
नेपालको पछिल्लो ७५ वर्षको राजनीतिक परिघटनाको इतिहासलाई हेर्ने हो भने संघर्ष, आन्दोलन, युद्ध यो देशले झेल्दै आएको छ तर विडम्बना त यो भयो कि ती कुनै पनि आन्दोलनहरुले जनचाहना अनुसारको आमूल परिवर्तन दिन असमर्थ भए । यद्यपि तत्कालीन केही हदसम्म परिवर्तन नभएको होइन तर जहिल्यै पनि रूपमा परिवर्तनकारी या आन्दोलनरत पक्षले जित्ने र सारमा चाहिँं पुरानै संरचना नै हावी हुदै आएको छ ।
२००७ देखि ०८२ सम्म आउँदा पनि देश अस्थिर र राजनीतिक निकासबिहिन छ । अझ यसो भने अझै अर्को क्रान्ति वा आन्दोलनको आवश्यकता देशलाई परिरहेको छ किनकि जनजीविकाको सवाल त कठिन छ नै । देश राष्ट्रिय स्वाधीनताको हिसाबले समेत इतिहासकै सर्वाधिक संकटमा परेको छ ।
उता नयाँ भनिएका दल वा शक्तिहरु यो बारेमा एक शब्द बोल्ने समेत आँट गर्दैनन् । केवल निर्वाचनको नारा मात्रै लगाउँदैछन् । यो अवस्थामा निर्वाचनको कुनै अर्थ र औचित्य नै छैन् । अर्कोतिर केवल औपचारिकताको बहिष्कार मात्रैले पनि देशलाइ उचित निकास दिन सक्दैन । यसको अर्थ निर्वाचन बहिष्कार कि उपयोग यो बहसको बिषय होइन । बहसको विषय चाहिँ हो कि हजुरबुवाबाट सुरु गरेको संघर्ष नातिको पालामा समेत जारी छ । यो अवस्था कहिलेसम्म ? के अब हाम्रा छोरा नातिलाई पनि यिनै निरन्तरता को आन्दोलनको भारी बोकाउने ? कि हाम्रो पालामै आमूल परिवर्तनको अभिभारा पूरा गर्ने भन्नेमा हुनुपर्छ ?
काङ्ग्रेस, एमाले, नेकपा वा रास्वपा लगायतका संसदवादी दल भनौं या समुहरुको अब औचित्य नै सक्किसकेको छ । यो अवस्थामा केही क्रान्तिकारी शक्ति या पार्टीहरुको काँधमा नै यो देशको भाग्य र भविष्य निर्भर छ । तर उनिहरुले त्यो अभिभारा वास्तविक रूपमा बुझेका छैनन् या बुझेर पनि नबुझे झैं गरेका हुन । त्यो उनीहरु नै जानुन तर साँच्चिकै आमूल परिवर्तन चाहेको हो भने छातीमा हात राखेर निर्मम समीक्षा गरेर अगाडि बढ्नुको विकल्प छैन् । यसको नेतृत्वदायी भुमिका अब कस्ले पुरा गर्ने वा गर्न सक्छन् त ?
फ्लिममा मात्रै होइन देश र क्रान्तिलाई नायकको आवश्यकता हुन्छ । आज देश र क्रान्ति दुबैलाई त्यो नायकको खाँचो परेको छ । त्यो नायक बन्ने आँट गौरव, विप्लव, कञ्चन, आहुति कमरेडहरुले गर्नु हुन्छ त ? यदि गर्नु हुन्छ भने बेला यहि हो । होईन भने त्यो अभिभारा पुरा गर्न सक्नुभएन भने अब अर्को पुस्ताले त्यो आँट गर्छ र गर्नुपर्छ । विश्वभरिका क्रान्तिहरुबाट सिकेर वास्तविक रूपमा नै क्रान्तिको नयाँ मार्ग कोर्नुपर्छ । २१औं शताब्दीमा क्रान्तिको आदर्श नायक दक्षिण एसियाबाट नेपाल बन्नुपर्छ । त्यो अभिभारा अब हामीले पुरा गर्नुपर्छ ।
क्रान्तिलाई अब पुस्तान्तरण नगरौं त्यसको निम्ति अब निन्तरताको होइन क्रमभंग सहितको क्रान्तिको मोडल तयार गरौं । विश्वभरि भएका क्रान्तिकारी कार्यदिशाबाट सिक्दै नयाँ र ऐतिहासिक कार्यदिशाको निर्माण गरेर सबै मालेमावाद स्वीकार गर्ने शक्तिहरु एकढिक्का भएर अगाडि बढौं । त्यसले मात्रै क्रान्तिको पुस्तान्तरणलाई रोक्न सक्छ । अन्यथा निरन्तरताको मात्रै क्रान्ति हुनेछ त्यो पुन पुस्तान्तरण मैं जानेछ ।











