सहादतको २५ औँ वर्षमा सहिद विनोदलाल वि.क.लाई सम्झिदा


पृथ्वीको उत्पतीदेखि जीव उत्पती र विकासको प्रक्रियामा ठुला–ठुला उतारचढावहरु देखा परे । ती उतावचढावहरुले मानव जातिको चेतनामा ठुलो प्रभाव पारे । चेतनाको विविध क्रिया–प्रक्रियाले गर्दा अन्तत मानव मस्तिष्क श्रमजीवी र परजीवी गरी दुई विश्व दृष्टिकोणमा विभाजन हुन पुग्यो । परजीवी चिन्तनले विश्व मानव जाति माथि लुटको स्वर्ग मच्चाएपछि श्रमजीवी चेतहरु आफ्नो वर्गीय अस्तित्व रक्षाका खातिर जुर्मुराएको पाईन्छ । त्यही श्रमजीवी वर्ग – समुदायको परिवारका एक होनाहार क्रान्तिकारी योद्धाको नाम हो विनोदलाल वि.क. (क.मोहित) ।

जाजरकोट जिल्लाको उत्तरी भागमा पर्ने बारेकोट गाउँपालिका–४ (साविक नायकवाडा गा.वि.स.–३) जुम्कस्थित सदियौंदेखि कथित वर्णश्रम व्यवस्थाले जातीय उत्पीडनमा पारेको, निम्न वर्गीय किशान दलित परिवारमा वि.स. २०३६ साल असोज २२ गतेका दिन हर्क बहादुर र आम जयादेवी वि.क. को तेस्रो सन्तानको रुपमा जन्म भएको थियो । ग्रामीण जनजीवन, अभाव र गरिवीका कारण तेस्रो सन्तानको रुपमा जन्मे पनि उहाँ पछिका चार भाईहरु जन्मेर शिशुअवस्था मै निधन भएपछि विनोदलालका एक दाजु भिम बहादुर र बहिनी पुतली मात्र हुनुहुन्छ । घरमा कान्ठो (कान्छो) भनेर बोलाए पनि उहाँको बाल्यकालको नाम भने विष्णु हो । तर रुपमा उज्यालो, गोरो भएकोले साथिभाईहरुले कहिलेकाहीँ काले, सेते जस्ता नामले पनि बोलाउने गर्दथे ।

पढाइमा कहिल्यै कमजोर नभएका विनोदलाल वि.क. प्रवेशिका परिक्षा पछि २०५६ वैशाखमा आफ्नो अटो डायरीमा लेख्नुहुन्छ “पाठशालाको अभाव र मेरो आमाबुबाको असाक्षरताको कारणले नौ बर्षको उमेरमा मेरो प्राथमिक शिक्षाको श्रीगणेश भयो । २०४९ सालमा धौधौ गरि प्राथमिक शिक्षाबाट प्रमोसन भएपछि नि.मा.बि. शिक्षाको लागि मैले श्री सिता नि.मा.वि. मा भर्ना हुने अवसर प्राप्त गरें । दुर्भाग्यवस मैले त्यस विद्यालयमा सात दिन मात्र पढें । मेरो बुबाको र दाजुको प्रदेश निवासले मैले विद्यालयबाट सन्यासी हुन बाध्य हुनु पर्‍यो । जब विद्यालयबाट सन्यासी भएपछि मैले भैंसी पालेर बस्न बाध्य भए । भैंसी पाल्दाको समयमा मैले निकै दुःख भोग्नु परेको थियो । जस्ले मेरो हंसलाई अझै तर्साउछ । र व्याख्या गरेर साध्य नै छैन ।” आफ्नो बाल्यकालीन जीवनमा अनेकौं दु:ख र पीडाहरुसँग साक्षात्कार गरी दु:ख र पीडासँग पनि आनन्दले रमाउन अभ्यस्त विनोदलाल आफ्नो अटो डायरीमै जीवनमा दुःखहरुलाई यसरी चित्रण गर्नुहुन्छ, “मेरो जीवन भनेको दुःखको संगम हो ।  साउनको भेल पैरो हो । चैते खडेरी हो । शिशिरको तुसारे हो । अनि बाल्यकाल देखि नै दुःख खेप्दै आएको असह्य फल हो ।

जीवनमा दुःखका पलहरु असीमित छन् । जुन लेख्दा डायरी नै नपुग्ने डर छ । बसन्तले काँचुली फेर्दा पालुवा पलाउँछ । तर मेरो जीन्दगीको क्षणमा दुःखमात्र अदलबदल भएका छन् । निकास भनेको एक अवस्थाको दुःख अर्को चित्कारमा मात्र रुपान्तरण भएका छन् ।” दुःख र चित्कारको अदलबदलले विनोदलालको जीवनमा सायद कुनै नविन चेतनाको प्रारुप देखा परिसकेको थियो । बाल्यकालमा नम्र र सहनशील मात्रै नभएर आफ्नो तर्क र मतमा पनि त्यतीकै दृढ रहने विनोदलाल यतिवबेला भने घरायसी जिम्मेवारी र १८ महिनासम्म भैंसी गोठालो हुँदा साँवा अक्षर समेत बिर्सिसकेका थिए । श्रमरोजगारबाट घर फर्केपछि दाईले विद्यालय जानुपर्ने प्रस्ताव गर्दा साँवा अक्षर पनि बिर्सेको बताउने विनोदलाल, विद्यालय जानुपर्ने अडान कसेका दाजुसँग विद्यालय नजाने अडान गरे पनि लामो समय दाजुभाईबिच चलेको बहसबाट विनोदलालले हारेपछि पुनः विद्यलयमा पढ्ने अवसर प्राप्त भयो ।

पुनः विद्यालय पढ्ने अवसरबारे आफ्नो अटोमा लेख्नुहुन्छ “लगातार १८ महिनासम्म भैंसी गोठालाको रुपमा रहेर सम्पुर्ण घरायसी बोझ समाल्नु परेको थियो । तत्पश्चात मेरो दाजुको स्वदेश फर्काईले मलाई पुर्ण रुपमा पढ्ने अवसर प्राप्त भयो । अनि म मा.वि. लिम्सामा पुन: कक्षा ५ बाट पढ्न सुरु गरें । त्यस अवस्थामा मेरो पढाईमा कुनै राम्रो लक्षण थिएन । त्यसपछि मलाई मेरै साथीहरुको दुर्वचनले र गुरुहरुको अर्तीले राम्रोसँग पढ्ने अभिरुची पैदा गर्‍यो । परिणाम स्वरुप म कक्षामा तेस्रो स्थानमा नाम निकाल्न सफल भएं ।” यसरी विनोदलालले आफ्ने मुख्य कर्म पढाई र सहायक कर्म घरायसी कामलाई एक वर्ष पुरा भएको थियो । यसरी पढने क्रममा आफ्नो अर्कैले घर (भुईतलामा पशुवस्तु हुल्ने वा बाँध्ने र माथि मान्छे वस्ने गरेर बनाएको घर) को भुँईतलामा आफ्नो पढ्ने र सुत्ने कोठा बनाउनुभएको थियो । कोठामा काठबाट बनेको एउटा कुर्सी र सुत्ने खाट बाहेक अरु अटाउदैन्थे । घरदेखि विद्यालय टाढा भएपनि पढ्ने क्रममा घर, आँगन बढार्ने, भाँडा धुने जस्ता स-साना काम आफै गरेर घरमा सघाएको कुराहरु बारम्बार विनोदलालको आमाले सम्झनुहुन्थो । यो समयमा विनोदलालले आफ्नो जीवनको सबैभन्दा धेरै समय पढाईमा खर्चनुभयो भने परिवारको साथ पनि त्यत्तिकै पाउनुभयो । यस समयको पढाईको बारे अटोमा यसरी लेख्नुहुन्छ “मलाई पढ्ने अभिरुची बढ्दै गयो  र प्रथम  हुने प्रलोभनले छोडेन अनि कडा परिश्रम गरेबापत कक्षा ६ बाट ७ मा जाँदा प्रथम श्रेणीमा  (पहिलो स्थानमा) पास भएं । मेरो सपना साकार भएजस्तो लाग्यो । अझ कडा परिश्रम गरेबापत म नि.मा.वि. स्तरीय शिक्षाबाट प्रमोसन हुँदा राम्रो अंक एवं प्रथम श्रेणीमा (विद्यालय प्रथम) हुन सफल भएं । नि.मा.वि. स्तरको शिक्षा राम्रोसंग हाँसिल गरें ।” यो समयमा विनोदलाको कोठामा आफुले बत्ती निभेको र सुतेको कहिल्यै नदेखेको दाई भिमबहादुर सम्झिनुहुन्छ ।

 

 

जीवनका तीतामीठा भोगाईसँगै नि.मा.वि. स्तरको पढाई पुरा भयो । विनोदलाल साथीभाईको प्यारो र एक उदाउँदो प्रतिभाका रुपमा स्थापित भईसक्नुभएको थियो । ढिला पढाई सुरु गर्नु र बिचमा पढाएमा आएका बाधाअवरोधले होला उमेर पनि १७/१८  वर्षे लक्का जवान भैसकेको, सामाजिक विकृती, विसंगती, अन्याय र अत्याचारलाई सही गलत भनी छुट्याउन सक्ने दृष्टिकोण पुर्ण रुपमा विकास भैसकेकोले श्रमजीवी उत्पीडित जनतामाथि शोषक फटाहाले अन्याय अत्याचार गरेको देखेर सहनै सक्नुहुन्नथ्यो ।

 

 

कक्षा ६ मा पढ्ने क्रममा नै उहाँ तत्कालीन जनमोर्चा (माओवादीलाई गाउँतिर जनमोर्चा भन्थे ।) को काम र राजनैतीक मुद्दादेखि प्रभावित भए पनि २०५२ सालमा ७ कक्षामा पढ्ने बेला विद्यार्थी संगठनको मा.वि. मूल एकाई कमिटी सचिव भएर औपचारिक रुपमा संगठनिक जिम्मेवारी लिएर कार्यसम्पादन गर्नलागेको कुरा उहाँका कक्षा सहपाठी लालबहादु्र नेपाली लगायतले सम्झनुहुन्छ ।

 

विद्यालयको एक कार्यक्रममा उहाँले आफ्नो कविता वाचन गरेपछि अनुसन्धानमा खटिएका सिभिल पोषाकका प्रहरीले सुनेपछि त्यस कविताको भावले तिनीहरु सशंकित भएको र गिरफ्तार गर्ने कुरा केही शिक्षक र साथीहरुले चाल पाएपछि उहाँ समयमै त्यस कार्यक्रमबाट निस्केर बच्नुभयो ।

 

बारेकोटमा भएका माओवादी संगठित सदस्य, विद्यार्थी, आस्थावान र सुभेच्छुक तथा शुभचिन्तक सबैलाई प्रहरीले धरपकड, गिरफ्तार र यातना दिन थाल्यो भने अझ प्रहरीको निशानामा विद्यार्थी पर्न थाले । औपचारिक रुपमा नै संगठनको जिम्मेवारी लिएर होला भनिन्छ जन्मदै कोही पनि शत्रु हुदैन शत्रु त बन्छ । उहाँको क्रान्तिकारी चेत र गलत कुराका विरुद्ध आफ्नो स्पष्ट धारणा राख्ने स्वभावले सर्वसाधारण मान्छेको प्रिय र जाली फटाहाहरुको कुदृष्टि पर्न थाल्यो । विभिन्न चुनौतीका बावजुद माध्यामिक तहको पढाइको सुरु गर्नुभयो । ८ कक्षामा पढ्दै गर्दा पढाइमा पुनः बाधा सिर्जना भयो । दिनहुँ जस्तो घरमा प्रहरीले निगरानी राख्ने, रातीमा छापा हान्ने, घर परिवारलाई मानसिक यातना दिने, लगायत प्रहरीको हर्कतले विनोदलालमा निकै खतरा भएको कुरा घरपरिवार र आफन्तले सहजै बुझिसकेका थिए ।

 

 

केही समयको लागि दाजुभाई भारतमा बस्ने आफन्त र श्रम रोजगारको शिलशिलामा त्यतै भएका बाबासँग पनि भेट्नेगरी २०५२ फागुनको अन्तिम  हप्ता भारततिर हिड्नुभयो । सबैसँग भेटघाटसँगै करिब ३ महिनासम्म त्यतै बस्नुभयो । आफ्नो पढाई यो बिचमा गर्न नपाएकोले उहाँ चिन्तीत भएको कुरा दाजु अहिले पनि ताजै सम्झनुहुन्छ । नेपालमा खतरा भएकोले यतै पढ्न दाजु र आफन्तले सल्लाह दिए पनि विनोदलालले भने बाँचे पनि नेपालमै पढ्ने मरे पनि आफ्नो वर्गीय मुक्तिको लागि नेपालमै मर्ने अडान राख्नुभयो । आफ्नो पीडालाई कसैसँग प्रत्यक्ष पोख्न नसकेर एक दिन राती सुतेको समयमा ओछ्यानमा रोईरहेको दाजुले थाहा पाएपछि “के भयो कान्छा ?” भनेर सोध्दा “बहिनीको सपना देखे ?” भनेर जवाफ दिनुभएछ । अनि लगत्तै अर्को दिनमा नेपाल जानुपर्छ अब भनेर आउन तत्पर हुनुभएछ ।

 

 

उहाँका कान्छा मामा दिलबहादुर नेपालीले गाडी भाडा लगायत अन्य खर्च पुग्नेगरी आर्थिक व्यवस्थापन गर्न सहयोग गरेपछि पुनः ३ महिना पछि २०५३ बैशाखमा दाजुभाई नेपाल फर्केको क्षणलाई आफ्नो डायरीमा यसरी लेख्नु हुन्छ । “नि.मा.वि. स्तरको शिक्षा राम्रो संग हाँसिल गरें । अनि माध्यमिक शिक्षाको श्रीगणेश भयो । मा.वि. मा पनि राम्रो अंक ल्याएर पास गर्ने प्रलोभन नभएको होईन । तर पुनः बिचमा अबरोध स्वरुप मलाई समस्या खडा भयो जसको कारण मैले ३ महिनासम्म भारत बसेर पुनः स्वदेश फर्के ।”

 

 

 

 

यसरी नेपाल फर्के पनि यता भने प्रहरीले खोजी जारी राखेको थियो । पढिरहेको विद्यालयमै पढ्न निकै गाह्रो भएर त्यो विद्यालयमा नाम काटेर पुनः भर्ना हुने कुरामा विनोदलाल सहमति नभएपछि पुन: अर्को विद्यालयको खोजी गर्नुपर्ने भएकाले यसै क्रममा दाजुभाई जुम्लाका आफन्तको सम्पर्कमा पुगेपछि डिल्लीचौरमा रहेको श्री ऋणमोक्ष मा.वि. मा आफ्नो नाम विष्णुबाट विनोदलाल बनाएर भर्ना भई मा.वि. स्तरको पढाई शुरु गरेको कुरालाई आफ्नो अटोमा यसरी लेख्नुहुन्छ “तर आफ्नो विद्यालयमा नाम काटेर पुनः भर्न गर्ने निर्णयमा असहमति भए जसको कारण म त्यो विद्यालया छोडी पुन: नव पाठशालाको खोजीमा लागें । हिड्ने क्रममा संयोगले म जुम्लाको ऋणमोक्ष मा.वि. डिल्लीचौरमा पुगें र त्यहाँ पढ्ने अवसर पाए ।”

 

 

स्वयं विनोदलाललाई पनि थाहा थिएन जुम्लाको पढाई सँगसँगैका दिनचर्याहरु कस्तो हुन्छ ? अनि वर्ग शत्रुबाट के कस्ता प्रहारहरु हुन्छन ? यी सबै समयको गर्वभित्रै थिए । विनोदलाललाई भने पहिलो काम पढाई र दोस्रो काम जनताको आवाज नै थियो । अझ भनौं जनताको राज्यव्यवस्था थियो । विद्यालयमा विद्यार्थी भएपनि समाज र शिक्षक विद्यार्थीको लागि उहाँ एक सक्रिय क्रन्तिकारी योद्धा नै हुनुहुन्थ्यो । यो समयमा उहाँले आफुलाई एक स्पष्ट वक्ता, सभ्य, शिष्ट तथा आदर्श व्यक्तित्वको छवि बनाईसन्नुभएको थियो । यो वर्ष कक्षा ८ को पढाई त्यती राम्रो नभएकोले दोस्रो स्थानमा पास भएको र त्यसपछि ९ कक्षाबाट १० कक्षामा र टेष्ट परीक्षामा समेत प्रथम स्थान हाँसिल गरेको आफ्नो अटोमा यसरी उल्लेख गर्नुहुन्छ “त्यस बर्षमा त्यति राम्रो सँग पढ्न भने सकिएन । दोस्रो श्रेणीमा (कक्षामा दोश्रो स्थानमा) मेरो नाम निस्क्यो त्यस पछि पुन: कक्षा ९ मा पनि प्रथम श्रेणीमा (कक्षा प्रथम) हुन सफल भए । अनि राम्रो स्थान ल्याएर मैले टेष्ट पास पनि गरे ।”

 

 

विद्यालयमा मात्र प्रथम नभई खेलकुद, कलासाहित्य, साँस्कृतिक कार्यक्रम, नाटक मञ्चन, अभिनय, गीत लेखन तथा गायन, कविता, निबन्ध लेखन तथा वाचन, वक्तृत्वकला वाचनमा समेत अब्बल विनोदलाल समय सापेक्ष घटना र परिघटनालाई समाज विज्ञानको नियम अनुसार बुझ्ने र द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणको आधारमा विश्लेषण तथा संश्लेषण गर्नसक्नुहुन्थो भन्ने कुरा टेष्ट परीक्षा पछि उहाँको डायरीमा लेखेको  “बालीदेऊ न दियो” शिर्षककोे कविताबाट प्रष्ट हुन्छ :
किन दियौ तिमीले मलाई वेदनाका छेद,
जिन्दगीमा कसैसँग हुने छैन भेट,
आशा तिम्रो विश्वकोषमा ताज महलमा बस्ने,
के लोभ गर्नु जिन्दगीको हिड्दा हिड्दै खस्ने,
बन्छ होला तिम्रो संसार देख्न पाउने छैन,
यो मुटुको घाउ मेट्ने कोहि चिकित्सक भएन,
सुन्दर संसार आफ्नो हो यो हाँसीहाँसी हिँड,
रुढीवाद र पुजीवादलाई निमुख गर्ने हतियार भिर,
असमानता देख्न मैले बरु नजन्मनु थियो,
अन्धकारलाई पन्छाउन बालिदेउन दियो ।

 

मानिसका अनगन्ती रंगीन सपना र जीवनमा अनिवार्य आउने अनिश्चित मृत्यको द्वन्द्वात्मकतालाई पकड्दै यो सुन्दर संसार आफ्नो भएकोले हाँसीहाँसी हिड्न सुझाउँदै रुढीवाद र पुँजीवादलाई निमुख गर्ने हतियार भिड्ने आवश्यकतालाई समेत आफ्नो साहित्य मार्फत व्यक्त गरेको पाईन्छ । साथै आफुलाई वेदनाका छेदहरुले प्रहार गरेको र जीवनमा कसैसँग भेट समेत नहुने र यो संसार अझै प्रगति र निर्माणको दिशाउन्मुख भएपनि आफुले देख्न नपाउने कुरालाई निश्चित गर्दै आफ्नो विरह, पीडा र लक्ष्यमा आएका अवरोधहरु पार गर्ने कुनै त्यस्तो योग्य मार्गदर्शक नभएको समेत कविता मार्फत व्यक्त गरेको एक वर्ष पछि उहाँको सहादत हुनुले केही रहस्यमय अर्थ राख्दछ । अर्थात आफु वर्गीय मुक्तिको महासमरमा अन्तर मनदेखि समर्पित भएकोले विना हड्बडाहट सबै किसिमका दासताबाट मुक्त भएको जीवन या संघर्षको मैदानमा हुने वीरगति मात्र आफ्नो सामु भएको कुरा निश्चित गर्नुहुन्छ । समाजमा भएको वर्गीय खाडललाई देख्नको लागि मात्र हो भने नजन्मेकै भए हुन्थ्यो, जन्मेर यो समाजमा भएको वर्गीय असमानता जानी वा नजानी स्वीकार्नु एक किसिमको अन्धकार भएकोले यसलाई पन्छाउनको लागि क्रान्तिकारी वा प्रगतिशील विचारले आम शोषित, उत्पीडत वर्ग, समुदायलाई सुशिक्षित गरी समानताको घाम झुल्काउन कविता मार्फत विनोदलालले सबैलाई आह्वान गर्नुृभएको छ ।

 

आफ्नो कोमल मन, तीक्ष्ण बुद्धिका साथसाथै हरेक काममा ईमानदारी र वर्गप्रेमभाव राख्ने विनोदलाल बालबालिका देखि वृद्धवृद्धाको मन मस्तिस्कामा वस्न सफल हुनुहुन्थ्यो । उच्च विचारका धनी व्यक्तित्व भएका कारण जुम्ला चौधबीस बासी जनसमुदायले विनोदलाल बि.क. लाई देखेर तत्कालीन माओवादीप्रति पनि उत्तिनै आकर्षित भए । पढाई सँगसँगै भूमिगत राजनीतिमा सक्रिय विनोदलाल २०५५।०५।१९ गते मृगेन्द्र सम्झना चिकित्सा गुठीद्वारा जुम्ला जिल्लाका मा.वि.मा संचालन गरिएको ध्रुमपान नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय निबन्ध प्रतियोगीतामा तृतीय, अर्को वक वक्तृत्वकलामा द्वितीय भई नगद सहित प्रमाणपत्र प्राप्त गरी आफु पढेको विद्यालयको गरिमा समेत बढाउनु भएको थियो ।

 

टेष्ट परिक्षा पछिको प्रवेशिका (SLC) को तयारी सँगै जुम्लामा अध्ययनका तीन बर्षको आखिरी क्षणमा प्रवेश गर्दै हुनुहुन्थ्यो विनोदलाल । यो समय राम्रो तयारी गरेर परेक्षा पनि राम्रैसँग दिएको आफ्नो डायरीमा उल्लेख गर्दै भन्नुहन्छ “परीक्षा सिध्याएको दिनमा असाध्यै खुसी लागेको थियो तर कालो बादल मडारिएर पुनः दुःखको बर्षा गरायो । परिणाम स्वरुप म निर्दोष र लगनसिल बिद्यार्थीलाई बिभिन्न आरोप–प्रतिआरोप लागाएर ५ दिनसम्मा हिरासतको चिसो र तितो अवस्थामा दिन गुर्जान बाध्य बनाइयो ।” उहाँका खुसीहरु एकाएक हिरासतको चिसो बन्द कोठामा भौतिक शरीरको यातनाको पिडासँगै कुण्ठीत भए । करिब एक हप्ताको हिरासत बसाईसँगै यातना पाउँदा पनि पार्टीका कुनै गोप्य कुराहरु नखोली तारीखमा खुल्ला आकाशमा फर्कनुभयो । यो तारीख नभएर आफुलाई मार्ने राज्यको षड्यन्त्र हो भन्ने कुराको चाल पाएर केही समयको तारीखलाई पनि छोड्नुभयो । प्रवेशिकाको नतिजा २०५६ मा प्रकाशित भएपछि उहाँ राम्रो अंक प्राप्त गरी दोश्रो श्रेणीमा उत्तीर्ण भई तत्कालीन नायकवाडा गा.वि.स.बाट प्रवेशिका उत्तीर्ण गर्ने पहिलो दलित विद्यार्थीको ईतिहास समेत रचना गर्नुभयो ।
प्रवेशिका उत्तीर्ण गरेलगतै पढेकै विद्यालय ढिल्लीचौरमा त्यस विद्यालयका शिक्षकहरुले र गाउँको विद्यालय मैनामा गाउँका सबैले पढाउन अनुरोध गरे पनि उच्च शिक्षा हाँसिल गर्ने मनसायले ऋण सापट गरेर सुर्खेत बहुमुखी क्याम्पसमा आई.ए. मा मुल बिषय गणित लिएर अध्ययन गर्न थाल्नुभयो । क्याम्पस जीवनको अध्ययनसँगै विद्यार्थी राजनीतिलाई अंगाल्नुभएका विनोदलालले केही दिनसम्म विद्यार्थीलाई निजी शिक्षण (कोचिङ)  समेत गर्नुभयो । पार्टी कै विभिन्न पत्रपत्रिकामा आबद्ध हुनुको साथै विद्यार्थी संगठनमा सक्रिय भएर काम गर्नुभयो । सुर्खेतका प्रशासनिक, व्यापार, शैक्षिक लगायतका क्षेत्रमा स्थापित विनोदलाल सरल स्वभाव र गम्भीरताले होला एकपछि अर्को गर्दै पार्टी भित्र र बाहिर उहाँको व्यक्तित्व चुलिइरहेको थियो । विनोदलालमा घर परिवार, गाँउसमाजको आशा भरोशाको केन्द्र मात्र नभएर मुलुककै लागि योगदान पुर्‍याउन सक्ने प्रचुर सम्भावना प्रशस्तै पाईन्थ्यो ।

 

