
मुगु । खत्याड गाउँपालिका–९, नखर्जी निवासी रंगवीर परियार (संगम सी) ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि मुगुबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) तर्फबाट गुलाफको फूल चुनाव चिन्ह लिएर प्रत्यक्षतर्फ उम्मेदवारी दिनुभएको हो ।
उम्मेदवारी दर्तापछि सार्वजनिक अपिल जारी गर्दै परियारले आफू रहर वा आकस्मिक रूपमा राजनीतिमा नआएको स्पष्ट पार्नु भयो । किशोरावस्थादेखि नै समाजमा व्याप्त भेदभाव, अन्याय, अत्याचार र शोषणविरुद्ध संघर्ष गर्दै आएको उहाँको भनाइ छ ।
पञ्चायतकालमै सामन्ती प्रवृत्तिका विरुद्ध आवाज उठाउँदै आएको स्मरण गराउँदै उहाँले बहुदलीय व्यवस्था आएपछि पनि नयाँ स्वरूपका सामाजिक विभेद र असमानताविरुद्ध संगठित रूपमा संघर्ष गरेको बताउनुभयो । पढाइसँगै रोजगारी गर्दै स्वास्थ्यकर्मीका रूपमा सेवा गर्ने क्रममा समेत सामाजिक अपमान र विभेद भोग्नुपरेको उल्लेख गर्दै ती अनुभवहरूले आफूलाई झनै संघर्षशील बनाएको बताउनुभयो ।
यही पीडाबाट प्रेरित भएर आमूल परिवर्तनको लागि महान् जनयुद्धमा सहभागी भएको र निरंकुश राजतन्त्रको अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापनाको लडाइँमा सक्रिय भूमिका खेलेको उहाँको भनाइ छ । जनयुद्ध र जनआन्दोलनपछि संघीयता, धर्मनिरपेक्षता र समावेशी व्यवस्थाजस्ता उपलब्धि हासिल भए पनि व्यवहारमा परिवर्तन नआएको उहाँको आरोप छ । राज्य प्रशासन पुरानै ढाँचामा चलिरहेको र दलाल पुँजीवाद तथा भ्रष्टाचार हावी भएको दाबी गर्नुभयो ।
विप्लवले नेतृत्व गरेको नेकपाले अगाडि बढाएको संघर्षका क्रममा भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा प्रतिबन्ध, मुद्दा र जेल सजाय भोग्नुपरेको परियारले उल्लेख गर्नुभयो । मुगु जिल्लामा भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा दर्जनौँ कार्यकर्ता पक्राउ परेको र हाल पनि केही सहकर्मी बन्दी अवस्थामा रहेको उनको दाबी छ।
परियारले वर्तमान व्यवस्था र पुराना दलहरू असफल भइसकेको दाबी गर्दै नयाँ व्यवस्था, निस्कलंकित तथा राष्ट्रवादी नेतृत्व आवश्यक रहेको बताउनुभयो । नेकपा (माओवादी) ले कृषि क्रान्तिमार्फत देशलाई आत्मनिर्भर बनाउने र अग्राधिकारसहितको संघीयताद्वारा सबै वर्ग, क्षेत्र र समुदायलाई अधिकार सम्पन्न गराउने एजेन्डा अघि सारेको जानकारी गराउनु भयो ।
अन्त्यमा उनले मुगु जिल्लाका आमाबुबा, दाजुभाइ दिदीबहिनी, युवा, बुद्धिजीवी, व्यवसायी, महिला, दलित तथा जनजाति लगायत आमजनता लाई गुलाफको फूल चुनाव चिन्हमा मतदान गर्न हार्दिक अपिल गर्नुभएको छ ।












