्नेपाल भारत सिमा बन्द
 ९ कार्तिक २०७७, आईतवार

्नेपाल भारत सिमा बन्द

   ६ चैत्र २०७६, बिहीबार १०:११ प्रकाशित

कोहलपुर । प्रदेश नं ५ को नेपाल–भारत सीमा नाका जोडिएको जमुनाह–रुपैडिहा नाकामा विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि स्वास्थ्य जाँचविना नेपाल–भारत प्रवेशमा रोक लगाइएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै नेपाल–भारत दुवै देशका अधिकारीले सीमा क्षेत्रमा सुरक्षा र स्वास्थ्य जाँचलाई अझ कडा बनाइने निष्कर्ष निकालेका छन् । रुपैडिहा नाकाको अवलोकन गर्न आएका भारत उत्तरप्रदेशको बहराइच जिल्लाका अधिकारीहरू मङ्गलबार मध्याह्न एक्कासि नेपालगञ्ज आएका थिए ।

नेपालगञ्ज आइपुगेका भारत बहराइच जिल्लाका डिएम शम्भु कुमार र प्रहरी उपरीक्षक विपीन कुमारले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र प्रहरी उपरीक्षक वीरबहादुर ओलीलगायतसँग अनौपचारिक छलफल गरी सीमा नाकामा कडाइ गरिने निष्कर्ष निकालेका हुन् । हालसम्म भारतमा कोरोना भाइरसका कारण तीन जनाको मृत्यु भइसकेको जनाइएको छ ।

नेपालगञ्जदेखि १९० किमी टाढा लखनउमा समेत कोरोनाको सङ्क्रमण देखिएपछि नेपालगञ्ज नाकालाई जोखिमपूर्ण मानिएको छ । नेपालगञ्जदेखि दैनिक उपभोग्य सामान खरिदका लागि रुपैडिहा जाने वा अत्यावश्यक कामका लागि नेपाल आउने प्रत्येक नागरिकको स्वास्थ्य जाँच अनिवार्य गरिनेछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओलीका अनुसार नेपालबाट जानेलाई भारतमा र भारतबाट आउनेलाई नेपालमा अनिवार्य स्वास्थ्य जाँच गरिने छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि दुवै देशबीच गहन छलफल भएको भन्दै प्रहरी उपरीक्षक ओलीले भने, “यसअघि नेपालतर्फ राखिएको सहायता कक्षभन्दा पर दशगजा नजिकबाटै नेपाल प्रवेश गर्ने जो कोहीलाई लाइन लगाएर स्वास्थ्य जाँच गरिनेछ, दुवै देशबीच भएको अनौपचारिक छलफलअनुसार भारतबाट नेपाल आउनेलाई नेपालले र नेपालबाट भारत जानेलाई भारतले एक(एक गरी कडाइका साथ स्वास्थ्य जाँच गरिनेछ । यो विषयमा दुई देशबीच प्रभावकारी समन्वय गरी अघि बढ्ने सहमति भएको छ ।”

बैठकपछि प्रजिअ खड्का र प्रहरी उपरीक्षक ओली जमुनाहा नाकामा गई स्वास्थ्य जाँचमा कसैलाई नछुटाउन र सबैलाई अनिवार्य लाइन लगाएर स्वास्थ्य जाँच गर्न निर्देशन दिएका थिए । बैठकमा नेपाल–भारत मैत्रीपूर्ण बस बन्द गर्ने सहमति भएको छ । योसँगै नेपालगञ्ज नाका भएर नेपालगञ्ज–दिल्ली, नेपालगञ्ज–हिमाञ्चल, दाङ–दिल्ली सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारी साधन जान र आउन नपाउने भएका छन् । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै यसअघि नै नेपालगञ्जका अधिकारीले अत्यावश्यक कामबाहेक भारत नजान आग्रह गरेका थिए । कोरोनाबाट सुरक्षित हुनुपर्ने धारणासहित अनौपचारिक बैठक टुङ्गिएको थियो ।

