जातीय मुक्तिका लागि संघर्ष बढाउनुपर्ने

काठमाडौं । समाजवादी मोर्चा नेपाल निकटका जातीय संगठनहरुले जातीय मुक्तिका लागि संघर्ष बढाउनुपर्नेमा जोड दिएका छन् । आज काठमाडौंको माइतीघर मण्डलामा श्रमिक/दलित संगठनहरुद्वारा संयुक्त रुपमा आयोजना गरिएको विरोध कार्यक्रममा उपस्थित श्रमिक/दलित नेताहरुले उक्त कुरामा जोड दिएका हुन् ।

कार्यक्रमका वक्ता श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल सी.ले जातीय मुक्तिका लागि नेपाली विशेषताको समाजवाद आवश्यक रहेकोले सबै एकताबद्ध भएर संघर्ष गर्नुपर्ने बताउनुभयो । उहाँले श्रमिक  समुदायले अधिकार स्थापित गर्न अझ सशक्त संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीर्पालीले दलित समुदायको संघर्षकै कारण नेपालमा परिवर्तन आएको उल्लेख गर्दै भने, “हामीले परिवर्तनकारी आन्दोलनमा सबैभन्दा धेरै रगत-पसिना बगाएको हुँदा राज्यमा हाम्रो हिस्सा छ, तर अहिले सबैभन्दा बढी हिंसा गर्नेहरूको शासन चलिरहेकोले अधिकार सुनिश्चित हुन सकेको छैन ।”

रिन्कु कुमारी हत्या प्रकरणका दोषीलाई कारबाही गर्न, दलित समुदायका पीडितहरूमाथि भएको अन्यायमाथि न्याय दिन सरकार असफल भएको भन्दै  दोषीहरूलाई तत्काल कारबाही गर्न उहाँले माग गर्नुभएको छ ।

नेपाल दलित मुक्ति संगठनका फ्र्याक्सन इन्चार्ज गणेश विश्वकर्माले अनुसार संविधान जारी भएपछि मात्र ५० जनाभन्दा बढी दलितहरूको हत्या भएको कुरामा राज्य गम्भीर नभएको बताउनु भएको छ । “जातीय घटनामा राज्यसत्ता संवेदनशील बनेको छैन, न्याय दिलाउने प्रक्रिया झनझन् कमजोर बनाइएको छ,” उहाँले गुनासो गर्नु भयो ।

उक्त संगठनकी इन्चार्ज दुर्गा परियारले दलित समुदायलाई राज्यबाट अझैपनि पछाडि राख्ने नीति अपनाइएको आरोप लगाउनु भयो । “दलित प्रतिनिधित्व रोक्नकै लागि केही विधेयकहरू ल्याइएका छन् । संविधानमा लेखिएका अधिकार कार्यान्वयन हुन सकेका छैनन्,”उहाले भन्नुभयो ।

दलित अधिकारकर्मी डा. निर्मल विश्वकर्मा ले जबजब अनुदारवादी शासकहरू सत्तामा आएका छन्, तबतब जातीय घटनाहरू बढ्ने गरेको बताउनुभयो । “दलित समुदायको प्रमुख एजेन्डा निर्माण भएको छैन, जसका कारण समस्या अझ जटिल बन्दै गएको छ,” उहाँले जिकिर गर्नु भयो ।

दलित नागरिक समाजका अगुवा  मोतीलाल नेपालीले दलित समुदायको अस्तित्व रक्षा गर्नका लागि सत्ताको संरचनामै हस्तक्षेप गर्नुपर्ने बताउनुभयो । “सशक्त संघर्षबिना  सत्ता संरचना नभत्किने र परिवर्तन पनि  सम्भव नभएको ,” उहाँले ठोकुवा गर्नभयो । त्यसैगरी समाजवादी पार्टीका नेता मीन परियारले पनि संघर्ष गर्नुपर्नेमा जोड दिनुभएको छ ।

संयुक्त रूपमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले श्रमिक / दलित समुदायको अधिकार सुनिश्चित गर्न सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । कार्यक्रम नेपाल दलित मुक्ति मोर्चाका नेता पदम विश्वकर्माले सञ्चालन गर्नुभएको थियोे । विरोधका कार्यक्रमहरु चरणबद्ध रुपमा अगाडि बढाइने बताइएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समितिको बैठक बसी जातीय सवालमा साझा धारणा र कार्यक्रम बनाएर अगाडि बढ्ने समेत बताइएको छ ।

कार्यक्रममा सहभागी संगठनहरू
– श्रमिक समुदाय मोर्चा नेपाल
– नेपाल दलित मुक्ति मोर्चा
– नेपाल दलित मुक्ति संगठन
– नेपाल समाजवादी दलित मुक्ति मोर्चा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation