काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले दलालहरुलाई देशको जिम्मा लगाएर हामी चुप बस्दैनौं भन्नुभएको छ । समाजवादी मोर्चा नेपालद्वारा मंगलबार प्रज्ञाप्रतिष्ठान, काठमाडौंमा आयोजित ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक विचार सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
संयोजक विप्लव सीले वर्तमान राजनीतिक संकटको निर्विकल्प निकास समाजवाद नै रहेको ठोकुवा गर्दै भन्नुभयो ‘यो देशलाई विदेशीहरुको इसारामा उठ भन्दा उठ बस भन्दा बस गर्ने मान्छेहरुको जिम्मा लगाएर हामी बस्नेवाला छैनौं । हामी यो देशको माटोमा उभिएर यो देशको पहाडमा उभिएर गर्वका साथ भन्छौं, इतिहास नयाँ तरिकाले पुननिर्माण गर्न बाँकी छ, हामीले पञ्चायत ढाल्यौं, हामीले गोलीले उडायौं, हामी गोलीले उड्यौं, हामी सबै पचाएर आएका मान्छे हौं, दलाल पुँजीवादको झटारोबाट हामी तर्सिन जरुरी छैन्, दलाल पुँजीवादको रजाईबाट हामी तर्सिन जरुरी छैन, दलाल पुँजीवादबाट साच्चै देशलाई शान्ति दिने हो, स्थिरता दिने हो, स्वाधीनता दिने हो यसको निकास भनेको समाजवाद हो । आज यदि वैज्ञानिक समाजवाद सम्भव छैन् भने पनि त्यसमा हाम्रो सहमति बन्न सक्दैन भने समाजवादी पार्टीको बिचमा समाजवादी विचारधारा बिचमा भव्य सहमति कायम गर्दै जुनसुकै क्षेत्रबाट होस् देशलाई अगाडि लैजान जरुरी छ ।’
यसैगरी, संयोजक विप्लव सीले नेपालको सरकार नेपाल राज्यको र जनताको बन्न नसकेको बताउनु भयो । उहाँले नेपालको गणतन्त्र पनि जनताको गणतन्त्र बन्न नसकेको भन्दै नेपालको सरकार र नेपालको राज्यलाई जनताको सरकार र जनताको राज्यमा बदल्न आफूहरु लागिरहेको बताउनु भयो । उहाँले भन्नुभयो ‘सरकार हेरफेर होला, नहोला । त्यसमा हाम्रो धेरै चिन्ताको कुरा छैन । हामीलाई चिन्ता के छ भने यो सरकार नेपालको सरकार बन्न जरुरी छ । नेपालको सरकार, नेपालको राज्य, जनताको राज्य बन्न सकेको छैन । नेपालको गणतन्त्र जनताको गणतन्त्र बन्न सकेको छैन । यसलाई जनताको गणतन्त्र र जनताको राज्यमा बदल्ने सपना हामीले देख्नुपर्छ । त्यो क्षमता हामीसँग छ । त्यो हिसाबले समाजवादी मोर्चाले काम गर्ने छ।’
त्यसैगरी, अहिलेको अर्थतन्त्र देशको सुदृढ र सन्तुलित हुन नसकिरहेको, नागरिकहरुको जीवन पनि निकै कष्टकर भएको र देशमा उत्पादनको एकदमै ठूलो खडेरी परेको समेत उहाँले ठोकुवा गर्नुभयो ।
कार्यक्रमलाई मोर्चा घटक पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले सम्बोधन गरेका थिए ।
नेकपा प्रवक्ता तथा मोर्चा सदस्य प्रकाण्ड सीको सञ्चालन रहेको कार्यक्रममा विभिन्न जनवादी गीत र साहित्यिक प्रस्तुतिहरु समेत प्रस्तुत गरिएको थियो । मोर्चाका कार्यक्रमहरु चरणबद्ध रुपमा अगाडि बढ्ने बताइएको छ । मोर्चाले समाजवाद निर्माणका निम्ति चौतर्फी काम गर्ने बताइएको छ ।