आई.ए. मा पढ्दै गर्दा २०५६ सालको असोजको महिनामा घरमा आउँदा आफ्नै कामले गर्दा तिहार भन्दा अगावै बहिनीको टिकामाला लगाएर सुर्खेत लाग्नुभयो । सुर्खेत पुगेपछि आफु सकुशल पुगेको र आफ्नो अध्ययनलाई निरन्तरता दिएको पत्र समेत घरमा पठाउनुभयो । यो बिचमा हुने पत्र आदानप्रदान र आफन्तको खबरबाट विनोदलालको सबै कुरा सामान्य भएको घरपरिवारलाई जानकारी छ । यो बिचमा उहाँका दाई भारतबाट सुर्खेत आएर भेट्दा आफुलाई कुनैै आर्थिक समस्या नहुने र आफुलाई आफ्नो शिक्षण कामबाट खर्च पुरा हुने समेत कुरा गर्नुभयो । दाजु पुनः भारत फर्किनु भयो ।

 

२०५६ फागुनको ३ गते विद्यार्थी संगठनको काम लिएर सुर्खेतको करेखोला विद्यालयमा विद्यार्थीहरुसँग छलफल गरी संगठन निर्माण गरी भ्यालीमा फर्कीने क्रममा जंगलको छेउडाँडामा भ्यान सहित लुकेर बसेका नेपाल प्रहरीको पोषाक पहिरेका हतियारधारी जल्लादहरुले एकाएक हिंड्दै गर्दा बिनासंवाद आकास्मिक गोली हानी घाईते बनाई पुनः गोली हानेसँगै विनोदलालले २० वर्ष ४ महिना ११ दिनको कलिलो उमेरमा वीरगती प्राप्त गनुभयो भने सँगैको साथीलाई नियन्त्रणमा लिएर वेपत्ता पारे । दुःको कुरा आज पनि परिवारलाई यसरी नै विनोदलालको सहादत भयो भनेर आधिकारिक कुरा कसैले पनि सुनाएको छैन्  । हुनसक्छ त्यतिबेलाको नेतृत्वहरुले उहाँको शवलाई व्यस्थापन गरे होलान् । घटनाको अनुसन्धान गरेर कुनै निष्कर्षमा पनि पुगे होलान् । उहाँको सहादतको बेला विर बहादुर कामी (संसारसेन पृथक) ले एउटा लेख लेखेर जनादेशमा प्रकाशित गरेको कुरा मेसेन्जर कुरामा पंत्तिकारलाई सुनाउदै त्यो लेख अहिले भेटन नसकेको समेत उल्लेख गर्नुहुन्थ्यो ।

 

विनोदलालका थुप्रै लेख रचनाका डायरी भए पनि तत्कालीन राज्य दमनको त्रासले सुरक्षित राख्न नसकेकोमा घर परिवार दुःखी छन्  । विनोदलाल आज हाम्रो माझ नभए पनि उहाँले आत्मसात गरेको मार्ग र सपना आज पनि उत्तिकै गौरव गर्नयोग्य छ । संसारमा वर्गीय असमानता रहेसम्म वर्गीय मुक्तिको लागि प्राण उत्सर्ग गर्ने श्रमजीवी उत्पीडित वर्ग समुदायको आदर्श नायकको रुपमा प्रेरणाको श्रोत बनी असमानताको अन्धकारलाई पन्छाउनको लागि हाम्रो सामु कहिल्यै ननिभ्ने दियो बनी प्रज्वलित भईरहनुहुनेछ ।

सन्दर्भ सामाग्रीहरु :
– वि.क. विनोदलाल, अटो डायरी, २०५५/२०५६
– वि.क. विनोदलालको घरपरिवारले विभिन्न प्रसंगमा विनोदलाल वि.क. को वारे गरेका कुरा
– बोहरा धनबहादुर, विभिन्न प्रसंगमा विनोदलाल वि.क. बारे गरेका कुरा
– शाही जगत बहादुर, विभिन्न प्रसंगमा विनोदलाल वि.क. बारे गरेका कुरा
–  वि.क. विनोदलालका साथीभाई । आफन्तसँग गरेको कुरा ।
(ध्रविन्द्र बि क सहिद विनोदलाल वि.क.का भतिजा हुनुहुन्छ । २०७० साल देखि आशिंक र २०७५ सालदेखि पुर्णकालीन भई नेकपा माओवादी (क्रान्तिकारी) हुँदै  विप्लव नेतृत्वको नेकपामा हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation