काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले एमसिसी परियोजना खारेज नगरे नेपाल दोस्रो युक्रेन बन्ने ठोकुवा गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले काठमाडौं कमलादीस्थित प्रज्ञाभवनमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै आज उहाँले सो ठोकुवा गर्नु भएको हो ।
अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिन उहाँले सबैलाई आग्रह गर्नुभएको छ । अमेरिकाको अमेरिकाको सैन्य रणनीति अन्तर्गत केही राजनीतिक दलले आफ्नो स्वार्थको लागि नेपालमा एमसीसी ल्याएको उहाँले दाबी गर्नुभयो ।
‘सम्पूर्ण वामपन्थी, राष्ट्रवादी शक्तिहरूलाई एकढिक्का भएर एमसिसीको प्रतिवाद गर्न म आग्रह गर्छु । सबै मिलेर प्रतिवाद गर्न सकियो भने हाम्रो मुलुक सदाका लागि स्वाधीन बन्नेछ’, उहाँले भन्नुभयो ।
‘अमेरिकी सैन्य रणनीतिको हिसाबले ब्याक भएको छैन् । प्रत्यक्ष एसपीपीको हिसाबले लागु नगरे पनि विचार, नीति हिसाबले ब्याक भएको छैन, उनीहरूले सोझै सैनिक ल्याएर क्याम्प बनाउन भन्दा पनि बढी भन्दा बढी सूचना केन्द्र बनाउन खोजेको छ । हामीले खबरदारी गर्न नसकिए राष्ट्रिय स्वाधीनता गुम्ने खतरा छ ।’ उहाँले स्पष्ट पार्नुभयो ।
नेकपाको महासचिव विप्लव सीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेकपा ( एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाल, राजनीतिक विश्लेषक पुरञ्जन आचार्य, पुर्वमहान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौला, भौतिक पुर्वाधार नीति विज्ञ डा. सुर्यराज आचार्य, पुर्वप्रमुख सेनानी तथा सुरक्षाविज्ञ वाशुदेव घिमिरे, वरिष्ठ अधिवक्ता एकराज भण्डारीको सहभागिता रहेको थियो ।
एमसिसी, एसपिपी र राष्ट्रिय स्वाधीनता विषय अन्तरक्रिया कार्यक्रम विभाग प्रमुख खगेश्वर सी.को अध्यक्षता र सदस्य शंकर सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भयो ।