आहुतिको पार्टीद्वारा समानान्तर सत्ताको खाका पारित

काठमाडौं । आहुतिले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले समानान्तर सत्ताको खाका पारित गरेको छ । काठमाडौंमा पुष १९ गते सुरु भएर २१ गते सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको पहिलो बैठकले उक्त खाका पारित गरेको हो ।

बिहीबार महासचिव आहुतिद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत बैठकको निर्णय सार्वजनिक गरिएको छ । बैठकले आर्थिक, राजनीतिक र साँस्कृतिक खाका, सांगठनिक जिम्मेवारी र भौगोलिक क्षेत्र लगायत व्युरो तय गरेको बारेमा पनि विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

पिरामिड आकारको संगठन प्रणालीको स्थानमा क्रमश प्रत्यक्ष जनवादमा आधारित संगठनात्मक प्रणालीको अभ्यास गर्दै जाने बताइएको छ । छरिएर रहेका क्रान्तिकारी कम्युनिष्टहरु माझ बहस सञ्चालन गर्दै एकतावद्ध बनाउन पहल गर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

क्रान्तिकारी शक्तिहरुका बिचमा संयुक्त मोर्चा निर्माण गरी राष्ट्रियता, जनतन्त्र र जनजिविकाको सवालमा नयाँ उचाईमा संघर्षको उठान गर्ने समेत बताइएको छ ।

 

बैठकले महासचिव आहुति र प्रवक्ता मदन अर्याल रहेको ५१ सदस्यीय केन्द्रीय समिति र १३ सदस्यीय केन्द्रीय सचिवालय चयन गरेको छ । आहुति, मदन अर्याल, धनकुमारी सुनार, राजकुमार हिङमाङ र राजेश्वरी सुवेदी रहेको ५ सदस्यीय केन्द्रीय कार्यालय समेत बैठकले निर्माण गरेको छ ।

 

नन्दन अर्यालको संयोजकत्वमा ६ सदस्यीय प्रवुद्ध समिति चयन गरेको छ । सम्मेलनले केन्द्रीय समिति सदस्य, सल्लाहाकार र प्रबुद्ध समिति सदस्य पदेन सदस्य रहने गरी ९९ सदस्यीय केन्द्रीय पुर्णकालिन शिविर गठन गरेको छ ।

 

सम्मेलनले जम्मा ११ व्यूरो विभाजन गरी संयोजक तोकेको छ जसअनुसार कोच–लिम्बुवान व्यूरोमा मोहन लकान्द्री, किराँत–लिम्बुवान व्यूरोमा सुरज राई, मिथिला–भोजपुरा व्यूरोमा मदन अर्याल, ताम्सालिङ व्यूरोमा जागृत रायमाझी, नेवा व्यूरोमा बुद्धलक्ष्मी महर्जन, तमुवान व्यूरोमा सुरेन्द्र लुँईटेल, अवध व्यूरोमा केन्द्रीय कार्यालय, मगरात व्यूरोमा भुवन सेञ्चुरी, थरुहट–खसान व्यूरोमा टि.वि. लामिछाने, जडान–खसान व्यूरोमा श्याम कुँवर र प्रकाशन व्यूरोमा धनकुमारी सुनार रहेका छन् ।

 

बैठकले ३ महिने बिशेष राजनीतिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानको क्रममा सबै तहका सरकारहरुको हिसाव खोज्ने, भ्रष्टहरुलाई कारबाही गर्ने, जनताका समस्याहरु समाधान गर्न पहल लिने निर्णय गरेको छ । चैत्र २४ गते देशव्यापी प्रदर्शन गर्ने पनि बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation