया आनन्दीदेवी सदायलाई २०८१ पुस ९ गते बिहान करिब ११ बजे माइती गाउँनजिकै रहेको नवराजपुर गाउँपालिका – ३ जगतपुरमा स्थानीय २२ वर्षीय संजिवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले घेरा हालेर हरिनारायण यादवको आँपको बगैंचामा लगेर आनन्दीदेवीका लुगासमेत च्यात्न थालेपछि चिच्याउँदै माइतीघरमा पुगेकी थिइन् । घटनालगत्तै जाहेरी दिन गएका पीडित र उनका आमाबाबुलाई महेशपुरपतारी प्रहरी इन्चार्जले उल्टै दुर्व्यवहार गरेको र धेरैपटकको प्रयासपछि फागुन १५ गते ६५ दिनमा मात्रै जाहेरी दर्ता गरिएको बुझिएको छ । चार महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी नरहा गाउँपालिका, बर्छवाकी आनन्दीदेवी नवराजपुर गाउँपालिका – ३, दोनबारी टोलस्थित माइतीघरमा २०८२ बैशाख २ गते झुन्डिएको मृतअवस्थामा भेटिएकी हुन् ।
आनन्दीदेवी माथि भएको ज्यादतीविरुद्ध कानुनी लडाइँ लड्छु भन्दा उल्टै पीडक पक्षले पीडित पक्षलाई ‘तिमीहरूले केही गर्न सक्दैनौ’ भन्दै निरन्तर धम्क्याउँदै आएको साथै घटनामा संलग्न व्यक्तिहरूविरुद्ध परेको किटानी जाहेरी दर्ता गर्नसमेत आलटाल गर्ने र पीडितलाई दुर्व्यवहार गर्ने महेशपुरपतार प्रहरीको हर्कत प्रति श्रमिक समुदाय मोर्चा नेपाल, मधेस प्रदेश घोर भत्सर्ना गर्दछ । घटनामा संलग्नद्वय यादवहरु एवम् महेशपुरपतार प्रहरी प्रमुखलाई कानुनी कार्वाहीका निम्ति गृहप्रशासन समक्ष जोडदार माग गर्दछौं ।
३ वैशाख २०८२
धर्म सी
इन्चार्ज