
(कविता)
नेताहरू भन्छन् – ‘गणतन्त्र आइसक्यो’!
हो, उनीहरूका भाषणमा आइसक्यो,
भत्तामा आइसक्यो,
गाडी, सुरक्षा, सत्तामा आइसक्यो।
तर जनता सोध्छन् –
गणतन्त्र कहाँ छ?
गणतन्त्र आइसक्यो भने,
विदेश किन जान्छ युवा?
जसले देश बनाउने सपना देख्नुपर्ने,
ऊ नै किन अरूको देश बनाउने मजदुर बन्न बाध्य?
गणतन्त्र आइसक्यो भने,
किन डराउँछ सत्य बोल्ने बुद्धिजीवी?
किन सीमित गरिन्छ विचारको स्वतन्त्रता?
किन आरोप लाग्छ, राष्ट्रघाती भन्ने?
गणतन्त्र आइसक्यो भने,
किन महिला अझै बलात्कार, घरेलु हिंसा र अशक्ततामा बाँचिरहेकी छन्?
किन कानूनले होइन, परम्पराले शासन गर्छ?
गणतन्त्र आइसक्यो भने,
किन दलित अझै बाटो हिँड्दा लात खाँदछन्?
किन मन्दिर मात्र होइन, समाज पनि बन्द छ?
गणतन्त्र आइसक्यो भने,
किन किसानको अन्न सड्छ, तर नेताको खल्ती फुल्छ?
गणतन्त्र आइसक्यो भने,
किन व्यापारी कर तिर्छ,
तर दलाल तिर टाउको झुकाउँछ?
गणतन्त्र आइसक्यो भने,
किन संविधान किताबमा छ, तर न्याय कहाँ छ?
नेताहरूको लागि त गणतन्त्र
सत्ता पुग्ने सिँढी बन्यो,
तर जनताको लागि त्यो सिँढी अझै बनिसकेको छैन।
त्यसैले, नेताहरूले भन्न सक्छन् – ‘गणतन्त्र आइसक्यो’
<तर जनता भन्छन् – ‘हाम्रोमा त अझै आइपुगेको छैन !’