पाल्पा । मंसिर ४ गते हुने भनिएको संघ र प्रदेशको चुनावलाई खारेज गर्ने अभियान नेपाल कम्युनिस्ट पार्टी, पाल्पाले आज पाल्पाको विभिन्न स्थानमा उद्घाटन गरेको छ । पाल्पाको रामपुर, तिनाउ, रिब्दिकोट लगायत स्थानमा अभियानको उद्घाटन गरिएको छ ।
- जिल्लाको विभिन्न स्थानमा सञ्चालन हुने चुनाव खारेज अभियानलाई जिल्ला सेक्रेटरी मीन ब आले, जिल्ला सचिवालय सदस्यहरु निशान बिक, आकाश थापा, जिल्ला सदस्यहरु लिला सारु, नारायण केसी, राजिव भट्टराई लगायतले नेतृत्व गर्ने बताइएको छ । अभियान पर्चा वितरण, कोणसभा, भेटघाट, अनुरोध, छलफल सहित शान्तिपूर्ण तरिकाले सञ्चालन हुने कुरा सेक्रेटरी आलेले बताए ।
तिनाउको कार्यक्रमका प्रमुख अतिथि नेकपा, पाल्पाका सेक्रेटरी मीन बहादुर आलेले दलाल पुँजीवादी संसदीय व्यवस्थाको चुनावमा सहभागी नहुनका निम्ति सबैलाई आग्रह गरे ।
कार्यक्रमका अतिथि नेकपा, पाल्पा जिल्ला सचिवालय सदस्य निशान बिकले संसदीय सत्ताको चुनावले देश र जनताको मुक्ति नहुने भन्दै कोहि उम्मेद्वारलाई भोट नदिनका निम्ति आग्रह गरे । पाल्पा जिल्ला सल्लाहकार टोपबहादुर बिकले राष्ट्रघाती दलालहरुलाई भोट दिनु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु हो भने ।
विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी, आहुतिले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ॠषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ४ गते गर्ने भनिएको संघ र प्रदेशको निर्वाचन संयुक्त रुपमा बहिष्कार/खारेज गर्ने निर्णय गरेको छ ।
संसदीय चुनाव एवम् विद्यमान व्यवस्थाले देश र जनताको मुक्ति नहुने भन्दै संसदीय व्यवस्था नै खारेज गरेर वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने निष्कर्ष सहित यी पार्टीहरुले संयुक्त रुपमा संघर्ष गर्दै आइरहेका छन् ।