जनमुखी काम गरेमा पश्चगमन स्वत: समाप्त हुनेछ

       गणतन्त्र स्थापना भएको डेढ दशक पुरा भएको छ । यस अवधिमा जनताले अपेक्षा गरेका खास काम भएनन् । परिणामस्वरूप जनता असन्तुष्ट छन् । दस वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन र अन्य मुक्तिकामी संघर्षमा जनताले ‘देश र जनताको मुक्ति’, समृद्धि र स्वाधीनताको अपेक्षा गरेर साथ दिएका हुन् । राजनीतिक पार्टी र नेताहरूले जनअपेक्षा अनुसार काम नगर्दा जनतामा निराशा, असन्तुष्टि र आक्रोश पैदा भएको छ । सोही कारणले गर्दा पुराना पार्टी, नेता र नारा भन्दा नयाँ र स्वतन्त्र भनिएका व्यक्तिका कुराहरूमा जनता सजिलै आकर्षित हुने गरेका छन् । रवि, बालेन जस्ता स्वतन्त्र भनिएकाहरुको समग्र देश परिवर्तन गर्ने एजेन्डा नै देखिदैन तर उनीहरूका भ्रष्टाचार विरोधी भाषण सुनेर जनता पछि लाग्ने गरेका छन् ।
सहकारी, लघुवित्त र बैंकहरुको चर्को ब्याजदर र ॠणले आक्रान्त जनता गैरराजनैतिक, अति अहम् र अराजक व्यक्ति, मेडिकल व्यवसायी दुर्गा प्रसाइको पछाडि समेत जनता लागेका छन् । हुँदाहुँदै ॠण मिनाहा हुने प्रलोभनमा पश्चगामी सामन्तवादी राजतन्त्रलाई समेत जनताले स्वीकार्न बाध्य होला जस्तो मनोविज्ञान देखा परेको छ । परिवर्तनकारी पक्षधरहरुको लागि यो निकै विडम्बनापूर्ण कुरा हो । गणतन्त्रमा सबैले बोल्न, प्रदर्शन गर्न पाउनु पर्दछ । मंसिर ७ गते दुर्गा प्रसाईको समुहलाई एमाले निकटको युवा संघले निषेध गर्न खोज्नु, भिड्न र बिथोल्न खोज्नु गलत हो । प्रसाईं र राजावादीहरुबाट गणतन्त्र माथि  खतरा देख्नेहरुले आफू र आफ्नो दल सत्तामा हुँदा जनमुखी काम किन नगरेको ? कि त राजावादीहरु माथि प्रतिबन्ध लगाउनुपर्छ, कि त निर्वाध रुपमा कार्यक्रम गर्न दिनुपर्छ । सरकारमा जाने अवसर आउँदा राजावादीलाई समेत साथमा लिन तयार हुने अनि अरु बेला तलका कार्यकर्तालाई भिडाउने एमालेको दोहोरो चरीत्र निन्दनीय छ ।
गणतन्त्रमा जनताले अपेक्षा गरेको कुरा : निशुल्क शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेन्टी, भूमिहीनलाई भूमी, स्वाधीन र आत्मनिर्भर राष्ट्र हो । गणतन्त्रको चिन्ता गर्ने पार्टीहरुले यसमा कति काम गरे त ? अधिकांश निजी बोर्डिङ, कलेज, अस्पताल र मेडिकल कलेजहरुमा एमाले र कांग्रेसकै नेताकार्यकर्ताहरुको लगानी छ । भ्रष्टाचारमा एमाले, कांग्रेसकै नेताकार्यकर्ता र कर्मचारी सबैभन्दा धेरै संलग्न छन् । यसबाट मुक्त हुने विषयमा एमाले, कांग्रेसले कहिल्यै छलफल गर्‍यो त ? छलफल र लडाइँ केवल सत्ता, कुर्ची र नियुक्तिका लागि गर्ने पार्टीहरुले गणतन्त्रको चिन्ता गरेको भन्ने कुरा हास्यास्पद हुन्छ । गणतन्त्रको चिन्ता गर्नेहरूले नेताकार्यकर्ता र आफ्नो पार्टीको मात्रै चिन्ता गरेर पुग्दैन आमजनता र देशको मुक्तिको लागि काम गर्नुपर्दछ । देश र जनता सम्पन्न भएमा नेता र पार्टी स्वत: सम्पन्न हुन्छन् भन्ने दीर्घकालीन धारणा कुनै पार्टीमा नदेखिनुले नै आज यो विकराल संकट पैदा भएको हो ।

युवालाई स्वदेशमै राखी व्यवसायी र उद्यमी बनाउने वातावरण निर्माण गर्ने, कृषि र उद्योग – व्यापारलाई वृद्धि गर्ने, शिक्षा र स्वास्थ्य निशुल्क गर्ने, भूमिहीनलाई भूमि व्यवस्थापन गर्ने, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने, एमसिसी जस्ता राष्ट्रघाती परियोजना खारेज गर्ने, जुनसुकै वैदेशिक हस्तक्षेपका विरुद्ध सिंगो राष्ट्र उभिने, सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगलाई समान बनाउन प्रयत्न गर्ने लगायत काम गर्ने हो भने जनताको असन्तुष्टि र आक्रोश स्वत: मेटिन्छ । जनताको पक्षमा काम गरियो भने पश्चगमन स्वत: समाप्त हुनेछ । जनताको पक्षमा काम गरिएन भने गणतन्त्रवादी भनिएकाहरुकै अस्तित्व संकटमा पर्नेछ । यो समाजविज्ञानको नियम आफ्नै गतिमा अगाडि बढ्छ भन्ने कुरा सबैले हेक्का राख्नुपर्दछ । डेढ दशकको अनुभवबारे  गम्भीर आत्मसमीक्षा गर्दै विगतका गल्तीबाट पाठ सिक्दै अग्रगामी दिशातर्फ अगाडि बढ्नुको विकल्प छैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation