
काठमाडौं । श्रमिक समुदाय मोर्चा नेपाल, केन्द्रीय सचिवालयको बैठक नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा आज काठमाडौंमा सम्पन्न भएको छ । बैठकमा उपस्थित मोर्चाका सचिवालय सदस्यहरुलाई विप्लव सीले प्रशिक्षण दिनुभएको छ ।

प्रशिक्षणका क्रममा सबै जाति, समुदाय र वर्गको मुक्तिका लागि कम्युनिस्ट पार्टी निरन्तर लड्नुपर्नेमा उहाँले जोड दिनु भएको छ । कम्युनिस्टहरुमा धैर्यता जरुरी पर्ने पनि उहाँले बताउनु भएको छ ।
जेनजी विद्रोहले वास्तविक सत्ता पल्टाउन नसकेको स्पष्ट पार्दै कम्युनिस्ट पार्टीले सचेतताका साथ संघर्ष गर्नुपर्नेमा पनि उहाँले जोड गर्नुभयो ।

मोर्चाको सचिवालय बैठकले माघ १० गते देखि काठमाडौंमा छैटौं राष्ट्रिय सम्मेलन गर्ने लगायत निर्णय गरेको छ । प्रदेश, जिल्ला, पालिका र वडास्तर सम्म भेला, सम्मेलन, बैठक, प्रशिक्षण गर्ने, संगठन विस्तार र सदस्यता वितरण एवम् नविकरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यसैगरी विभेद विरुद्ध सशक्त संघर्ष गर्ने, उत्पादनका कार्यलाई बढाउँदै लैजाने, सूचना र प्रकाशनका कामलाई थप व्यवस्थित गर्दै लैजाने, धार्मिक अतिक्रम रोक्न सी संस्कृति सम्बन्धि अन्तरक्रियाहरु गर्ने, राष्ट्रिय स्वाधीनताको पक्षमा संघर्ष गर्ने लगायत निर्णय बैठकले गरेको छ ।

सामाजिक रचनात्मक कामहरू समेत गर्ने निर्णय सहित मोर्चाका महासचिव त्रिलोचन सीको सञ्चालन, अध्यक्ष रामलाल सीको अध्यक्षतामा बैठक सम्पन्न भयो ।










