
काठमाडौं – दुर्गम जिल्ला मुगुको खत्याड गाउँपालिका–११, लुई रातापानीमा जन्मिएका अनिपाल कार्की (सुप्रिम) पछिल्लो समय देउडा क्षेत्रमा चम्कँदै सशक्त सर्जकको रूपमा स्थापित हुँदै गएका छन् । आफुलाई “भुइँ सर्जक” भन्न रुचाउने कार्कीले हालसम्म झण्डै दुई दर्जन देउडा गीत तथा सिर्जनाहरू बजारमा सार्वजनिक गरि लोकप्रियता हासिल गरेका हुन ।
साधारण र सरल जीवनशैलीका धनी कार्की अध्ययन र लेखनमा पनि विशेष रुचि राख्छन् । उनी देउडा गजल, गजल, मुक्तक, लघुकथा, त्रिशूल पंचाङ्क षडऋतु र शीत लेखन विधामा पनि निरन्तर क्रियाशील छन् । गाउँ–बस्तीका जनजीवन, पीडा, वेदना र वास्तविक कथालाई भावनात्मक प्रस्तुतीकरणमार्फत शब्दमा उतार्न उनी विशेष दक्ष मानिन्छन् ।
हालै उनले आफ्नै युट्युब च्यानल ANIPAL KARKI (SUPREME) मार्फत “ओठ खोलेर” बोलको देउडा लाइफ गीत सार्वजनिक गरेका छन्, जसमा कर्णालीकी गायिका इब्सल संज्यालले साथ दिएकी छिन् । गीतले एक हप्तामै उल्लेखनीय भ्यूज बटुल्दै लोकप्रियता कमाएको छ । साथै, कार्कीले पाल्पाका प्रतिभाशाली गायक प्रिन्स सुनारलाई पनि ‘दुर दर्पण’ स्टुडियोमार्फत अगाडि ल्याउन सफल भएका छन् ।
सानो उमेरमा द्वन्द्वका कारण बा सँगको बिछोड भोगेका कार्की सहिद परिवार हुन् । बाल्यकालमा देउडा गीत भट्याउँदा उपहास सहनुपरेका उनी आज देउडा सिर्जनाका लागि खोजी गरिने प्रतिभा बनेका छन् ।
“कला, संस्कृति र देउडा मेरो पहिचान र जीवन हो,” भनी उनी भन्छन्, “सफलता मिलोस् वा नमिलोस्, कर्ममा विश्वास गर्छु ।”
उनका चर्चित गीतहरूमा “सक्या नुन बारुला, नसक्या मलामी आउला” र “साहुको रिन तिरिलु पैला नौ, गरि सौ गरि” आदि समावेश छन् । अन्य थुप्रै लोक कलाकारहरूले समेत उनका सिर्जनाहरूलाई स्वर दिँदै लोकप्रियता दिलाइरहेका छन् ।
बाहिरी संस्कृतिको प्रभाव बढ्दै जाँदा देउडाको मौलिकता जोगाउँदै यसलाई डिजिटल माध्यममार्फत नयाँ स्वाद दिने प्रयासमा कार्की निरन्तर लागिरहेका छन् । उनले “Dur Darpan” स्टुडियोसँग सहकार्य गर्दै निकट भविष्यमै दर्जनौं नयाँ सिर्जनाहरू आफ्नै युट्युब च्यानलमार्फत ल्याउने तयारी गरेका छन् ।
अनिपाल कार्की (सुप्रिम) जस्ता प्रतिबद्ध युवा सर्जकहरूको सक्रियताले देउडा संस्कृति अझ समृद्ध र सशक्त बन्दै जाने विश्वास गरिएको छ । देउडा क्षेत्रको उज्ज्वल भविष्यका लागि उनको योगदान उल्लेखनीय रहनेछ।
उनलाई आगामी सिर्जनात्मक यात्राका लागि हार्दिक शुभकामना!
https://www.youtube.com/@Lokdeuda74