वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ, तेस्रो वरीयतामा महरा रहने महासचिवमा विवाद यथावत्

काठमाडौँ — माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अपुरो स्थायी कमिटी र पोलिटब्युरो चयन गर्दै सकिएको छ । ‘आठौं राष्ट्रिय महाधिवेशनको संगठनात्मक कार्यदिशालाई लागू गर्न पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गरी केन्द्रीय समितिलाई पूर्णता दिने’ एजेन्डाका साथ बोलाइएको बैठकमा आकांक्षी व्यवस्थापन गर्न नसक्दा वरिष्ठ उपाध्यक्षबाहेकका पदाधिकारी पनि चयन हुन सकेन ।
अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक एवं संगठनात्मक प्रतिवेदनमा पदाधिकारी टुंग्याउने प्रस्ताव गरेका थिए । चार दिन चलेको बैठकले पदाधिकारीतर्फ वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठलाई मनोनयन गरेको छ । वरिष्ठ उपाध्यक्षका लागि कृष्णबहादुर महरा पनि दाबेदार थिए । तर उनी तेस्रो वरीयतासहित उपाध्यक्षमा बस्न राजी भएका छन् । ‘वरिष्ठ उपाध्यक्षमा नारायणकाजीको विकल्प भएन,’ अध्यक्ष दाहालले भने । अन्य पदाधिकारीका लागि भने अझै गृहकार्य गर्नुपर्ने भन्दै थाती राखिएको छ । गत पुसमा महाधिवेशनलगत्तै केन्द्रीय समिति बैठकले दाहाललाई अध्यक्षमा चयन गरेको थियो ।
मुख्य गरी महासचिव पदमा सहमति नजुटेपछि केन्द्रीय समितिले अन्य पदाधिकारी टुंगो लाग्न नसकेको हो । महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको मुख्य दाबी छ । मुख्य दुई नेताले दाबी नछाडेपछि मंगलबार केन्द्रीय कार्यालयको विस्तारित बैठकमा अध्यक्ष दाहालले तेस्रो व्यक्तिलाई महासचिव बनाउने संकेत गरेका थिए । केन्द्रीय समिति बैठक चलिरहेकै बेला अर्थमन्त्रीबाट शर्माको राजीनामालगायतका राजनीतिक घटनाक्रम भएपछि अध्यक्ष दाहालले पदाधिकारी चयनमा पर्याप्त गृहकार्य गर्न पाएनन् । ‘मसँग सबै पदाधिकारीको सूची छ । नाम वाचन गर्न त सक्छु तर मलाई भन्न नलगाउनुस् । २/४ दिनमा सबैको अनुहार उज्यालो हुने गरी चयन गर्छु,’ दाहालले बिहीबार बैठकमा भनेका थिए ।
शर्मामाथि छानबिन गर्न संसद्ले बनाएको समितिको प्रतिवेदन नआइन्जेल थप पदाधिकारी चयन नगर्ने माओवादी अध्यक्ष दाहालले बताएका छन् । ‘अध्यक्षले अहिले गृहकार्य गर्न समय अभाव भयो, स्थायी कमिटी र पोलिटब्युरो बनेकाले अब काम रोकिँदैन, आठ, दस दिनभित्र अध्यक्षले टुंग्याउने भन्नुभएको छ,’ स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने । बुधबार गठन भएको संसदीय समितिलाई दस दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । माओवादीका एक नेताले चार दिन बैठक चल्दासमेत ‘गृहकार्य अभाव’ भन्नु तत्काल पदाधिकारी चयन गर्न नखोज्नु रहेको बताए । माओवादीको विधानमा एक अध्यक्ष, महासचिव र कोषाध्यक्ष उल्लेख भए पनि पदाधिकारी केन्द्रीय समितिले निर्धारण गर्ने उल्लेख छ ।
अध्यक्ष दाहालको प्रस्तावअनुसार वैकल्पिकसहित १ सय ५६ सदस्यीय पोलिटब्युरो र ४१ सदस्यीय स्थायी कमिटी बनाउने निर्णय भएको छ । जसअनुसार पोलिटब्युरोमा करिब १ सय ४० र र स्थायी कमिटीमा ३३ सदस्यको नाम टुंगिएको नेताहरूले बताएका छन् । ३ सय ७७ सदस्यीय केन्द्रीय समितिमा एक तिहाइ अर्थात् १ सय २५ जनाको पोलिटब्युरो रहने व्यवस्था भए पनि आकांक्षी धेरै भएपछि वैकल्पिकसहित १ सय ५६ जना पुर्‍याइएको हो । दाहालले पोलिटब्युरो सदस्यको नाम बैठकमा प्रस्तुत गर्दा केही समय विवाद भएको थियो ।
स्थायी कमिटीमा नेकपाकालीन स्थायी कमिटीका १५ जना, सात प्रदेशका इन्चार्ज र केन्द्रीय कार्यालयका मुख्यसचिवसहित ३ जनाको नाम टुंगिएको छ । अब महिला र आमन्त्रित राखेर अन्तिम सूची तयार पारिने जनाइएको छ । स्थायी कमिटी सदस्य गजुरेलका अनुसार वैकल्पिक पोलिटब्युरो र बाँकी स्थायी कमिटी सदस्यको नाम टुंग्याएर केही दिनमै पार्टीले सर्कुलर जारी गर्नेछ ।
अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनका बेला पार्टीमा अन्तर्घात गर्नेलाई छानबिन र कारबाही गर्ने बताएका छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको पार्टीको केन्द्रीय समिति बैठकमा उनले अन्तर्घातकै कारण पार्टीमा विचलन आएको पनि बताए । ‘पार्टीमा विचलन छ भन्ने कुराको प्रमाणका रूपमा अन्तर्घात देखिएको छ । उम्मेदवार दोहोर्‍याउनु गल्ती भयो । एउटा पक्षले अर्को पक्षलाई हराउन खोज्यो,’ उनले भने, ‘मधेसको सिरहा र महोत्तरीमा सबैभन्दा चर्को देखियो । अन्यत्र पनि छ ।’
नेतृत्वका बीचमा अविश्वास, आशंका र विरोध चर्किएको अध्यक्ष दाहालको भनाइ थियो । उनले अन्तर्घातका विषयमा अनुसन्धान गरी १५ दिनभित्र रिपोर्ट बुझाउने गरी अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा समिति बनाउन निर्देशन पनि दिएका छन् । ‘आउने निर्वाचनमा हुने सम्भावित अन्तर्घातलाई रोक्न पनि यो गर्नुपर्छ,’ उनले बैठकमा भनेका थिए ।
स्थायी कमिटीमा को–को ?
पुष्पकमल दाहाल (अध्यक्ष), नारायणकाजी श्रेष्ठ (वरिष्ठ उपाध्यक्ष), कृष्णबहादुर महरा, उर्मिला अर्याल, पम्फा भुसाल, हरिबोल गजुरेल, गणेश शाह, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, दीनानाथ शर्मा, लीलामणि पोखरेल, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, मात्रिका यादव, देवेन्द्र पौडेल, सुरेश आलेमगर, वामदेव क्षत्री, जयपुरी घर्ती, शशि श्रेष्ठ, हितमान शाक्य, अमृता थापा, ओनसरी घर्ती, राम कार्की, कालीबहादुर मल्ल, खगराज भट्ट, प्रह्लाद बुढाथोकी, महेन्द्रबहादुर शाही, पूर्णकुमारी सुवेदी, यशोदा सुवेदी गुरुङ, भरतप्रसाद साह र रेखा शर्मा । (८ जना पछि टुंग्याउने) ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation