सामाजिक संस्कार परिवर्तन गर्न चेतना विकास गर्नुपर्ने – बन्दु सी

काठमाण्डौ । हाम्रो समाजको संस्कार परिवर्तन गर्न मानसिक चेतनाको विकास गर्नुपर्ने नेकपा नेत्री बन्दु सी.ले बताएकी छिन् । मंगलबार संयुक्त राजनीतिक दलित संघर्ष समितिले काठमाण्डौमा आयोजना गरेको ५८ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएकी हुन् ।

         “जातमा आधारित विभेद उन्मुलनको प्रश्न” , विषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो विचार राख्दै श्रमको आधारमा विभाजित गरिएको जात , शासकले अछुतको रुपमा लादेको र अहिले समाजको ठुलो  समस्याको रूपमा  देखा परेको कुरा उनले बताएकी हुन् ।

      दलितलाई सधै दलन गर्ने होइन रुपान्तरण गर्न आवश्यक भएको उनको दाबी छ । “हिजो विभिन्न जात विभाजन गरेर तल्लो एवं अछुत बनाउन मिल्ने , नयाँ जाति निर्माण गर्न किन नहुने”, उनले प्रश्न गरेकी छिन् ।

       “जातीय उत्पीडनबाट मुक्ति वर्गीय आन्दोलनसंग एकाकार गर्दै संघर्ष गरेर मात्र  सम्भव  छ । दलाल संसदीय व्यवस्था बाट जातीय समस्याको समाधान नहुने र यसको लागि व्यवस्था नै परिवर्तन गर्न जरुरी छ”, उनको दाबी छ । श्रमजीवी वर्गको मुक्ति र  समतामूलक समाज निर्माणको लागि  वैज्ञानिक समाजवाद स्थापना गर्न आवश्यक  रहेको र यसको लागि आफ्नो पार्टी सबैसंग हातेमालो गर्न तयार रहेको  उनले बताइन् ।

काठमाण्डौको कुपोन्डोलस्थित नेकपा क्रान्तिकारी माओवादीको कार्यालयमा आयोजित उक्त कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुती, नेकपा क्रान्तिकारी माओवादीका नेता रामसिंह श्रीस, नेकपा (बहुमत) का नेता सरद रसाइली, नेकपा संयुक्तका उपाध्यक्ष लक्ष्मी लगायतले धारणा राखेका थिए ।

कार्यक्रम राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय संयोजक दर्शनकुमार नेपालीको सञ्चालन, नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय संयोजक अमर परियारको अध्यक्षता, श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सचिवालय सदस्य पदम रसाइलीको स्वागत मन्तव्यमा सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation