जातीय समस्या समाधानका निम्ति वर्गसंघर्ष आवश्यक – प्रज्वलन

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज प्रज्वलन सी.ले नेपालमा विद्यमान जातीय समस्या समाधानका निम्ति वर्गसंघर्ष आवश्यक रहेको बताएका छन् । ५८औं अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसको अवसरमा बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

“जातमा आधारित विभेद उन्मुलनको प्रश्न” विषयक उक्त कार्यक्रमका विशिष्ट अतिथि श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सी.ले नेपाल र भारतमा रहेको जातीय समस्या अहिलेसम्म संयुक्त राष्ट्र संघमा आधिकारिक रुपमा दर्ज हुन नसकेको बताएका छन् । नेपाल सरकारको लाचारपन र भारतको दबावमा नेपालमा जातीय विभेद हुन्छ भन्ने कुरा नेपाल सरकारले संयुक्त राष्ट्र संघमा दर्ज गर्न नसकेको कुरामा अध्यक्षले आपत्ति जनाएका छन् ।

नेकपा केन्द्रीय सदस्य सरद सी.ले मुक्तिका निम्ति सबै एकजुट हुनुपर्नेमा जोड दिए । कार्यक्रमका अतिथि वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रेम कार्कीले दलाल पुँजीवादी संसदीय व्यवस्था हटाएर वैज्ञानिक समाजवाद स्थापना गरेर मात्रै जातीय समस्या समाधान हुने कुरामा जोड दिएका छन् । नेकपा रुपन्देहीका सेक्रेटरी बिरेन्द्र सी.ले स्थानीयस्तरमा भइरहेको विभेदका विरुद्ध सशक्त प्रतिरोधमा उत्रन सबैलाई आग्रह गरेका छन् ।

प्रगतिशील लेखक तथा वरिष्ठ पत्रकार डाक्टर बालकृष्ण चापागाईंले विभेदका विरुद्ध संघर्षको विकल्प नरहेको बताएका छन् । त्यसैगरी अधिवक्ता एवम् नागरिक समाजको तर्फबाट बोल्दै पदम कार्कीले उत्पीडित समुदायले प्राप्त उपलब्धिको रक्षा गर्दै थप अधिकारका निम्ति अगाडि बढ्नुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सल्लाहकार जीत ब सी, श्रमिक समुदाय मोर्चाका केन्द्रीय सल्लाहकार ज्योतिलाल सी, बुटवल उ.न.पा. ४ नम्बर वडाका सदस्यद्वय गोमा नेपाली र अर्जुनकुमार श्रेष्ठ, बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोकुल विश्वकर्मा लगायतले मुक्तिका निम्ति उत्पीडित समुदाय जस्तोसुकै लडाइँ लड्न तयार हुनुपर्ने कुरामा जोड दिएका छन् ।

  माओवादी घटकका तीन कम्युनिस्ट पार्टी निकट दलित / श्रमिक समुदाय मोर्चाहरुद्वारा बुटवल उ.न.पा.को सभाहलमा आयोजित अन्तरक्रियामा करिव १ सय ५० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा श्रमिक समुदाय मोर्चाका केन्द्रीय कोषाध्यक्ष जानकी सी. ले आधारपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा जनवादी कवि साया किरण र अमृत बेवारेले कविता प्रस्तुत गरेका थिए ।

कार्यक्रम श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सचिवालय सदस्य निशान सी.को सञ्चालन, श्रमिक समुदाय मोर्चा कै केन्द्रीय सदस्य तथा पूर्वी लुम्बिनी ब्युरो संयोजक सरिता सी.को अध्यक्षता, जात व्यवस्था उन्मूलन मोर्चाका लुम्बिनी प्रदेश संयोजक डोलराज बिकको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भयो । तीन कम्युनिस्ट पार्टी निकट मोर्चाले सोही किसिमका कार्यक्रम काठमाण्डौ, पोखरा, इटहरी लगायत देशका विभिन्न स्थानमा समेत आज सम्पन्न गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation