‘गंगुबाई कठियावाडी’मा आत्मविश्वास गुमाएकी आलिया

आफ्नो पुस्ताको सबैभन्दा सक्षम अभिनेत्रीमध्ये एक आलिया भट्ट प्रायः पर्दामा चञ्चले युवतीका रूपमा देखिँदै आएकी छन् । तर, अब उनले माफिया क्वीन गंगुबाई कठियावाडी’का रूपमा दर्शकहरूलाई चकित पार्न लागेकी छन् ।

निर्देशक सञ्जय लीला भन्सालीको यो फिल्म शुक्रबार रिलिज भएको छ । आलियालाई यो उमेरमा त्यस किसिमको भूमिका निभाउन सकिन्न कि भन्ने डर थियो । हालै उनले नवभारत टाइम्ससँग गंगुबाईको भूमिका र चलचित्रसम्बन्धी कुराकानी गरेकी छन् ।

सञ्जय लीला भन्सालीसँग पहिला तपाईंले ‘इन्साल्लाह’ गर्ने कुरा थियो, अचानक ‘गंगुबाई कठियावाडी’को प्लान कसरी बन्यो ?
तपाईंले भन्नुभएको प्रेमकथामा आधारित इन्साल्लाह गर्ने कुरा थियो । जे कारणले नबने पनि मेरो मुटु ‘छियाछिया’ भयो । तर, कहीँ न कहीँ मलाई विश्वास थियो, सर (सञ्जय लीला भन्साली) आफ्नो वचनमा पक्का हुनुहुन्छ भन्ने । त्यसको केही समयपछि उहाँले मलाई यसको स्क्रिप्ट दिनुभयो । तर, कहाँ लभस्टोरी जनराबाट यस्तो खतरनाक र गहन भूमिका ! जबकि, मेरो छवि भनेको योङ, बब्ली, क्युट भूमिकाको हो । मेरो उचाइका कारण मलाई यो बलियो, इन्टेन्सिटी, पावर कसरी ल्याउने होला भन्ने थियो । म सोच्थेँ कि मैले एक्सन फिल्म गरेँ भने कस्तो देखिने होला ! किनभने, म फुच्ची छु । त्यसैले म आफैँलाई विश्वास थिएन । मैले सरलाई सोधेँ म यो गर्न सक्छु ? भनेर । त्यसपछि उहाँले भन्नुभयो, ‘सक्छौ । तर, तिमी सोच ।’ किनभने, उहाँ ममाथि कुनै दबाब दिन चाहनु हुन्नथ्यो । उहाँ चाहनुहुन्थ्यो कि मैले आफ्नो क्षमतामा विश्वास गरूँ । घर पुगेपछि मनमा लाग्यो म के गर्दै छु ? नौ वर्षको उमेरदेखि नै म सञ्जय लीला भन्सालीसँग काम गर्ने मौका चाहन्थेँ । आज यो मौका मिलेको छ, एउटा त्यस्तो चलचित्र जुन मेरो वरिपरि घुम्छ । त्यसो भए म यति धेरै किन सोचिरहेको छु ! त्यसपछि मैले उहाँलाई भेटेर हुन्छ भनेँ र उहाँको मप्रतिको विश्वासलाई आत्मसात् गर्दै यात्रा सुरु गरेँ ।

तपाईंले गंगुबाईलाई कसरी बुझ्नुभयो ? त्यसमा कसरी आफूलाई ढाल्नुभयो ?
चलचित्रमा गंगुको एउटा ट्रान्जिसन छ, युवाबाट गंगुबाई माफिया क्वीनसम्मको । पहिलो काम त उनको लबजमा गर्नुपर्यो । उनी कठियावाडकी हुन् । त्यसैले गुजराती लबज चाहिने थियो । उनले धेरै समय कमाठीपुरामा बिताएकी थिइन् । त्यसैले बम्बईको टच पनि चाहिने थियो । लबजमा प्रशिक्षक भक्ति र प्रकाश भाइसँग मिलेर धेरै काम गरियो । शरीरको हाउभाउ बुझ्न सर (सञ्जय लीला भन्साली)सँग कुरा भयो । उहाँलाई गंगुको आवाजमा धोद्रोपना चाहिएको थियो । यो पात्रमा मैले त्यही शैलीमा बोलेँ, जबकि मेरो आवाज केही पातलो छ । फेरि, मलाई यो ‘संसार’को बारेमा केही जानकारी नै थिएन । त्यसैले सरले मलाई केही डकुमेन्ट्री हेर्न दिनुभयो । किनभने, यस किसिमको पेसामा आउनु महिलाहरूको बाध्यता हो । कारण, कसैले परिवार पाल्नुपर्ने हुन्छ अथवा कोहीलाई बेचिदिएका हुन्छन् । त्यही बाध्यताका कारण उनीहरूको अनुहारमा एकखालको नमिठोपना हुन्छ । तर, यसको मतलब उनीहरू आफ्नो पेसामा रमाउन नसकेको भने होइन । उनीहरु आफैँ नराम्रा व्यक्ति होइनन् । समाजले उनीहरूलाई हेर्न नजर नराम्रो हुन्छ ।

सशक्त महिलाको परिभाषा के हो ?
सशक्त हुनका लागि सबैभन्दा पहिले आफैँलाई माया र आफ्नो क्षमता पहिचान गर्न आवश्यक छ । सशक्तिकरण तपाईं भित्रबाटै आउँछ । यदि, तपाईं आफैलाई सक्षम मान्नु हुन्न, आफैँलाई सम्मान गर्नु हुन्न भने अरू कसैसँग कसरी सम्मानको आशा गर्न सक्नुहुन्छ ? मलाई लाग्छ, तपाईंले शान्त र संयमित भएर पनि आफ्नो शक्ति देखाउन सक्नुहुन्छ । त्यो नै मेरा लागि अझ शक्तिशाली हो । तपाईं सशक्त हुनुहुन्छ भनेर सधैँ चिच्याएर देखाउनु जरुरी छैन । उदाहरणका लागि, गंगुसँग पनि उनको बुवाको नाम सोधिन्छ, त्यतिखेर उनी आमाको नामले पुग्दैन भनेर प्रतिप्रश्न गर्छिन् । उनी त्यसलाई स्टेटमेन्ट बनाइदिन्छन् । त्यसपछि ठट्टा गर्दै बुवाको नाम देवानन्द भन्छिन् । जब तपाईं आफैँमा शक्ति महसुस गर्न सक्नुहुन्छ, उप्रान्त तपाईंलाई लडिरहनु आवश्यक हुँदैन । हुन त म लडाइँमा विश्वास गर्दिनँ, मलाई यो समयको बर्बादी हो जस्तो लाग्छ । जब नकारात्मक ऊर्जा तपाईंतर्फ आउँछ, तपाईंले यसलाई फिल्टर गर्नुपर्छ । यसलाई भित्र लिनुहोस्, यसलाई सकारात्मक बनाउनुहोस् र बाहिर फाल्नुहोस् ।

कोभिडको समयमा तपाईंले धेरै नकारात्मकता र ट्रोलिङको सामना गर्नुपरेको थियो । ‘सडक २’ को रेटिङ घट्यो । यी सबैलाई झेल्न सजिलो नहुन सक्छ । कसरी पार गर्नुभयो ?
पक्कै सहज थिएन । यो एक्कासि कहाँबाट आयो भनेर म पनि छक्क परेँ, तर मैले यसको जवाफ आफ्नो कामले मात्र दिनुपर्छ भन्ने बुझेँ । म आफ्नो कामले देखाउँछु, आफ्नो काममार्फत नै बोल्छु । र, एउटा कुरा, मलाई संसारले माया मात्रै दिनुपर्छ भन्ने पनि त थिएन । माया आए राम्रै, माया नआए पनि खुसी हुन्छु !

सञ्जय लीला भन्सालीलाई कठिन निर्देशक भनिन्छ । उहाँसँग काम गर्दा तपाईं कत्तिको नर्भस हुनुहुन्थ्यो ?
सुटिङमा जानुअघि मैले मेरा साथीहरूसँग कुरा गरेँ, रणवीर, दीपिका सबैले भनेका थिए कि यो तिम्रो जीवन परिवर्तन गर्ने अनुभव हुनेछ । तपाईंलाई जे भनिन्छ, गराइन्छ, त्यसले तपाईंलाई प्रत्येक सेकेन्ड फाइदा नै हुन्छ भन्ने छैन । उनीहरूले तपाईंलाई त्यो क्षमताको महसुस गराउँछन्, जुन तपाईं आफैँलाई थाहा हुन्न कि तपाईंसँग छ । मेरो प्रस्तुति राम्रो होस् भनेर उहाँले जति चिन्ता लिनुभयो, त्यति कसैले पनि लिएनन् । त्यसैले मैले कति टेक लिइरहेकी छु भनेर केही फरक नै परिररहेको थिएन । किनभने, मलाई थाहा थियो कि मैले १८ टेक वा २० टेक लिइरहे पनि राम्रैका लागि लिइरहेकी थिएँ । मानिस उहाँलाई कठिन टास्कमास्टर भन्छन्, किनभने उहाँ हार मान्नु हुन्न । उहाँलाई जे चाहिन्छ त्यो चाहिन्छ नै, यो भए पनि ठिकै छ भन्ने नै हुँदैन । यसैमा जादु छ । मैले राम्रो प्रदर्शन गर्नुपर्छ भनेर उहाँले जति चासो दिनुभयो, त्यति कसैले दिएनन् ।

गत वर्ष रणवीर कपुरले भनेका थिए कि यदि कोभिड नभएको भए तपाईं दुवैले विवाह गरिसक्नुहुन्थ्यो । के तपाईं विवाहका लागि तयार हुनुहुन्छ ?
यसमा म असहमत छैन । सपनाको राजकुमारलाई भेटेको छु, त्यसैले (बिहे) ठिक समयमा हुन्छ । यी नक्कली विवाहका कार्डहरू छाप्न बन्द होस् (हाँसो), त्यसपछि सायद हामीले पनि सही जानकारी दिन सकौँला ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation