कुवा छोएको निहुँमा दलित माथि कुटपिट

काठमाडौं । कुवा छोएको निहुँमा अर्घाखाँचीको मालारानी गाउँपालिका – ४ निगालीटोलका एक दलित युवती माथि कुटपिट भएको छ । स्थानीय डिलाराम रिजालले २२ वर्षीया प्रिति विकलाई मंगलबार निर्घात कुटपिट गरेका हुन् ।

 

कुवामाथि मन्दिर रहेको र दलितले पानी भर्दा र कपडा धुँदा अछूतो हुने भन्दै जातीय विभेदजन्य गाली गलौज गरी कुटपिट गरेका छन् । कुवा फोहोर बनाइदिएको आरोप लगाउँदै सुरुमा गालीगलौज गरेका थिए । त्यसपछि विकले कुवा नछाडेपछि कुटपिट गरेका थिए ।

 

 

रिजालले विकलाई लाठीले ढाडमा हानेका थिए । कुट्दै गर्दा विक चिच्याएर छिमेकीसँग गुहार मागेकी थिइन् ।
छिमेकी आएपछि रिजाल भागेका थिए ।

 

 

कुटपिट गर्ने रिजाललाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएपछि पीडित विकका आफन्तले पक्राउ परेका रिजाललाई छाड्न भनेपछि बुधबार छाडेको छ । प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले अनुसन्धान गर्दै जातीय भेद्भावले कुटपिट गरेको भन्दा कुवामा फोहोर बनाएका कारणले घटना भएको बताए ।

 

 

आफन्तले कुटपिट गरेको भन्दै उजुरी दिएपछि मंगलबार नियन्त्रणमा लिइएको र घाइते विकसहित आफन्तले नियन्त्रणमा रहेका रिजाललाई छाड्न भनेपछि बुधबार छाडिएको उनले बताए । जातीय छुवाछूतको जाहेरी थिएन, कुटपिटको उजुरीमात्रै भएको उनले बताए ।

‘परिवारले जाहेरी  नदिएको हुँदा प्रहरीले  २४ घण्टा भन्दा धेरै समय राख्न नमिल्ने भएकोले छाडिएको हो ।  परिवारले जाहेरी दिएमा रिजाललाई फेरि नियन्त्रण लिन सकिने’ मल्लले बताए । रिजालमाथि हातपात, गाली बेइज्जती तथा अभद्र व्यवहार सम्बन्धी मुद्दामा कारबाही हुनसक्ने उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation