
(संस्मरण)
बर्षे ऋतुको विलय पछि श्रद्धा ऋतुको आगमन हुन्छ । सबैलाई दशै र तिहार जस्ता ठूला पर्वहरूले छाईसकेको हुन्छ । असारे सङ्क्रान्तीको शुरुवात सँगै मालिके पुर्णिमा (जनै पूर्णिमा) को आगमन हुन्छ र भनिन्छ यस बर्षका मेला पर्वहरूले बिस्तारै बिस्तारै पाइलाहरु टेक्न थाले अनि साह्र श्राद्धको सुरुवात सँगै दशै र तिहारले पनि गाउँघरलाई बिस्तारै बिस्तारै ढाक्न थालिसकेको हुन्छ । विशेषगरी नेपालीको महान पर्व दशै असोज महिनामा पर्ने भएकाले सबैजना दशैको तयारीमा लागि रहेका हुन्छन् तर किन हो, मलाई असोज महिनाले मेरो विगत झल्काएको महसुस हुन्छ । अनि मेरो मस्तिष्कमा त्यही तस्बिर झल्किन्छ । बारेकोट गा.पा. ४ जुम्क घर भई विचारमा परिपक्व, व्यवहारमा सरल, देश र जनताको न्याय र समानताको निम्ति आफ्नो प्रष्ट विचारकै कारण राज्यले बीस वर्षकै उमेरमा बाँच्ने अधिकार खोसेको प्रीय मित्र विष्णु बि.क. को, जसले पछि आफ्नो नाम विनोदलाल बनाएर देश भित्रै निर्वासित र अर्धभुमिगत भएर विद्यालय तहको अध्ययन पुरा गरे । अग्लो जीउ, गोरो वर्ण, कैलो कपाल, नम्र बोली, एक निडर, शाहसी र सहयोगी योद्वा प्रिय साथी विष्णु विनोदलाल बि.क. उनले मलाई गफगाफको क्रममा मेरो जन्मदिन वि.स. २०३६ साल असोज २२ गते भएको हो भनेका थिए । उनको जन्मा बारेकोट ।
वि. स. २०५१ सालको कक्षा ५ को परीक्षाको नतिजाले त्यतिबेलाको श्री जनता प्रा. वि. रोकायगाउँको विद्यालयबाट म १ जना मात्र कक्षा ६ मा धकेलिएको खबर जब मैले सुने मेरो खुशि सँगै चुनौति र डरका चाङहरु मेरो दिमागमा सलबलाउन थाले किनकी त्यतिबेला हालको बारेकोट गाउँपालिका भित्रका अधिकांश विद्यालयबाट कक्षा ६ मा विद्यार्थीहरु श्री विरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालय लिम्सामा अध्ययन गर्न आउँथे । आफ्नो गाउको विद्यालयमा आफ्नै गाउँका साथीहरूसँग विद्यालय लम्किरहेको व्यक्ति अचानक त्यस क्षेत्रको त्यतिबेलाको एक मात्र माध्यमिक विद्यालयमा एक्लै जानुपर्दा कताकता मलाई असजिलो महसुस भई रहेको थियो तरपनि आफ्नो असजिलोलाई दबाएर म वि.स. २०५१ सालको सुरुवातीमा निम्न माध्यमिक तहको अध्ययनको लागि कक्षा ६ मा हालको बारेकोट गाउँपालिकाभित्र रहेको श्री वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालय लिम्सामा भर्ना भए । बारेकोटका अधिकांश ठाउँबाट अध्ययनका लागि आएका विद्यार्थीहरूको माझमा मलाई कता कता असजिलो भइरहेको थियो । तर आफूसँगै मेरो दिदीको छोरा प्रिय भाञ्जा (राम चन्द्र ज्योती) पनि सोही कक्षामा अध्ययन गर्ने भएकाले मलाई अलि केही राहत महशुस भएको थियो । मलाई थाहा छ श्री जनता प्राथमिक विद्यालय रोकायगाउँबाट म एकजना मात्र उतिर्ण भएर आएपनि धेरै विद्यालयबाट आएका धेरै जना विद्यार्थीहरुको माझमा मेरो पढाई मध्यम खालको थियो । सायद उमेरमा पनि सबैभन्दा पछाडीको भएकाले होला मेरो दिमागले पढाइमा प्रतिस्पर्धा गर्नुपर्छ र सबैलाई जित्नुपर्छ भन्ने सोच्दैन्थ्यो तर पनि जेनतेन प्रतिस्पर्धी साथिहरुको सहारा लिएर म पनि उनिहरुको पछि पछि दौडिरहन्थे । मैले जाने अनुसार त्यतिबेला कक्षामा लाल बहादुर नेपाली माथि आगर, रत्न बहादुर नेपाली धौलाकोट, सुरेन्द्र बहादुर बस्नेत मैना, खिम बहादुर नेपाली लिम्सा, दल बहादुर रावत जिरी अलि तगरा विद्यार्थीको रुपमा गनिनु हुन्थ्यो त्यसैगरी विष्णुजी पनि उहाँहरुलाई पढाईमा टक्कर दिईरहनुहुन्थ्यो ।
<span;>विष्णु जी मा किताबी ज्ञानको अलावा साहित्यिक ज्ञान पनि अद्भुत थियो । सायद विष्णुजीमा साहित्यिक ज्ञान भएकाले र म पनि साहित्यतिर त्यतिबेला देखि नै रुचि राख्ने भएकाले होला म विष्णुजिसँग अत्यन्तै छिटो नजिक र घुलमिल भए । अग्लो जीउ, गोरो वर्ण, कैलो कपाल, सधै हाँसिलो अनुहार एक निडर, सहयोगी र शाहसी व्यक्ति त्यतिबेला देखि नै क्रान्तीका भावहरू झल्कने सबै साथीहरूले उनलाई गोरे, कैलो, सेते भनेर जिस्काउथे तर मैले कहिल्यै उनलाई त्यसो भनिन मैले विष्णु जी भन्थे अनि उनले मलाई डिल्ली जी । चारभाईको कान्छो सन्तान भएकाले मेरो घरमा खासै तनाव थिएन मैले दुःखको अनुभुति गरेको थिइन, संघर्ष भनेको के हो संघर्षको स पनि जानेको थिइन तर म विष्णु जी सँग नजीकेदै जादा जीवन के हो जिवनमा संघर्ष गर्नु पर्छ परिश्रम गर्नुपर्छ परिश्रमको फल मिठो हुन्छ भन्ने कुरा धेरै सिके बुझे । चार घण्टी पढेर हाफ टाइम हुदा सबै साथीहरु देवल चौरमा बल खेल्न जान्थे तर म र विष्णु प्राय स्कुल पछाडीको काफल ढुङ्गामा गएर गफगाफ गर्थ्यौँ । मलाई याद छ त्यही ढुङ्गामा एकदिन मैले विष्णुजीलाई “मेरो सानो फुलबारी” शीर्षकमा कविता सुनाएको थिए । पछि त्यही कविता कक्षा ८ मा पढ्दै गर्दा मैले विद्यालयको कार्यक्रममा सुनाउँदा प्रथम भएको थिए । उनले पनि “मेरो देश” शीर्षकमा कविता सुनाएका थिए, उक्त कविता पछि विद्यालयको कार्यक्रममा सुनाउँदा सिविल ड्रेसमा आएका प्रहरीहरु ससंकित भई उनलाई गिरफ्तार गर्न खोजेको तर सरहरुले गर्दा गिरफ्तार नगरेको मलाई राम्रोसँग याद छ । त्यतिबेला उनले सुनाएको कविता अत्यन्तै मार्मिक र देशभक्ति थियो, शोषण र सामन्तको विरुद्वमा थियो अन्याय, अत्याचारको विरुद्वमा थियो । विष्णुले मेरो कविता सुनिसकेपछि कविता राम्रो छ है भनेका थिए सायद मैले जानी नजानी कोरेका कविता राम्रो छ भन्ने उनि मेरो लागि पहिलो व्यक्ति थिए । कविता लेख्नुपर्छ हामीले पढाईसँगै समाजका लागि केहि गर्नुपर्छ, आफ्नो जन्मभूमि र देशका लागि पनि केही गर्नुपर्छ त्यति सानै उमेरमा देशप्रेमी भावनाहरु उनको मुखबाट मेरो कानमा गुञ्जीरहेका शब्दहरु आजपनि मेरो दिमागमा ताजै छन् ।
<span;>भेट भएको एक बर्ष नपुग्दै विष्णु जी र म एक अर्कोमा अत्यन्तै मिल्ने साथी भइसकेका थियौँ । सायद हाम्रो रुचि साहित्यतिर पनि भएकाले होला हामी जानी नजानी कविता, गीतहरु लेख्ने र कक्षामा साथिहरूले गिज्याउलान् भनेर हामीहरु एक्लै भेट भएको बेलामा एक अर्काका सिर्जनाहरु पढ्ने र सुन्ने सुनाउने गर्दथ्यौँ । समय यसरी नै वितिरहेको थियो । कक्षा ६ को फाइनल परीक्षा पनि आयो । परीक्षा गरी सकेपछि रिजिल्ट आयो । कक्षामा प्रथम विष्णु भएछन् । म पनि जेनतेन टेन टपमा परेछु । विष्णुसँग एक्लै भेट्दा उनले, जिन्दगीमा भोगेका संघर्षका कथाहरु मलाई सुनाउने गर्थे म पनि एकोहोरो भएर सुनिरहन्थे ।
जब कक्षा ६ पास गरेर हामी कक्षा ७ मा भर्ना भयौँ विष्णुसंगै मेरो जीन्दगीमा पनि संघर्षका चाङहरु थुप्रिन थाले । वि.स. २०५२ साल श्रावण २९ गते मेरो आमा यस धर्तीबाट बिदा हुनुभयो त्यसपछि अचानक मेरो जीवनमा बाढी पहिरो आउन थाल्यो । मलाई आज पनि याद छ आमाको शुद्धीकार्य पछि बरखी बसेर सेतो कपडामा म जब लुरुलुरु विद्यालयको प्राङ्गणमा हिडिरहेको हुन्थे साथीहरु मलाई हेरेर हाँसीरहेका हुन्थे । टाउकोमा कपाल आएको थिएन, आँखामा आँखी भौँहरु आएका थिएनन्, खुट्टामा जुत्ता चप्पल थिएनन्, शरीरमा सेतो कपडा बेरेको मलाई देखेर साथीहरू जिस्कीएको देख्दा कता कता मलाई रुन मन लाग्थ्यो । आँखामा आँसु बग्न थाल्थे । मेरो मलिन अनुहारलाई देखेर विष्णुले भनेका कुरा मलाई आज पनि याद छ । संघर्ष यही नै हो साथी मानिसका जीवनमा यस्ता अनगन्ती घटनाहरु घट्छन् हामीले सहनुपर्छ । हामी संधै सही बाटोमा लाग्नुपर्छ, अरुलाई कुभलो कहिल्यै गर्नुहुदैन, अन्याय, अत्याचारको विरुद्धमा लड्नुपर्छ अनि हामी एक दिन अवश्य सफल हुन्छौ । अनि १/२ जना साथीलाई डिल्लीलाई किन जिस्क्याएको यो त सबैमा हुने हो भनी गाली गरेको पनि मलाई याद छ ।
<span;>सायद मंसिरको महिना थियो १ दिन म बिहानै आइतबारको दिन विद्यालयतिर आइरहेको थिए देउतीको थाननेर विष्णुलाई दाउराको डोको बोकेको देखेर मैले सोधेँ, “दाउरा कहाँ लैजान लागेको ?” विष्णुले जवाफ दिए, “यही बेचेर आएको पैसाले कापी कलम किन्ने हो ।” म एकछिन टोलाएँ । साँच्चिकै विष्णुमा कति आँट छ है ! मैले विष्णुलाई केहि जवाफ दिन सकिन । आमा बित्नु भयो, बुवा बुढो हुनुहुन्थ्यो, दाइभाउजुहरु छुट्टिनुभयो । अब मैले पनि विष्णु जस्तै केहि गर्नुपर्छ एकाएक मेरो मनमा पनि संघर्षका भावहरु पैदा भए । त्यसपछि मैले पनि गाउँबाट चल्ला, भाले लिएर लिम्सा १०/५ रुपैयाँ फाइदा गरी बेच्न थाले त्यसपछि मलाई पनि कापी कलमको समस्या भएन । विष्णुले दाउरा बेचेर पढ्नको लागि जुटाएको खर्च र मैले भाले (चल्ला) बेचेर पढ्नको लागि जुटाएको खर्च आज मलाई कता कता सपना जस्तै लाग्छ ।
<span;>समय यसरी बितिरहेको थियो । वि.स. २०५२ साल फागुन १ गते देखि देशमा जन युद्ध शुरु भयो । विष्णुलाई जनयुद्धले छोइसकेको रहेछ । “जनयुद्ध अन्याय र अत्याचारको विरुद्धमा हो, शोषण र दमनमा परेका व्यक्तिको मुक्तिको लागि हो, हामी सबैले सहयोग र सपोर्ट गर्नुपर्छ”, विष्णुले भनेका यी देशप्रेमी भावनाहरु मेरो दिमागमा अझै ताजै छन् । जनयुद्व जिन्दावाद ! भनेर कापीका पानाहरुमा लेखेका अक्षरहरु विष्णुले मलाई देखाउँदा मैले पनि आफू हिड्ने बाटोका ढुङ्गाहरूमा खरीले जनयुद्ध जिन्दावाद भन्दै लेख्न थाले । कापीका पानाहरूमा जनयुद्ध जिन्दावाद भनेर कोर्न थाले । मैले खासै राजनीति बुझेको थिइन, जनयुद्व बुझेको थिईन तर पनि विष्णुसँगको संगतले मलाई देश प्रति माया लाग्न थाल्यो, जनयुद्वप्रति चासो बढ्न थाल्यो । तर पछि कसैले यस्तो लेख्नेलाई प्रहरीले पक्रिन्छन् विष्णुलाई पनि पक्रिन खोजेका थिए भन्ने सुनाएपछि मैले त्यस्तो लेख्न छाडेँ । जनयुद्व शुरु भएपछि फागुन चैत्रमा खासै राम्रोसँग पठनपाठन भएन, म पनि विद्यालय नियमित उपस्थित हुन सकिन । विष्णुबाट मैले धेरै कुराहरु सिक्न बाँकी थियो । २ बर्षको अवधिमा कहिलेपनि हामीले एक आपसमा ख्याल, ठट्टा र हाँसी मजाक गरेनौँ । सधैं गम्भीर भएर कुरा गर्यौं । संघर्षका कथा व्यथाहरु आपसमा साटासाट गर्यौं । सुखदुःखका कुराहरु गर्यौं ।
<span;> समय सधैँ कहाँ एकनासको हुँदो रहेछ र ! मलाई समस्याले चारैतिर घेर्न थाल्यो दुःखका दिनहरु बढ्दै गए । कक्षा ७ को फाइनल परीक्षा दिइसकेपछि रिजिल्ट आयो । विष्णुसँगै म पनि पास भएछु । तर घरयासी समस्याले गर्दा म विष्णुसँगै कक्षा ८ मा भर्ना हुन सकिन । विष्णुबाट धेरै कुराहरु सिक्न बाँकि थियो । बाध्यताबस म स्कुल छाड्न बाध्य भएँ ।
