परिवर्तनको कसीमा संस्कार र संस्कृति
 ५ कार्तिक २०७७, बुधबार

परिवर्तनको कसीमा संस्कार र संस्कृति

   १५ भाद्र २०७७, सोमबार ११:१६ प्रकाशित

ज्ञामुराम न्याेपाने ( उद्याेग वाणिज्यसंघ प्युठान पुर्व अध्यक्ष )
हामीले भन्छौ, “हाम्रो पुरानो संकृति जोगाउनु पर्छ। पुर्खाहरूले अपनाएको संस्कारलाई जस्ताको तस्तै बचाउनु पर्छ।” यसो सुन्दा, कुरा ठिकै जस्तो लाग्छ।तर समाज विकासको क्रममा हरेक चीज परिवर्तनको गतिमा रहेका हुन्छ्न। जस्तै केही दसक अगाडि प्राण गैसकेको मान्छे घाट लाग्यो भने त्यो नराम्रो मानिन्थ्यो। सास छदै घाट पुर्याउनु राम्रो मानिन्थ्यो। कतिपय मानिसलाई घाटमा लगेर मृत्युको पर्खाइमा दुई तीन दिन पनि बिताउनु पर्थो। केही मान्छे घाट लगेर पनि नमरेको कारण घर फर्काएको घटना पनि सुन्न पाइन्छ। लसुन प्याज खायो भने बाहुन को जात जान्थ्यो। जैसीले छोएको बाहुनले खान हुन्थेन। म आफ्नै घरमा अछुत थिय। हाम्रो बोईहरु दुई वटी हुनुहुन्थ्यो, एउटी बाहुनी अर्की जैसिनी। जैसिनि पट्टिकोले छोएको बाहुनी पट्टीकोले खान नहुने नियम थियो। आफ्नै सन्तानले छोएको कुरा जातीय कारणले हाम्रो हजुर बुवाले कहिल्यै खानु भयन।अझ पुरानो कुरा श्रीमान मरेपछि श्रीमतीलाई संगै स्वर्ग पठाउने अन्धविश्वासमा हजारौं निर्दोष महिलाहरु लाई ज्यूँदै जलाइयो। भनिन्छ हिन्दू धर्मको विश्लेषकहरुको गलत निर्देशनको कारण सती प्रथामा नेपाल र भारतका झण्डै नौलाख महिला हरुलाई ज्यूँदै जलाइयो। होटेलमा पकाएको खायो भने जात जान्थ्यो। मान्छे मरेपछि परिवारले सेतो कपडा धारण गरेर एक दुई वर्ष दुःख बोक्नु पर्थ्यो। एउटै श्रीमती विहा गर्ने लाई नामर्द भनिन्थ्यो। यस्ता अनेकन पुरातन संस्कारहरु परिवर्तनको नियम अनुसार बदलिँदै जान्छन्। कुनैबेला जातपात र भातपानी मुद्दा अदालतको मुख्य विषय थिय। आजकल ती कुरा किंवदन्ती बने। संस्कार मात्र होइन हरेक बस्तु निरन्तर परिवर्तनको गतिमा हुन्छ्। हरेक संस्कार चालचलन सभ्यता ढोगभेट खानपान रीतिरिवाज पनि समाजको विकास संगै परिवर्तन भै रहन्छन्। पुर्खौली संस्कार जस्ताको तस्तै बचाउनु पर्छ भनेर हामीले व्यर्थ जिद्दी गर्छौं, यसरी परिवर्तनको नियम लाई हामी अस्वीकार गर्न पुग्छौं।
देश, समाज र राजनैतिक आन्दोलनमा लागेका कतिपय मानिसको मृत्युमा राष्ट्रिय वा सम्बन्धित राजनैतिक दलको झण्डा ओढाएर सम्मान व्यक्त गर्ने गरिन्छ। स्मृति सभा,श्रद्धाञ्जली सभहरूको आयोजना गरिन्छ। स्वर्ग नर्ग पर्ती अविश्वास गर्दै काजक्रिया गरिँदैन। नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइराला ले आफ्नो पिताको काजक्रिया गरेका थिएनन।उनी केही मात्रामा भौतिकवादी थिय। कम्युनिस्ट पार्टीका कतिपय कार्यकर्ताहरुले पनि काजक्रिया नगरेको पाईन्छ। दानपुण्य भन्दा सामाजिक सेवा, वा सानो तिनो आक्षकोष खडा गर्छन्। राजनैतिक दुरासयको कारण कतिपय अवस्थामा सांस्कृतिक परिवर्तनको घनघोर विरोध गरेको पनि अनुभूति हुन्छ। जुन जहाँ बाट गरे पनि सकारात्मक परिवर्तन लाई हामीले आत्मसाथ गर्दा राम्रो हुन्छ। पुरानो संस्कार हुबहु कार्यान्वयन गर्न असम्भव प्राय छ।
अन्तमा: हरेक संस्कृति पुरानै स्थितिमा चल्न सक्दैन, त्यसमा निरन्तर बदलाव आइरहन्छ। पुरातन विचार चिन्तन लाई चिर्दै बढी बैज्ञानिक, तार्किक र औचित्यपूर्ण बाटो अंगाल्दै संस्कार संस्कृति पनि अनवरत बदली रहन्छ। परिवर्तनको विश्वव्यापी नियम अनुसार नै।

+ posts