समितिको बैठकमा सांसद कुसारीद्वारा सभापतिमाथि माइक प्रहार

 

नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहलाई माइक र नेमप्लेट प्रहार गरेकी छन् ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार भएको बैठकमा माओवादीकी सांसद कुसारीले नेम प्लेट र माइकले सभापति साहलाई प्रहार गरेकी हुन् ।

 

 

समिति सभापति साहले सांसद कुसारी समिति बैठकमा ढिला गरी आएको र अनुमति बेगर बोल्न थालेको विषय उठाएका थिए । त्यसपछि उनीहरूबीच भनाभन पर्‍यो ।

 

‘उहाँ ढिला आउनुभयो । अनुमतिबिनै बोल्न सुरू गर्नुभयो । माइक फाल्नुभयो । धन्न मतिर आएन, सांसदहरू भएतर्फ गयो । उहाँ अनुगमनमा गएको विषय उठाउन खोज्नुभएको थियो । तर बैठक टुङ्गिन लागेको बेला एकदमै रिसाएर प्रस्तुत हुनुभयो’, सभापति साहले भने, ‘महिला बालबालिका तथा ज्येष्ठ नागरिक भएका अनाथालय, वृद्धाश्रम र बाल सुधार गृहको अनुगमनको विषय थियो ।’

 

सांसद कुसारीले भने समिति सभापति साह सधैं आफै संयोजक भएर अनुगमनमा जाने गरेको र आफ्ना छोरालाई स्वकीय सचिव बनाएर घुम्न लैजाने गरेको तथा अनुगमनमा जाँदा खाली बिल स्वीकृत गराउने गरेको दाबी गरिन् ।

 

अघिल्लो वर्ष बारा, पर्सा लगायतका जिल्लामा अनुगमनमा गएको र अनुगमन सकिएपछि आफूसहित ३ जना सांसद वीरगन्ज गएकाले त्यति बेलादेखि नै सभापतिले आफूलाई भेदभावपूर्ण व्यवहार गरेको उनले बताइन् ।

उनले सभापति साहसँग समितिका अधिकांश सदस्य असन्तुष्ट रहेको दाबी गरिन् ।

 

‘मैले माइक र नेमप्लेटले हानेको हो, लागेन, भनाभन भयो’, कुसारीले भनिन्, ‘बैठकमा भएको भनाभनपछि सभामुखले बोलाउनुभएको छ । अब कि म त्यो समितिमा बस्दिनँ कि सभापति हटाउनुपर्छ ।’

 

उनले महिला सांसदलाई सभापति साहले उपेक्षापूर्ण व्यवहार गर्ने गरेको बताइन् ।

 

 

‘हरेक अनुगमनमा संयोजक आफै भएर जानुहुन्छ । पिएसएओदेखि सबै हुन्छन् । इस्युमा बैठक राख्नुहुन्न’, कुसारीले भनिन्, ‘बाहिर एनजिओ र आइएनजिओ मिलाएर घुम्न जाने गर्नुहुन्छ ।’

आफूले विगतमा पनि सभामुखलाई सभापति साहको व्यवहारबारे जानकारी गराएको कुसारीले बताइन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation