सरकारको ध्यान : युवा केन्द्रित रोजगारमुखी कार्यक्रमहरु सन्चालन हुनुपर्दछ
 १६ मंसिर २०७७, मंगलवार

सरकारको ध्यान : युवा केन्द्रित रोजगारमुखी कार्यक्रमहरु सन्चालन हुनुपर्दछ

   ७ कार्तिक २०७७, शुक्रबार ०६:०८ प्रकाशित

अहिले मुलुकले कोरोनाको कहर र बिपत्तिको सामना गरिराखेको छ।कोभिड-१९ को कारणले बन्दहुन गएका ब्यापार-ब्यवसाय र यसको फलस्वरुप अर्थ तन्त्रमा निकै नकारात्मक असर पर्न गएको छ।यसबाट  मुख्य रुपमा अनौपचारिक (ज्यालादारी तथा मजदूरी)क्षेत्रमा स्वदेश तथा बैदेशिक  रोजगारीमा काम गरि राखेका ठूलो संख्याका युवाहरु बढी प्रभावित भएका छन। यस्तो अवस्थामा तत्काल सहयोग पुग्ने र त्यसको दिगोपना समेत हुनेगरी देश भित्र रोजगारीका अवसरहरु श्रृजना गरिनु आवश्यक छ।

यतिबेला बेरोजगार र कामको खोजीमा रहेका युवाहरुलाई सीपमूलक तालिम दिई  स्वरोजगार, रोजगार श्रृजना, ब्यवसाय बिस्तार, उत्पादन बृद्धि र सेवा प्रवाह गर्दै आय आर्जन र देश निर्माण प्रक्रियामा सक्रिय सहभागिता गराउँदै समाज र देशलाई आर्थिक,सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न तत्काल र दीर्घकालीन रुपमा लाग्नु पर्ने देखिन्छ ।

यस अवधिमा भारत तथा अन्य मुलुकको रोजगारी बाट फर्केका युवाहरुको ठुलो समूह थपिएको छ। नेपालमा सीप बिकास, रोजगार श्रृजना र गरिबी न्यूनीकरणका लागि भनेर बिभिन्न परियोजनाहरु।कार्यक्रमहरु संचालनमा रहेकाछन, जसमा राज्यको ठुलो बजेट बिनियोजित छ। यस्ता कार्यक्रमहरु बिभिन्न मन्त्रालय, बिभाग एबं परियोजना ईकाईहरु मार्फत संचालन गरिएका छन। यस्तै तीनै तहका सरकारहरुले समेत सीप बिकास तालिम, शसक्तीकरण, रोजगार, गरिबी निवारण लगायत शिर्षकहरुमा बजेट छुट्याएको छ। वास्तवमा यी कार्यक्रमहरुको उद्देश्य समान भए पनि संस्थागत तालमेलको अभावमा छरिएर रहेको बजेट को प्रभावकारी रुपमा उपयोगहुनका लागि एकीकृत रुपमा कार्यक्रम कार्यान्वयन गर्न सकिएमा अपेक्षित उपलब्धिहरु सहजै हासिल गर्न सकिन्छ। उदाहरणको लागि संघीय १२ वटा बिभिन्न मन्त्रालयहरुले सीप बिकास तथा ब्यावसायिक तालिम कार्यक्रमहरु संचालन गरि राखेका छन। मुख्य रुपमा ठुलो संख्यामा तालिम तथा रोजगारका लागि  युवा स्व-रोजगार कार्यक्रम, घरेलु तथा साना उद्योग बिकास समिति, धरेलु बिभाग, प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद र यस अन्तर्गतका परियोजनाहरु, ब्यावसायिक शिक्षा तथा सीप अभिबृद्धि परियोजना, बैदेशिक रोजगार बोर्ड र सीप बिकास तालिम केन्द्रहरु लगायतले संचालन गर्ने तालिम तथा रोजगार कार्यक्रमहरुको आपसी समन्वय रहेको देखिदैन।यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बिनियोजित ठुलो धनराशि बालुवामा पानी हाले जस्तै भएको छ।यसको कार्यान्वयन पक्ष अपारदर्शि, वास्तबिक बिपन्नलाई समेट्न नसकेको, आफन्त,राजनीतिक पहुँचले गर्दा  कार्यक्रमको दिगोपना नरहेको जन गुनासो आएको छ।एक उखान छ “कुनै भोको मान्छेलाई माछा मारेर दिंदा उसले मरेको माछा छंदा सम्म मात्र खान सक्छ भने उक्त ब्यक्तिलाई माछा मार्ने सीप दिन सकेमा जीवनभरी माछा मारेर खान सक्छ”।अहिलेको ढाँचामा संचालित प्रधानमन्त्री रोजगार लगायतका हाम्रा कार्यक्रमहरुले परनिर्भरता बढाउने काम गरेको छ।कार्यक्रमहरुका बारेमा लक्षित समूह सु-सूचित हुन नसक्दा कार्यक्रममा लक्षित समूहको पहुंच पुग्न नसकेको, जन सहभागिता हुन नसकेको, सीप बिकास र रोजगार श्रृजना बीच सामञ्जस्यता गराउन नसकिएको, गुणात्मक भन्दा संख्यात्मक पक्षमा जोड दिईएको, सहभागि दोहरिने गरेका, कार्यक्रमहरु श्रम बजारको माग अनुसार  संचालन गर्न नसकिएका, तालिम तथा रोजगार प्रदायकहरु संग समन्वय हुन नसकिएको,  कमजोर अनुगमन का कारण तालीम पश्चातका सेवाहरु (रोजगार-स्वरोजगारी संयोजन) उपलब्ध गराउन नसकिएको र दिगोपना नरहेको आदि कारणहरुले गर्दा प्रत्येक बर्ष कार्यान्वयन गरिने तालिम कार्यक्रमहरुले अपेक्षित उद्देश्य हांसिल गर्न सकेको छैन।

विश्व महामारी कोबिड-१९ पश्चातको अवस्थाले थप उत्पादनमा ह्रास, बेरोजगारी, भोकमरी र मानसिक पीडाको रुपमा संकट पैदा हुने निश्चित छ।यस्तो अवस्थामा युवा ब्यवस्थापन,श्रम बजारको माग अनुसार सीप बिकास गरी दक्ष जनशक्ति तयार गर्ने, श्रम प्रति सचेत गराउने, श्रम प्रतिको सकारात्मक सोच, बिचार, ब्यवहार, चेतना, संस्कार सम्बन्धी परामर्श दिने, उत्प्रेरणा जगाउने, परिचालन गर्ने, सहभागिता बढाउने र उत्पादन तथा सेवा बिस्तार गर्दै देशको अर्थतन्त्र बलियो बनाई बेरोजगारी र बिपन्नता बाट मुक्ति पाउनु पर्ने देखिन्छ ।

त्यसैले अबका दिनमा युवा लक्षित बजेट बिनियोजन गरी देशका ३ वटै तहका सरकारले गुणस्तरीय सीप बिकास तालिम तथा रोजगार -स्वरोजगारका कार्यक्रमहरु संचालन गर्नु आवश्यक छ।

गुणस्तरीय शिक्षा र रोजगारी जस्ता कार्यक्रमबाट परिवार, गाउं, समुदाय, शिक्षण संस्था,बिश्व बिद्यालय, तथा सरकारी गैर सरकारी र नीजीसंस्थाहरु सम्ममा लैंगिक, जातीय, बर्गीय, राजनीतिक आधारमा गरिने असमान ब्यवहार हटाउन मद्दत पुग्नेछ साथै पारदर्शिता, समानता, बिश्वसनीयता, सन्तुष्टी, शान्ती र समुन्नती श्रृजना भई बिकास निर्माणका कार्यहरुमा “सबैको साथ, सबैको बिकास” गर्ने भावना जागृत गराउन मद्दत पुग्नेछ। यसर्थ, छरिएर रहेका कार्यक्रमहरुलाई एकीकृत रुपमा संचालन गरीसमाजमा शिक्षा, सीप बिकास र रोजगारीका अवसरहरुको श्रृजना बाट समताका साथ सबैलाई समृद्धिका सहयोगी र सारथी बन्न अभिप्रेरित गर्नु आवश्यक छ।

लेखक: राम बहादुर बिश्वकर्मा , नेपाल तालीम तथा रोजगार व्यावसायिक महासंघ लुम्बिनी प्रदेशका सह- सचिब हुनुहुन्छ

+ posts