
– कविता (एनबी निशान)
मान्छेले मान्छेलाई अछुत बनाउनु उनीहरू शान्ति मान्छन्
विभेद विरुद्धका आवाजलाई उनीहरू हिंसा ठान्छन्
सीमित व्वाँसोहरु मोटाउनुलाई उनीहरू शान्ति मान्छन्
आम श्रमजीवीहरुलाई शोषण गर्नुलाई उनीहरू हिंसा ठान्छन्
महिलालाई दोस्रो दर्जाको दास बनाउनु उनीहरू शान्ति मान्छन्
पुरुष सरह पैत्रिक सम्पत्ति माग्दा उनीहरू हिंसा ठान्छन्
सुदुर, कर्णाली र मधेसलाई उत्पीडन गर्नु उनीहरू शान्ति मान्छन्
सबै क्षेत्र समान हुनुपर्ने एजेन्डालाई उनीहरू हिंसा ठान्छन्
उद्योग कारखाना बन्द गर्नुलाई उनीहरू शान्ति मान्छन्
बेरोजगारीका विरुद्ध युवाहरू उठ्नुलाई उनीहरू हिंसा ठान्छन्
महंगी, कालोबजारी, कमिसनलाई उनीहरू शान्ति मान्छन्
सहुलियत बजार ग्यारेन्टीको मागलाई उनीहरू हिंसा ठान्छन्
शिक्षा र स्वास्थ्यको व्यापार गर्ने कुरा उनीहरू शान्ति मान्छन्
निजीकरणको अन्त्य गर्नुपर्ने नारालाई उनीहरू हिंसा ठान्छन्
सुकुम्बासीमा डोजर लगाउने कुरा उनीहरू शान्ति मान्छन्
भूमिहीनले भूमि पाउनेपर्ने आवाजलाई उनीहरू हिंसा ठान्छन्
दशकौंसम्म देश लुट्नुलाई उनीहरू शान्ति मान्छन्
दलाली र भ्रष्टाचार विरुद्ध जाग्नुलाई उनीहरू हिंसा ठान्छन्
नदीनाला र खानीहरु कौडीमा बेच्नु उनीहरू शान्ति मान्छन्
स्रोत साधन स्वदेशमै उपयोग गर्नुपर्ने कुरा उनीहरू हिंसा ठान्छन्
सीमानाका पिलरहरु गायब हुँदा उनीहरू शान्ति मान्छन्
वैदेशिक हस्तक्षेप विरुद्ध बोल्नुलाई उनीहरू हिंसा ठान्छन्
राजा ढोगेर नागरिकलाई रैती बनाउनु उनीहरू शान्ति मान्छन्
सबै स्वतन्त्र, स्वाधीन र समान हुने जनतन्त्रलाई उनीहरू हिंसा ठान्छन् ।
°°°°°