ह्याण्डिक्राफ्ट उत्पादक टोलीले विभागलाई बुझायो पत्र

काठमाडौं । मेटल ह्याण्डिक्राफ्ट उत्पादक टोलीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षक विभागलाई आज ध्यानाकर्षण पत्र बुझाएको छ । श्रमिक समुदाय मोर्चा नेपाल, बागमती प्रदेशको नेतृत्वमा उक्त पत्र बुझाइएको हो ।

विभागका अनुगमन अधिकारी भरत प्रसाद आचार्यलाई बबरमहलस्थित कार्यकक्षमा पुगेर पदम सीद्वारा हस्ताक्षरित पत्र टोलीले बुझाइएको छ । तामा, पित्तल, तुङ जस्ता कच्चापदार्थबाट उत्पादन गरिने सरसजावट एवम् घरायसी उपयोगका सामानहरु स्वदेश तथा विदेशमा बिक्रीवितरण हुँदै आएकोमा कच्चापदार्थको मूल्य केही महिनाभित्र करिब दोब्बर पुगेको र बिक्री मूल्य झन्  घटेको कारणले गर्दा हजारौं उत्पादक तथा कालीगढ मजदुरहरु निकै मारमा परिरहेको बुझिएको छ ।


आफ्ना मागहरू सम्बोधन नगरिए उत्पादन तथा मजदुरहरु चरणबद्ध संघर्षमा अगाडि बढ्ने कुरा उत्पादनकर्ता डम्बर बिकले बताए ।


पत्रको पूर्ण पाठ :

श्री महानिर्देशक ज्यु,
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल – काठमाडौं ।
विषय : आवश्यक अनुगमन तथा नियमन सम्बन्धमा ।
महोदय,
उपरोक्त सम्बन्धमा हाम्रो ‘श्रमिक समुदाय मोर्चा नेपाल’ले उत्पीडित वर्ग, समुदायको पक्षमा निरन्तर संघर्ष गर्दै आइरहेको कुरा सर्वविदित नै छ । हाम्रो श्रमिक/दलित समुदायले विशेषगरी हस्तकलाको क्षेत्रमा समाजलाई परापूर्व कालदेखि नै अतुलनीय योगदान पुर्‍याउँदै आइरहेको कुरा पनि गजजाहेर नै छ । नेपालको विभिन्न स्थानमा तामा, पित्तल, तुङ लगायत कच्चा पदार्थबाट सरसजावट र दैनिक प्रयोगजन्य हस्तकला सम्बन्धि सामग्रीहरु उत्पादन गरी स्वदेश तथा विदेश (चीन लगायत देश) मा बिक्रीवितरण गर्दै आइरहेको कुरा पनि सबैलाई जानकारी नै छ । यस पेसामा रहेर लाखौं कालिगढ, मजदुरहरुले जीविकोपार्जन गर्दै आइरहेका छन् । यस वर्ष मूल्य बढेपछि केहि महिना अगाडिसम्म तामा, पित्तल, तुङ चक्का, पाताको मूल्य १२ देखि १५ सयसम्म रहेकोमा केही हप्ता भित्रमा व्यवसायीहरुले उक्त कच्चापदार्थको दैनिक जसो मूल्य वृद्धि गरिरहेको र करिब दोब्बर मूल्य पुर्‍याएको साथै उत्पादित सामानको उचित बजार/बिक्री मूल्य नपाएको हुँदा उत्पादन गर्ने कालीगढ, मजदुरहरुलाई निकै मार परिरहेको छ । यस कुरालाई मध्यनजर गरी आवश्यक अनुगमन तथा कच्चापदार्थको उचित मुल्य कायम र मनोमानी गर्ने व्यापारीहरुलाई आवश्यक कार्वाही गरिदिनु र उत्पादित सामानको उचित बजार/बिक्री मूल्य निर्धारणका निम्ति आवश्यक पहल गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
मिति : २०८२/९/२१
पदम सी
इन्चार्ज

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 आवाज पोस्ट All right reserved Site By : Himal Creation