दैलेख-१ मा रामलालको प्रतिबद्धता : ‘गुलाफ चिन्ह लिएर मैदानमा’, उत्पादन र विकासमा जोड

दैलेख-१ मा रामलालको प्रतिबद्धता : ‘गुलाफ चिन्ह लिएर मैदानमा’, उत्पादन र विकासमा जोड

दैलेख । सामाजिक न्याय, स्वाधीनता र आत्मनिर्भर समाजवादको लक्ष्यसहित दैलेख निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामलाल विश्वकर्माले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य तथा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष समेत रहनुभएका विश्वकर्माले पत्रकारहरूसँगको अन्तर्क्रियामा आफ्नो योजना र राजनीतिक दृष्टिकोण स्पष्ट पार्नुभएको हो ।

‘नेपालको राजनीतिमा नयाँ सोंचको आवश्यकता’
अन्तर्क्रियाका क्रममा उम्मेदवार विश्वकर्माले नेपालको राजनीति पुरानो सोंचबाट ग्रसित रहेको टिप्पणी गर्नुभयो । उहाँले भदौ २३ र २४ गतेका घटनाक्रमलाई लक्षित गर्दै देशमा ‘ग्रान्ड डिजाइन’ अन्तर्गत विदेशी शक्तिको चलखेल बढेको दाबी गर्नुभयो ।

 

“नेपालमा अमेरिकी डिजाइन र कब्जा गर्ने नीतिविरुद्ध जनतालाई सचेत गराउन पनि हामी चुनावमा होमिएका हौँ,” उहाँले भन्नुभयो ।
​पुराना दलहरूले केही गरेनन् भन्नु भन्दा पनि भएका विकासलाई संस्थागत गर्दै ‘सिस्टम’ मा ल्याउनु पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले देशको स्थायित्वका लागि गणतन्त्रवादी, कम्युनिष्ट, देशभक्त र प्रगतिशील पुँजीवादी शक्ति मिल्नुको विकल्प नभएको बताउनुभयो ।

 

समृद्ध दैलेखका लागि १४ बुँदे संकल्प :
विश्वकर्माले दैलेखको भौतिक पूर्वाधारदेखि सामाजिक रूपान्तरणसम्मका बुँदाहरूलाई आफ्नो प्रतिबद्धता पत्रमा समेट्नुभएको छ :
१. भौतिक पूर्वाधार र यातायात
सडक स्तरोन्नति: सुर्खेत–दैलेख सडकलाई डबल लेनमा विस्तार गर्ने र महाबु हुँदै नाग्छे नाङ्ला सडक आयोजनालाई अघि बढाउने ।
​सुरुङ मार्ग: कपासे–डुङ्गेश्वर सुरुङ मार्ग निर्माणका लागि पहल गर्ने ।
सडक सञ्जाल: निर्वाचन क्षेत्रका ग्रामीण सडकहरूलाई मध्यपहाडी लोकमार्ग र मुख्य राजमार्गसँग जोड्ने ।
२. प्राकृतिक स्रोत र पर्यटन
​पेट्रोलियम उत्खनन: दैलेखमा रहेको पेट्रोलियम पदार्थको उत्खनन र प्रशोधन कार्यलाई तदारुकताका साथ अघि बढाउने ।

– पर्यटन प्रवर्द्धन : पञ्चकोशी, बिलासपुर, कोतगढी जस्ता ऐतिहासिक र महाबु, द्वारी झरना जस्ता प्राकृतिक स्थलहरूलाई पर्यटकीय हबको रूपमा विकास गर्ने ।
​३. शिक्षा, स्वास्थ्य र सामाजिक न्याय
निःशुल्क बिमा: विपन्न, दलित, एकल महिला, अपाङ्गता भएका व्यक्ति र सहिद परिवारका लागि अनिवार्य र निःशुल्क स्वास्थ्य बिमा लागू गर्ने ।
​श्रम शिक्षा: निर्वाचन क्षेत्रमा ‘नमुना श्रम शिक्षा’ र विद्यालयहरूमा सूचना सञ्चार प्रविधि (ICT) अध्ययनको व्यवस्था गर्ने ।
​विभेदको अन्त्य: छाउपडी, जातीय छुवाछुत र सामाजिक कुरीति विरुद्ध विशेष रूपान्तरण कार्यक्रम सञ्चालन गर्ने ।
४. आर्थिक समृद्धि र सुशासन
उत्पादनमा जोड: ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रममार्फत पशुपालन र नगदे बालीको व्यवसायीकरण गरी युवालाई स्वरोजगार बनाउने ।
भ्रष्टाचार नियन्त्रण: युवा पुस्ताले उठाएको भ्रष्टाचार अन्त्य र सुशासनको मुद्दालाई सदनमा सशक्त रूपमा उठाउने ।
संविधान संशोधन: प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान पुनरलेखनको आवाज बुलन्द गर्ने ।
“हामी केवल गालीको राजनीति गर्न आएका होइनौँ, देश बनाउने स्पष्ट खाका र उत्पादनको मोडलसहित आएका हौँ,” विश्वकर्माले भन्नुभयो । उहाँले आफ्नो चुनाव चिन्ह ‘गुलाफ’ मा मतदान गरी आफूलाई विजयी गराउन मतदाताहरूमा अपिल समेत गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 आवाज पोस्ट All right reserved Site By : Himal Creation