जन्मदिनको अवसरमा बस्नेत द्वारा घाईते बालिकाको परिवारलाई आर्थिक सहयोग
 ९ माघ २०७७, शुक्रबार

जन्मदिनको अवसरमा बस्नेत द्वारा घाईते बालिकाको परिवारलाई आर्थिक सहयोग

   २३ कार्तिक २०७७, आईतवार १९:०० प्रकाशित

अावाज पाेष्ट
प्युठान, २३ कार्तिक ।
जन्मदिनको अवसरमा घाईते बालिकाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । माण्डवी गाउँपालिका वडा नं २ मर्कावाङ्ग ढाड स्थायी घर भएका र हाल प्युठान नगरपालिका वडा नं ४ जुम्रीमा बस्दै आउनुभएका सामाजिक अभियान्ता हरी बस्नेतले आफ्नो जन्मदिनको अवसरमा माण्डवी गाउँपालिका वडा नं २ मर्कावाङ्ग ढिकावनकी १३ वर्षिय घाईते बालिका कृष्णा घर्तीमगरको परिवारलाई आर्थिक सहयोग गर्नुभएको हो । बस्नेतले आज दिउसो कृष्णाकै घरमा पुगेर उहाँकी आमा बालिका घर्तीमगरलाई नगद रु ५ हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको हो ।
जन्मदिनमा फजुल खर्च गर्नु भन्दा केही सामाजिक काम संगै घाईते बालिकाको उपचारमा सहयोग पुग्ने उदेश्यले आर्थिक सहयोग गरेको बताउनुभयो । बस्नेतले घाईते बालिकाको उपचारमा सहयोगका लागि आर्थिक जुटाउन समेत सुरु गर्ने परिवारसंग प्रतिबद्धता गर्नुभएको छ । आजकै दिन मल्लरानी गाउँपालिका वडा नं ४ खंलगा निवासी ईन्जीनियर अर्जुन श्रेष्ठले पनि आफ्नो जन्मदिनको अवसर पारी बालिकाको उपचारका लागि सहयोग पुग्ने उदेश्यले २ हजार रुपियाँ सहयोग गर्नुभएको छ ।
कृष्णा गत असार ५ गते जंगलमा आमासँग घाँस काट्न गएको बेला भिरबाट लडेर घाईते हुनुभएको हो । दुर्घटनापछि उपचारका लागि भैरहवा पु¥याएपनि आर्थिक अभावले परिवारले बालिकालाई घरमा ल्याएर राखेका छन् । त्यतिबेला करिब ४० हजार जति जुटाएर उपचारका लागि गएका परिवारले १५ दिनसम्म उपचारका लागि कृष्णालाई अस्पतालमा राखे । त्यतिन्जेल करिब ५ लाख रुपियाँ सकियो । डाक्टरले बच्चाको मेरुदण्ड सहित शरिरको सवै हड्डी भाँचिएको बताए । अझै बच्चालाई अस्पतालमै राख्नुपर्ने र थप उपचार आवश्यक पर्ने सल्लाह अस्पतालका डाक्टरले दिए ।तर परिवारले १५ दिनमा ५ लाख खर्च पुगिसकेको भन्दै थप उपचार गराउन आर्थिकले नभ्याउने भन्दै कृष्णालाई घरमा ल्याउने निर्णय गरे । १७ दिनको दिन बच्चालाई घरमा ल्याइयो । घरमा सुताएर राखिराख्दा शरिरका विभिन्न ठाउँमा घाउ भएर थप संक्रमणको जोखिम समेत अहिले बढेको छ । छोरीको उपचारका लागि आफ्नो घरबारी बैंकमा राखी ३ लाख ऋण लिएको घाईते बालिकाको आमा बालिकाले बताउनुभयो ।
बालिका कृष्णाको श्रीमान भारतमा रोजगारीका लागि आउने जाने गर्नुहुन्थ्यो । तर अहिले कोरोनाकै कारण उहाँ घरमै हुनुहुन्छ । आयआर्जनको बाटो बन्द छ । घरमा दुई जना सासु ससुरा दुवै बिरामी हुनुहुन्छ । कृष्णा मुनिका दुई छोरा छन दैनिक गुजारा चलाउनै गाह्रो छ । घरमा बच्चा सुतिरहँदा बालिकाको शरिरमा थप घाउ भएको छ । माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धु्रव पोख्रेलले बालिकाको घाउ सफा गर्नका लागि ड्रेसिङको समान समेत परिवारलाई दिनुभएको छ । त्यस्तै पालिका अध्यक्ष श्रीधर रोकाको पहलमा घाईते बालिकालाई एअर म्याट्रिस बेडको व्यवस्था गरिएको छ ।
आर्थिक अवस्था कमजोर भएर उपचार गराउन नसकि घरमै रहनुभएकी कृष्णाको थप उपचारका लागि अहिले सहयोग जुट्न थालिसकेको छ । गाउँपालिका अध्यक्ष रोकाले उपचारका लागि सहयोग अभियान चलाउनुभएको छ । देश तथा विदेशबाट सहयोग गर्ने दाताहरुले सहयोग गर्ने बचन दिइरहेका छन् । बालिका कृष्णालाई उपचारका लागि भोलि काठमाण्डौ टिचिङ्ग अस्पताल पठाउने तयारीमा रहेको पालिका अध्यक्ष रोकाले बताउनुभयो ।

+ posts