सिद्धान्त बिनाको पार्टी निशस्त्र जस्तो हुन्छ : विप्लव सी.

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव विप्लव सी.ले सिद्धान्तबिनाको पार्टी र नेता निशस्त्र जस्तो हुन्छ, भन्नुभएको छ । पार्टीको बागमती प्रदेश स्तरीय प्रशिक्षणको क्रममा उहाँले सो कुरा भन्नुभएको हो ।

प्रमुख प्रशिक्षक विप्लवले सिद्धान्त र मूल्य – मान्यतालाई त्यागेर कुनै पार्टीसँग एकता गर्न नसकिने पनि बताउनु भएको छ । ‘नयाँ मान्यताको आधारमा एकता चाहिन्छ’ उहाँले भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टीले स्थापित गरेका मान्यताहरु ध्वस्त हुने भएपछि एकता नभएको पनि उहाँले बताउनुभयो ।

पुराना नेताहरूले नेतृत्व गर्न नसक्ने पनि उहाँले बताउनुभयो । साम्राज्यवादसँग लड्नका लागि मार्क्सवाद, लेलिनवाद, माओवाद र नेपाली विशेषताको समाजवाद, वैज्ञानिक समाजवादलाई छोड्न नसकिने कुरामा उहाँले जोड दिनुभएको छ । नयाँ कम्युनिष्ट केन्द्र र एकताको आवश्यकतामा जोड गर्दै उहाँले भन्नुभयो “जेन्जी विद्रोहपछि केही पार्टी र नेताहरु आफ्नो सिद्धान्त र पार्टी नै छोडेर भागेका छन् भौतारिएका छन् ।”

राजनीतिक, आर्थिक, संगठन, संस्कृति सबै क्षेत्रमा नयाँ दृष्टिकोण चाहिन्छ भन्नेमा पनि उहाँले जोड दिनुभयो । नेपाललाई समाजवादमा लैजाने सहमतिबाट प्रचण्डहरू भागेको आरोप पनि उहाँले लगाउनु भएको छ । राष्ट्रको बारेमा स्पष्ट प्रस्ताव आफ्नो पार्टीसँग भएको हुनाले आफूहरू बाहेक कसैले देशको नेतृत्व गर्न नसक्ने पनि उहाँले जिकिर गर्नुभएको छ ।

श्रीलङ्काको कम्युनिष्ट पार्टी ६० वर्षपछि अहिले सत्तामा आएको कुरा स्मरण गराउँदै निरन्तर संघर्ष गर्नुपर्नेमा पनि उहाँले जोड गर्नुभएको छ । त्यसैगरी चुनावको सन्दर्भमा आफ्नो पार्टी एक्लै पनि चुनावको लागि तयार भएको बताउनुभयो र साम्राज्यवादहरुका प्रतिनिधिहरु डरलाग्दो किसिमले सक्रिय भइरहेकोले समाजवाद स्थापना गर्नुपर्ने अपरिहार्यता बढेको पनि उहाँले बताउनुभयो । समाजवादका निम्ति उत्पादन र अनुशासनलाई सशक्त बनाएर अगाडी बढ्नुपर्नेमा पनि उहाँले जोड गर्नुभयो ।

बैठकका अध्यक्ष, तथा पार्टी प्रवक्ता एवं बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सी.ले उपस्थित नेता कार्यकर्तालाई सशक्त रुपमा आफ्नो कार्यक्षेत्रमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो ।

प्रशिक्षणमा अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष बन्धु सी पार्टीका पोलिट ब्युरो सदस्य तथा सहित परिवारका असल सी, सल्लाहकार यादव सी, तेज प्रसाद सी लगायत नेताहरु अतिथिका रुपमा सहभागी हुनुहुन्थ्यो । पोलिटब्युरो सदस्य प्रेम सी.ले उपस्थित नेता कार्यकर्ताहरुलाई स्वागत गर्नुभयो ।

कार्यक्रममा सामना साँस्कृतिक परिवारका प्रमुख आरोह सी लगायत मलमला संस्कृति परिवारको साँस्कृतिक प्रस्तुति रहेको थियो । पोलिट ब्युरो सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation