आवाज पोष्ट
असोज २४ प्युठान
विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राथमिक उपचार, हाम्रो सरोकार भन्ने नारालाई आत्मसाथ गर्दै योगदान राष्ट्रका लागि फाउण्डेसन जिल्ला कार्यसमिति प्युठानको आयोजनामा रक्तसञ्चार सेवा केन्द्र विजुवारमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
प्राथमिक उपचार, हाम्रो सरोकार भन्ने नारालाई आत्मसाथ गर्दै योगदान राष्ट्रका लागि फाउण्डेसन जिल्ला कार्यसमिति प्युठानको आयोजनामा रक्तसञ्चार सेवा केन्द्र विजुवारमा खुल्ला रक्तदान कार्यक्रम गरिएको हो ।
नेपालमै भर्खरै केन्द्र स्तरमा दर्ता भएको फाउण्डेसन गत शनिवार प्युठानमा गठन भएको थियो । फाउण्डेसनले जिल्लामै केही सामाजिक काम गर्नुपर्छ भन्ने उदेश्यले रक्तदान कार्यक्रम गरेको फाउण्डेसनका जिल्ला अध्यक्ष सुनीता केसीले बताउनुभयो । रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन नदिनुका साथै अस्पतालमा भर्ना भएका बिरामीलाई सहज रुपमा रगत मिलोस भन्नका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको उहाँको भनाई छ । मेघा फर्निचर उद्योग विजुवारका सञ्चालक सुर्यचन्द्र खनालको सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।
रक्तदान कार्यक्रममा कार्यसमितिका पदाधिकारी, सदस्य संगै अन्य गरी ८ जना व्यक्तिले रक्तदान गर्नुभएको छ । रक्तदान गर्नेमा प्युठान नगरपालिका वडा नं ६ माझकोट स्थायी ठेगाना भई संस्थाका उपाध्यक्ष मधुसुदन पोख्रेल, झिमरुक गाउँपालिका वडा नं ४ बाङ्गेमरोटका राजेश जिसी, प्युठान नगरपालिका वडा नं ४ जुम्रीका सन्देश घर्तीमगर, प्युठान नगरपालिका वडा नं ९ मरन्ठानाका रोशन केसी, प्युठान नगरपालिका वडा नं २ का रिविक धामी, विश्वास योगी, अविशेक श्रेष्ठ र शिवबहादुर राउत रहनुभएको छ ।
नेपाल रेडक्रस सोसाईटी प्युठान जिल्ला शाखाले रगतको सहज पहुँचका लागि ०६८ सालदेखी आकस्मीक रक्तसेवा र ०७१ सालदेखी रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गरेको रेडक्रस जिल्ला शाखा प्युठानका सभापती गुमानराज पुलामीले बताउनुभयो । मानवीय सेवाको रुपमा यो संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता सामाजिक काममा निरन्तरता दिन उहाँले आग्रह गर्नुभयो । रगत किनेर, मागेर पाईदैन, सभापती पुलामीले भन्नुभयो,–‘ कसैले दान गरेपछी अर्को व्यक्तिले रगत सजिलै पाउछ ।’ हामीले दिएको एक पिन रगतले अरु कसैको ज्यान बचाउन सकिने हुदाँ १८ वर्षदेखी ६० वर्ष उमेरसमुहका जो कोही व्यक्तिलाई रक्तदान गर्न समेत उहाँले आग्रह गर्नुभएको छ । विभिन्न संस्थाहरुले समय ÷समयमा रक्तदान कार्यक्रम गरिदिदाँ सेवा केन्द्र सञ्चालन गर्न सहयोग भएको उहाँको भनाई छ ।