काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले नेपालमा साम्राज्यवादले नयाँ रवि ल्याउन खोजिरहेको बताउनु भएको छ । श्रमिक समुदाय मोर्चा नेपालको केन्द्रीय समितिको सातौं बैठकमा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।
रविबाट नेपालमा आफ्नो स्वार्थ पूरा नहुने देखेपछि पश्चिमा शक्तिहरुले बालेन जस्ता पात्रहरूलाई अगाडि सारेको उहाँले स्पष्ट पार्नुभएको छ । स्वतन्त्र र अभियानताहरुको नामबाट साम्राज्यवादले श्रमजीवीहरु विरुद्ध षड्यन्त्र गरिरहेकोले सचेत रहन समेत उहाँले सबैलाई आव्हान गर्नुभयो ।
उत्पीडित वर्ग, समुदाय नै अन्तिमसम्म क्रान्तिकारी बनिरहन सम्भव भएको हुँदा आफ्नो मुक्तिका निम्ति उत्पीडित वर्ग समुदायले दोब्बर मेहनत गर्न समेत उहाँले बैठकमा उपस्थित सबैलाई निर्देशन दिनुभयो । कसैको दयाले मुक्ति सम्भव नहुने भन्दै उत्पीडित वर्ग समुदायहरु एकता, ध्रुवीकरण र सशक्त संघर्षमा जुट्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।
शुक्रबार देखि काठमाडौंमा सुरु भएको मोर्चाको बैठकले छैटौं राष्ट्रिय सम्मेलन छिट्टै गर्ने निर्णय गरेको जानकारी मोर्चाका अध्यक्ष रामलाल सीले जानकारी दिनुभयो ।
देशभर श्रमिक समुदायमाथि भइरहेका विभेद विरुद्ध सशक्त संघर्ष गर्ने, उत्पादनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने, विभिन्न जातीय संगठनहरुसंग प्रभावकारी सहकार्य गर्ने, वैदेशिक हस्तक्षेप विरुद्धका संघर्षमा सहभागी हुने लगायतका निर्णय समेत बैठकले निर्णय गरेको मोर्चाका महासचिव त्रिलोचन सीले जानकारी दिनुभयो ।