मापदण्डविपरीत आइसोलेसन
भारतमा फैलिएको कोरोनाको सङ्क्रमण नेपालगञ्जमा सजिलै भित्रिन सक्ने सङ्केत देखिएको छ तर यसको रोकथाम तथा सचेतनाका लागि बाँकेको नेपालगञ्जस्थित कुनै पनि अस्पतालमा अहिलेसम्म कुनै तयारी गरिएको छैन ।

कोरोना भाइरस सङ्क्रमित फेला परेको खण्डमा राख्नका लागि पाँच शय्याको आइसोलेसन वार्ड स्थापना गरिए पनि जाँच र उपचारका लागि कुनै सुविधा नभएको अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले बताए ।

“बाँकेमा औपचारिकताका लागि मात्र आइसोलेसन वार्ड स्थापना गरिएको छ, आइसोलेसन वार्डमा हुनुपर्ने कुनै पनि सुविधा छैन”, उनले भने, “शङ्कास्पद व्यक्तिको ‘थ्रोड स्वाब’ लिन सक्ने अवस्था समेत छैन ।” उनले कोरोना भाइरसका शङ्कास्पद बिरामीको थ्रोड स्वाब सङ्कलन गर्ने ज्ञानसमेत चिकित्सक र प्राविधिकलाई नभएको बताए । “बिरामीको थ्रोड स्वाब टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाउनुपर्ने प्रावधान छ”, उनले भने, “स्वाब पठाउनका लागि अस्पतालसँग साधन र दक्ष प्राविधिक छैनन् ।”

कोरोना भाइरस सङ्क्रमित फेला परेपछि उनीहरूको स्वाथ्य जाँच र उपचारका लागि उक्त आइसोलेसनमा पर्याप्त सुविधा नभएको अस्पतालका डा थापाले बताए । औपचारिकताका लागि मात्र आइसोलेसन वार्ड स्थापना गरिएको उहाँको भनाइ छ । आइसोलेसन वार्डमा मापदण्डअनुसार हुनुपर्ने कुनै पनि सुविधा नभएको उनले बताए ।

बिरामीको जाँच गर्ने बेला स्वास्थ्यकर्मी र चिकित्सकले प्रयोग गर्ने ‘पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट’समेत अभाव देखिएको उनले बताए । उनले भने, “रेस्क्यु गर्ने साधन पनि अस्पतालसँग छैन ।” उहाँका अनुसार बिरामी जाँच गर्ने बेला लगाउने ऐन ९५ मास्क पनि भेरी अस्पतालसँग छैन । यसले बाँकेमा यस्ता सङ्क्रमित भेटिएको अवस्थामा उनीहरूको अवस्था जोखिममा रहने निश्चित छ ।

सरकारले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार आइसोलेसन स्थापना गर्ने गरेको छ । यहाँ अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै सुविधा व्यवस्था गरिनुपर्ने प्रावधान छ । मापदण्डानुसार प्रत्येक आइसोलेसनमा स्पिकर जडान गर्नुका साथै तीन वटा वासिङ मेशिन, तौलिया, चप्पल, साबुन, मञ्जन, ब्रस, मास्क, औषधिलगायत दैनिक उपभोग्य सामग्री प्रत्येक श्ययामा व्यवस्थापन गरिनुपर्छ । अझ सङ्क्रमित बिरामीले प्रयोग गर्ने शौचालयसमेत अलग्गै हुनुपर्छ तर भेरी अस्पतालमा शौचालयको अवस्था दयनीय छ ।

एउटा कोठामा कम्तीमा एक मिटरको फरकमा दुईदेखि तीन वटा श्यया रहने गरी कोठाको व्यवस्थापन गरिनुपर्ने प्रावधान छ । शौचालय मर्मत, तातोपानी, खानका लागि शुद्ध पानी, कोठामा इन्टरकम टेलिफोन आवश्यक हुने मापदण्डमा उल्लेख छ । भेरी अस्पतालमा रहेका आइसोलेसन वार्डमा यी सबै मापदण्ड पूरा हुन सकेका छैनन् ।

“कोरोना भाइरस लागेका बिरामी वा शङ्कास्पद व्यक्ति समक्ष जान सक्ने कुरै भएन”, उनले भने, “रेस्क्यु गर्ने साधन अस्पतालसँग छैन, बिरामी जाँच गर्ने बेला लगाउने एन ९५ मास्क भेरी अस्पतालसँग छैन ।” शङ्कास्पद कोरोना भाइरसका सङ्क्रमितलाई राख्नका लागि छुट्टै भवनमा आइसोलेसन वार्ड हुनुपर्ने भन्दै उनले जनरल वार्ड भएको भवनमै काम चलाउन आइसोलेसन वार्ड स्थापना गरिएको बताए ।

नेपाल–भारत सीमा जोडिएको उत्तर प्रदेशमा कोरोना भाइरसका सङ्क्रमित फेला परेपछि यहाँ कोरोना भाइरसको जोखिम बढेको हो । नेपालगञ्ज नाका भएर दैनिक सरदर पाँच हजार मानिस नेपाल–भारत ओहोरदोहोर हुँदै आएको छ । खुला सिमानाका कारण सहजै आवतजावत हुने भएकाले भारतबाट कोरोना भाइरस नेपालगञ्जमा भित्रिन सक्ने सम्भावना प्रबल रहेको अस्पतालका ग्याष्ट्रोलोजिष्ट फिजिसियन डा सङ्केत रिसालले बताए ।

जनचेतनाका लागि माइकिङ
बाँकेको नरैनापुर गाउँपालिकामा थप चार स्थानमा हेल्थ डेस्क स्थापना गरिने भएको छ । यसअघि एक स्थानमा हेल्थ डेस्क स्थापना गरिएको थियो । विश्वव्यापी बनेको कोरोना भाइरसको सङ्क्रमण रोक्न भारत आवतजावत हुने थप चार स्थानमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बसेको बैठकमा रोशनपुर्वा, घोरदौरिया, भगवानपुर र सोनवर्षामा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको स्वास्थ्य शाखा प्रमुख मोइन खाँले जानकारी दिए । सुइया नाकामा भने यसअघि नै हेल्थ हेस्क स्थापना गरिएको थियो ।

सीमानाका जोडिएको भारतको उत्तर प्रदेशमा कोरोना सङ्क्रमित बिरामी भेटिएकाले खुला सीमाका कारण बढेको जोखिमलाई मध्यनजर गर्दै नरैनापुरबाट भारततर्फ बढी आवतजावत हुने स्थानमा अनिवार्य स्वास्थ्य परीक्षण गर्ने गरी हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष इस्तिायक अहमद शाहले बताए ।

“सकेसम्म अब सीमा वारपार नगर्न हामी सबै नागरिकलाई आग्रह गर्दछौँ, अत्यावश्यक कामबाहेक अन्य समयमा धेरै हिँडडुल नगर्न हाम्रो आग्रह छ”, अध्यक्ष शाहले भने, “पूर्व सावधानीस्वरूप नरैनापुरका विभिन्न क्षेत्रबाट भारत आवतजावत गर्ने नागरिकको स्वास्थ्य परीक्षण अनिवार्यरूपमा गर्ने व्यवस्था मिलाउँछौँ ।”

प्रत्येक सहायता कक्षमा एक सिफ्टमा दुई जना स्वास्थ्यकर्मी रहने गरी प्रहरीको सहयोग लिएर सहायता कक्ष सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख खाँले बताए । त्यस्तै सर्वसाधारणलाई कोरोना भाइरसका लक्षण र यसको सङ्क्रमण हुन नदिन अपनाउनुपर्ने सजगताका बारेमा जानकारी दिन माइकिङ गर्ने निर्णय भएको छ ।

माइकिङ गर्दै घरघरमा पर्चा पम्प्लेट पनि वितरण गरेर नागरिकलाई स्वास्थ्य सजगता अपनाउन आग्रह गरिने स्वास्थ्य शाखाका उपप्रमुख नागेन्द्रकुमार शाहले जानकारी दिए ।

स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत अङ्गतबहादुर शाहीले खुला सीमाका कारण नरैनापुरमा पनि कोरोना सङ्क्रमणको उच्च जोखिम रहेको भन्दै भारत आवतजावतमै कडाइ गर्न जरुरी रहेको बताए ।

+ posts