करिब २ बर्षसम्म बिष्णुजीसँग मेरो भेट कहिल्यै भएन । देशका धेरै ठाउँहरूमा जनयुद्धले छोइसकेको थियो । मैले पढाई छाडेको पनि दुई बर्ष भई सकेको थियो । वि.स. २०५५ साल भदौको पहिलो सातातिर होला म विशेष कामले घाटबजार तिर गएको थिए । साँझ छिप्पिदै थियो । कसैले पछाडीबाट के छ हालखबर चिनिएन ? भनेको सुने आवाज चिनेजस्तो लाग्यो पछाडी फर्किएँ, विष्णुजी रहेछन् । उनीसँग अर्को एकजना साथी थिए । हामीले हात मिलायौँ । हामी ६, ७ कक्षामा एकदमै मिल्ने साथी थियौँ भन्दै अर्को साथीसँग विष्णुले मलाई परिचय गराए । विष्णुले लिम्सामा पढ्दा प्रहरीले पक्रने संकेत पाएपछि म जुम्ला पढिरहेको अहिले १० कक्षामा पढ्दैछु यो कुरा यहाँ कसैलाई नभन्नु भनें । मैले पनि घरयासी समस्याले गर्दा पढाई छाडेको कुरा विष्णुलाई सुनाए । त्यसपछि विष्णुले पनि पढाइ एकदमै ठूलो चिज हो पढ्यौ भने हामी ठूलो मान्छे बन्न सक्छौ । समाज बनाउन सक्छौ र देश बनाउन सक्छौ त्यसैले पढाई छाड्नु हुन्न साथी । भोलीबाटै स्कुल गईहाल्नु यहाँ अफ्ठ्यारो छ भने मसँग, जुम्लामा जाउँ । त्यतै सुखदुःख गरी पढौँला भनेको कुरा आज म सम्झिन्छु । करिव आधा घण्टा हामीले कुरा गर्यौँ । साँझ झमक्कै परिसकेको थियो त्यसपछि हामी विदा भयौँ । म सरासर घर गएँ । मलाई खान मन लागेन । बिस्तारामा गएर पल्टिएँ र विष्णुका कुरा हरु झलझल्ती सम्झिन थालेँ । जीवनमा पढाइ एकदमै ठूलो हो …… । राति निद्रा लागेन विष्णुका कुराले मलाई फेरी स्कुल जान मन लाग्यो तर के गर्ने मसँग स्कुल भर्ना हुने र किताब किन्ने पैसा थिएन । एकछिन सोचे के गर्ने गर्ने………?
भाद्र महिनाको अन्तिम साता दिदी जाजरकोट खलंगाबाट घर आउनुभयो । साँझ परिसकेको थियो । दिदीले आफूले बोकेको झोला बिसाउनुभयो । झोलाबाट एक सिट किताब निकाल्नु भयो किताबको बाहिर कक्षा ८ लेखेको थियो । दिदीले ल भोलिदेखी स्कुल जाने भन्नुभयो । मेरो खुसीको सिमा रहेन । मलाई पुनर्जन्म भएको अनुभुति भयो । भोलिपल्ट बिहानै म विद्यालय गए विद्यालयमा कक्षा ८ मा भर्ना भइसकेपछि म नियमित विद्यालय जान थाले । विद्यालयमा अहिले विष्णु थिएनन् । ८ कक्षाको लाइनबाट म कक्षा १० को लाइन नियाल्थे कोही पुराना साथी कोही नयाँ तर त्यो लाइनमा विष्णु थिएनन् । म विद्यालय पछाडीको काफल ढुङ्गामा जान्थे विष्णुले भनेका कुराहरू सम्झन्थें । उनले सुनाएका कविताहरु सम्झन्थें । क्षणक्षणमा मेरो मन खिन्न हुन्थ्यो । तर उनले सुनाएका जिन्दगीको भोगाई र संघर्षका कथाले फेरी म उत्साहित हुन्थें । मैले पहिलेभन्दा धेरै मिहिनेत गरेर पढ्न थालें । कक्षा ८ को जिल्ला स्तरीय परीक्षा पनि नजिकै आइरहेको थियो । मैले थप मिहिनेत गरेर पढ्न थाले कक्षा ८ को परीक्षा भयो रेजिल्ट पनि आयो म कक्षा प्रथम भएर ९ कक्षामा गएँ । मेरो पढाई थप राम्रो हुँदै जान थाल्यो । विद्यालय तथा जिल्लामा भएका विभिन्न साहित्यिक कार्यक्रमहरुमा मैले विभिन्न स्थानहरु प्राप्त गर्दै गएँ । त्यसपछिका दिनहरुमा मलाई पढाईप्रति समस्या भएन कक्षा ९ मा स्कुल प्रथम भएँ । कक्षा १० को टेस्टमा पनि प्रथम एस.एल.सी. मा पनि प्रथम भएर मैले सजिलैसँग पास गरेँ । विष्णुको संगतले जिवन के हो संघर्ष किन गर्नुपर्छ मैले धेरै बुझिसकेको थिएँ, धेरै सिकिसकेको थिएँ ।
समय बितिरहेको थियो । मेरो अध्ययन निरन्तर राम्रो हुँदै गइरहेको थियो । उता विष्णुजी पनि प्रवेशिका परिक्षा उत्तीर्ण गरेर सुर्खेतमा अध्ययन गरीरहेको खवरले म अत्यन्तै हर्षित थिए । एसएलसी पास गरिसकेपछि सुर्खेत जाने र विष्णुसँग बसेर धेरै कुराहरु सिक्ने मैले योजना बनाई रहेको थिए । तर दुर्भाग्य वि. स. २०५६ साल फागुण महिनातिर म कक्षा ९ मा अध्ययन गरिरहेको बेला विद्यालयमा विष्णु (विनोदलाल बि.क.) लाई सुर्खेत प्रहरीले गोली हानेको कुरा सरहरूबाट सुने म छाँगाबाट खसेजस्तै भएँ । मैले भगवानसँग एउटै पुकार गरेँ, ‘हे भगवान प्रहरीको गोलीबाट विष्णु घाइते मात्र होस् । ऊ छिट्टै सन्चो भएको खबर सुनियोस् ।’ तर मेरो पुकार भगवानले सुनेनन् एकैछिन पछि उनले सहादत प्राप्त गरेको खबर सुनियो । मलाई पढ्न मन लागेन मैले पछाडीका कक्षा छोडेर घर आएँ । खान मन लागेन पढ्न, मन लागेन तर मैले के नै गर्न सक्थे र………..?
<span;>वास्तवमा विष्णु (विनोदलाल बि.क.) एक निडर, शाहसी, बहुप्रतिभाशाली, सरल, अनुशासित कर्मशील, न्यायप्रेमी, समाजसेवी र सहयोगी व्यक्ति थिए । उनी समाज, गाउँघर र देशका गहना नै थिए । अझ त बारेकोट र बारेकोटीका लागि एक अमूल्य हिरा थिए, जुन हिरा यो देशले र बारेकोटले पाउला नपाउला तर विष्णु (विनोदलाल बि.क.) लाई कहिले पनि पाउने छैन तर पनि हामीले उनको त्याग, तपस्या र अठोटलाई कहिल्यै पनि बिर्सनु हुँदैन । हामीले कहिल्यै पनि भुल्नु हुदैन । हाम्रो बारेकोटले भुल्नु हुँदैन र यो देशले बिर्सनु हुदैन….। हार्दिक श्रद्वाञ्जली प्रिय साथी विष्णु ! ……सहिद विनोदलाल बि.क. (क.मोहित) तिम्रो आत्माले सधै स्वर्गमा वास् पाइरहोस् !
(लेखक : डिल्ली थापा बारेकोट गाउँपालिका वडा नं. २ जाजरकोट हाल दाङ, सहिद विनोदलाल बि.क.का नि.मा.बि तहमा अध्ययन गर्दाका कक्षामा सबैभन्दा निकट र मिल्ने साथी हुन् । कक्षा ८ पछि राजनीतिक आस्थाकै आधरमा प्रहरी प्रशासनले बिनाकारण धरपकड गर्ने र ज्यान समेत लिने भएकोले विनोदलाल बि.क. ले आफ्नो अध्ययन गरिरहेको पाठशाला छोड्नुका साथै विष्णु बि.क. बाट विनोदलाल बि.क. समेत नाम बनाएर नयाँ पाठशालामा अध्ययन गरेका थिए । लेखकले यहाँ आफु सँग पढ्दाको नाम लेखमा प्रयोग गरेका छन ।)