
काठमाडौ – भेनेजुएलामा डोनाल्ड ट्रम्प प्रशासनले चालेको कदमले अमेरिका न त सुरक्षित बनाउने, न त बलियो वा सस्तो जीवनयापनतर्फ लैजाने पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले टिप्पणी गरेकी छन् ।
ह्यारिसले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई “क्रूर र अवैध तानाशाह” भने पनि त्यसका नाममा चालिएको अमेरिकी कदम कानुनी हैसियतविहीन र विवेकहीन भएको भन्दै सामाजिक संजाल मार्फत स्पष्ट पारेकी हुन ।
“हामीले यसअघि पनि यस्ता कथाहरू देखिसकेका छौँ । शासन परिवर्तन वा तेलका लागि सुरु गरिएका युद्धहरू, जसलाई शक्तिको प्रदर्शन भनेर बेचिन्छ तर अन्ततः अराजकता फैलिन्छ र मूल्य अमेरिकी परिवारले चुकाउनुपर्छ,” उनले भनिन् ।
उनका अनुसार अमेरिकी जनताले यस्तो हस्तक्षेप चाहेका छैनन् र गलत सूचना तथा बहानाबाट दिक्क भइसकेका छन् । “यो न त लागूऔषध नियन्त्रणको विषय हो, न लोकतन्त्रको । यो तेल र ट्रम्पको क्षेत्रीय ‘स्ट्रङ्गम्यान’ बन्ने चाहनासँग जोडिएको विषय हो,” ह्यारिसले आरोप लगाइन् ।
यदि राष्ट्रपति ट्रम्प साँच्चिकै लागूऔषध वा लोकतन्त्रप्रति चिन्तित भएको भए, सजाय पाएका एक लागूऔषध कारोबारीलाई माफी नदिने र भेनेजुएलाको वैध विपक्षलाई पन्छाएर मादुरोका निकटवर्तीसँग सम्झौता नगर्ने उनको भनाइ छ ।
ह्यारिसले चेतावनी दिँदै भनिन् कि राष्ट्रपति ट्रम्पले सैनिकहरूलाई जोखिममा पार्दै अरबौँ डलर खर्च गरिरहेका छन्, एउटा क्षेत्र अस्थिर बनाइरहेका छन्, तर न त कुनै स्पष्ट कानुनी आधार दिएका छन्, न बाहिरिने योजना, न त स्वदेशमा प्रत्यक्ष फाइदा ।
उनले अन्त्यमा जोड दिँदै भनिन्, “अमेरिकालाई यस्तो नेतृत्व चाहिन्छ जसको प्राथमिकता श्रमिक परिवारको खर्च घटाउने, कानुनको शासन लागू गर्ने, अन्तर्राष्ट्रिय साझेदारी बलियो बनाउने र सबैभन्दा महत्त्वपूर्ण—अमेरिकी जनतालाई पहिलो स्थानमा राख्ने हो ।”











