काठमाडौं । पछिल्लो समय घटेका जातीय घटनाहरुप्रति श्रमिक समुदाय मोर्चा नेपालले गम्भीर ध्यानाकर्षण गरेको छ । मोर्चाले आज एक विज्ञप्तिमार्फत ध्यानाकर्षण गरेको हो ।
अध्यक्ष रामलाल सीद्वारा हस्ताक्षरित विज्ञप्तिमा अछाम, सर्लाही र रौतहटमा भएको जातीय विभेदका घटनाहरुको विरोध गरिएको छ । घटनाका दोषीहरुलाई कार्वाही एवं पीडितलाई क्षतिपूर्ति र श्रमिक समुदायमाथिको अपराधिक घटनाहरुको स्थायी समाधानका लागि नेपाल सरकार समक्ष विज्ञप्तिमा जोडदार माग गरिएको छ ।
सोमबार साँफेबगर ९ स्थित बुढाकोट माविमा पुजारी चेतराज भट्टले शिक्षक अभिभावक संघका अध्यक्ष सर्जन परियार लगायत अविभावक र श्रमिक समुदायका विद्यार्थीहरुलाई सरस्वती पूजाको टीका पातमा दिई विभेद गरेका हुन् ।
त्यसैगरी सर्लाहीको बरहथवा ४ का सत्येन्द्र राम चमार र बरहथवा ५ की नेहा रौनियारबिच अन्तरजातीय प्रेम विवाह पश्चात् विवाह दर्ता समेत गरिसकेको अवस्थामा सत्येन्द्र विरुद्ध बालविवाह, लागूऔषध देखि मानव बेचविखन सम्मको मुद्दा लगाई गृहमन्त्री रमेश लेखक एवं प्रहरी प्रमुखकै निर्देशनमा फसाउने षड्यन्त्र गरिएको समाचार नयाँ पत्रिकामा प्रकाशित भएको छ ।
त्यसैगरी रौतहटको वृन्दावन नगरपालिका कार्यपालिका सदस्य राजेश पासवानमाथि २०७९ को छठ पर्वमा स्थानीय पसिन्द्र महतो लगायतले गरेको जातीय विभेद तथा छुवाछूत विरुद्ध मुद्दा हालेको भन्दै पुनः २०८१ मंसीर १९ गतेका दिन वृन्दावन स्थित बहुअरी गाउँमा पोखरीको विवाद सृजना गरी राजेश माथि आक्रमण गरी उल्टै राजेशमाथि नै झुट्टा मुद्दा दर्ता गरिएको कुरा सामाजिक संजालमा भाइरल भएको छ ।
विज्ञप्तिको पूर्ण पाठ :
हालै देशैभरि घटेका जातीय विभेद तथा छुवाछूतका घटनाहरुप्रति हाम्रो मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ ।
१) अछाम जिल्लाको साँफेबगर नगरपालिका-९ बुढाकोट माविमा यही २०८१ माघ २१ गते विद्यालयमा आयोजित सरस्वती पूजामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सर्जन परियार लगायतका अविभावकहरु तथा विद्यालयमा अध्ययनरत श्रमिक समुदायका विद्यार्थीहरु माथि पुजारी चेतराज भट्ट लगायतले गरेको जातीय भेदभाव तथा छुवाछूतको अपराधिक घटना निन्दनीय छ ।
२) सर्लाही जिल्लाको बरहथवा नगरपालिका-४ सत्येन्द्र राम चमार) र बरहथवा ५ की नेहा रौनियार बिच अन्तरजातीय प्रेम विवाह पश्चात् कानूनतः विवाह दर्ता समेत गरिसकेको अवस्थामा अझ सम्मानित सर्वोच्च अदालतलाई चुनौती दिदै सत्येन्द्र विरुद्ध बालविवाह लागूऔषध देखि मानव बेचविखन सम्मको मुद्दामा फसाउने दुष्प्रयास गरिएको छ। गृहमन्त्री रमेश लेखक एवं प्रहरी प्रमुख कै निर्देशनमा प्रहरी शक्ति को चरम दुरुपयोग भएको राष्ट्रिय मानवअधिकार आयोगको प्रारम्भिक छानविनको निष्कर्ष रहेको मिति २०८१ माघ २२ गतेको नयाँ पत्रिकामा कभर पेजमा समाचार प्रकाशित समेत भएको छ ।
३) रौतहट जिल्लाको वृन्दावन नगरपालिका कार्यपालिका सदस्य राजेश पासवानमाथि २०७९ को छठ पर्वमा स्थानीय पसिन्द्र महतो लगायतले गरेको जातीय विभेद तथा छुवाछूत विरुद्ध मुद्दा हालेको भन्दै पुनः २०८१ मंसीर १९ गतेका दिन वृन्दावन स्थित परवानीपुर ५ बहुअरी गाउँमा पोखरीको विवाद सृजना गरी राजेश माथि आक्रमण गरिएको अझै उल्टै राजेशमाथि नै झुट्टा मुद्दा दर्ता गरिएको छ । उनको झुट्टा मुद्दाको वास्तविकता अहिले सामाजिक संजालमा भाइरल भएको देखिन्छ ।
उपरोक्त तीनवटा घटनाहरु प्रतिनिधिमूलक घटनाहरु मात्र हुन। नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भए यता यस्ता अपराधिक घटनाहरु निरन्तर एकपछि अर्को घटिरहेका छन् । रुकुम पश्चिममा ६ जना निहत्था युवाहरुको हत्या, रुपा सुनार, दिपा नेपाली, करुणा बिक, अंगिरा पासी, सम्झना बिक., सिराहा लहान का बहालवाला अध्यक्षले आफ्नो आमाको पितृ भोजमा श्रमिक समुदायमाथि गरिएको खुलमखुल्ला भेदभावका घटनाहरु रहेका छन् । हाम्रो मोर्चा यावत घटनाहरुको घोर निन्दा एवं भत्सर्ना गर्दछ । संघीय संसदको प्रमुख दल, संयुक्त सरकारको एक प्रमुख घटक दल नेपाली काँग्रेसका नेता एवं नेपाल सरकारको बहालवाला गृहमन्त्री रमेश लेखक के संरक्षण एवं सक्रियतामा यसप्रकारको घटना घटनाइनु अत्यन्तै निन्दनीय एवं दुःखद परिघटना हो । रक्षक नै भक्षक भएपछि पीडितहरुले कसको आशा गर्ने ? यस घटनाबाट थप प्रमाणित हुन्छ कि नेपाल राज्य अझै उत्पीडित जनता विशेषगरि श्रमिक समुदाय अनुकूल भैसकेको छैन । नेपालको संविधान, जातीय भेदभाव र छुवाछूत (कसुर तथा सजाय) ऐन २०६८ तथा विद्यमान ऐन कानून अनुसार उक्त घटनाका दोषीहरुलाई कार्वाही गर्न एवं पीडितलाई क्षतिपूर्ति दिन र श्रमिक समुदायमाथिको यस्ता अपराधिक घटनाहरुको स्थायी समाधानका लागि विशेष नीति तथा कार्यक्रम घोषणा गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं । साथै, आजको यो दलाल पुँजीवादी संसदीय व्यवस्था को विकल्पमा न्यायपूर्ण र समतामूलक राज्यप्रणाली अर्थात नेपाली विशेषताको समाजवाद प्राप्तिको मार्गमा अघि बढ्न हामी सरोकारवाला सबैमा हार्दिक अपिल गर्दछौं । धन्यवाद !
२०८१ माघ २३ अध्यक्ष रामलाल सी