माओवादीले जनतालाई धोका दिँदैन : विप्लव सी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव विप्लव सी.ले माओवादीले जनतालाई धोका दिँदैन भन्नुभएको छ । पार्टी बागमती प्रदेश समितिले आयोजना गरेको निर्वाचन विशेष प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

आफ्नो पार्टीको प्रस्ताव ठीक छ र आफूहरूले बाटो नबिराउने भएका कारण जनताले माओवादीलाई भोट दिनुपर्ने पनि उहाँले जिकिर गर्नुभएको छ । संघर्ष गरेर आएको पार्टी बाहेक भौँतारिएर आएका मान्छेहरुलाई रोज्न नहुनेमा पनि उहाँले जोड दिनुभएको छ ।

 

काङ्ग्रेस, कम्युनिष्टको योगदानलाई निषेध गरेर जनतालाई भुलभुलैयामा पार्ने षड्यन्त्र भइरहेको हुँदा जनता सचेत हुनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ । स्पष्ट आर्थिक दृष्टिकोण, राजनीतिक दृष्टिकोण, स्वाधीनता र मौलिक संस्कृति सहितको पार्टीले मात्र देशलाई निकास दिन सक्ने पनि उहाँले बताउनुभयो । “पुराना दल बेठिक नयाँ दल ठीक भन्ने कुरा मौसमी र अवसरवादी कुरा हुन् मुख्य समस्या पुरानो सत्ता हो”, उहाँले भन्नुभयो । “पुरानो नेता र नयाँ नेताको बहस  अलमलमा पार्ने नारा हो”, उहाँले भन्नूभयो ।

 

“सामाजिक सञ्जालको दुरुपयोग गरेर साम्राज्यवादी योजनामा नयाँ भन्नेहरूलाई स्थापित गरिन खोज्नु गलत हो”, उहाँले भन्नुभयो । नयाँ भन्नेहरूले देशै बेच्न तयार छन् पनि उहाँले भन्नुभएको छ ।

 

पार्टीका स्थायी समिति सदस्य सन्तोष सी.ले अमेरिकाले नेपाली अनुहारका नेता सेनाहरू तयार गर्नका लागि ४ लाख तिब्बतीहरूलाई नेपाली नागरिकता दिने षड्यन्त्र गरिरहेको बताउनुभयो ।

 

माओवादीका काठमाडौँ जिल्ला इन्चार्ज तथा उम्मेदवार माइला लामाको अध्यक्षता, केन्द्रीय सदस्य प्रेम सी.को सञ्चालन र केन्द्रीय सदस्य तथा ललितपुरका उम्मेदवार विपिन सी.को स्वागतमा कार्यक्रम सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 आवाज पोस्ट All right reserved Site By : Himal Creation