भिख मागेर युद्ध जितिन्न : विप्लव सी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले भिख मागेर युद्ध जितिन्न भन्नुभएको छ । काठमाडौंमा आयोजित ध्रुवीकरण कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

१५६ औं लेनिन जयन्ती र नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा नेकपा केन्द्रीय समितिद्वारा आयोजित बृहत ध्रुवीकरण कार्यक्रममा बोल्दै उहाँले परनिर्भर मानसिकता र विदेशी सहायता माथिको आश्रित प्रणालीले देशलाई कमजोर बनाएको धारणा स्पष्ट पार्नुभएको छ ।

आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रको समुन्नतिका लागि नेपाली जनताले अब परनिर्भरताको परम्परा त्याग्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले थप भन्नुभयो, “अरु देश वा राष्ट्रसँग मागेर खाने परम्परा गलत हो। अब हामी आफै गरेर खान सिक्नुपर्छ।”

महासचिव विप्लवले आत्मनिर्भर अर्थतन्त्र, स्वदेशी उत्पादन र श्रमको सम्मानमा आधारित समाज निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उनले नेपालजस्तो समृद्ध प्राकृतिक स्रोत साधन भएको देशले आफ्नो आवश्यकता आफैं पूरा गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताउनु भयो ।

उनले राजनीतिक क्रान्तिको लक्ष्य पूर्ण रुपमा तब मात्र सार्थक हुने उल्लेख गरे जब जनता आर्थिक र वैचारिक हिसाबले पनि स्वतन्त्र र सक्षम बन्छन् । विप्लवले नेपाली जनतालाई स्वाभिमानी, उत्पादक र सिर्जनशील बन्न आह्वान गर्दै वैदेशिक अनुदानमा टेकेर बाँच्ने प्रवृत्तिको विरोध गर्नुभयो ।

कार्यक्रमको सहजीकरण नेकपाका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड सीले गर्नुभएको थियो । उनले पार्टीको ऐतिहासिक पृष्ठभूमि, लेनिनको योगदान र आजको सन्दर्भमा कम्युनिस्ट आन्दोलनको भूमिकामाथि प्रकाश पार्दै लेनिनको सिद्धान्त र विचारमा आधारित राष्ट्रिय मोडेल आवश्यक रहेको बताउँदै नेपाली जनताले आत्मनिर्भर समाज निर्माणको बाटो समात्नुपर्ने बताउनु भएको छ ।

कार्यक्रममा ध्रुवीकरण भएका कमरेडहरुले समेत आत्मनिर्भरताको बाटो समाउने र स्वदेशमै रोजगारी र उत्पादन प्रणाली विकास गर्नुपर्नेमा सहमति जनाएका थिए ।

 

विभिन्न पार्टी परित्याग गरी ४ दर्जन बढी नेता, कार्यकर्ता र बुद्धिजीवीहरु नेकपामा ध्रुवीकृत भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीले यस अवसरमा जनताको स्वाभिमान, राष्ट्रियता र आत्मनिर्भर विकासको पक्षमा संगठनात्मक एकता र वैचारिक स्पष्टता आवश्यक भएको सन्देश दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation